Logo
Logo

मोबाइल तस्करीमा सशस्त्र संलग्न



काठमाडौं । मोबाइल तस्करी र इन्सपेक्टर कपिल वाग्लेको मृत्यु प्रकरणमा गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले त्यसमा अन्य प्रहरीको संलग्नता पत्ता लगाउन सकेन । सांसद देवेन्द्र कँडेलले त्यसमा डिआइजी मुकुन्द आचार्यको समेत संलग्नता रहेको दाबी गरेका थिए ।

डिआइजी आचार्यको संलग्नता नदेखिएपनि तस्करीमा अन्य प्रहरी अधिकृतको संलग्नता देखिएको स्रोत बताउँछ । केही प्रहरी अधिकारीहरुले नै आफै मोबाइल तस्करी गराउँदै आएको स्रोतको भनाई छ ।

सशस्त्र प्रहरीका केही अधिकृतको यसमा मिलेमतो देखिएको हो । चितवनका व्यापारी अर्जुन ढकालले केही प्रहरी अधिकारीलाई हात लिएर मोबाइल तस्करी गराउँदै आएका थिए । यसमा सशस्त्र प्रहरीका डिएसपी मानबहादुर शाही र इन्सपेक्टर कृष्ण अर्यालको मिलेमतो देखिएको स्रोत बताउँछ ।

डिएसपी शाही यसअघि रुपन्दहीको भन्सार तथा राजश्व गुल्ममा थिए । इन्सपेक्टर अर्याल पनि त्यही कार्यरत थिए । सो गुल्म हाल खारेज भइसकेको छ । त्यतिबेला उनीहरु मिलेर तस्करी गराउँदै आएका थिए ।

गुल्म खारेज भएपछि इन्सपेक्टर अर्याल पूर्वी नवलपरासीस्थित गणमा थिए । त्यहाँबाट पनि उनको धन्दा रोकिएन । व्यापारी ढकाललाई उनले सघाउदै आएका थिए । डिएसपी र इन्सपेक्टर मिलेर कतिपय अवस्थामा अर्यालले तस्करीको मोबाइल आफ्नै गाडीमा राखेर चितवनसम्म पु¥याइदिने गरेको स्रोत बताउँछ ।

गत महिना पनि नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैलाई सेटिङ मिलाएर मोबाइल तस्करी हुँदै थियो । इप्रका बर्दघाट मात्र नभई पश्चिम नवलपरासीका एसपी मनोज यादब र सशस्त्र प्रहरीका अधिकारीलाई समेत त्यसमा सेटिङ मिलाइएको स्रोत बताउँछ । पूर्वी नवलपरासीको प्रहरीले मोबाइल बरामद गरेपछि सेटिङमा तस्करीको राज खुलेको हो । लगत्तै इप्रका बर्दघाटका इन्सपेक्टर कपिल वाग्ले र उनका घुमुवालाई निलम्बन गरिएको थियो । निलम्बन गरिएको भोलिपल्टै कार्यालय अगाडी मोटरसाइकलको ठक्करबाट इन्सपेक्टर वाग्लेको मृत्यु भएको थियो । त्यसविषयमा गृह मन्त्रालयले सहसचिव सुनिल खनालको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । छानबिनले उनको मृत्यु दुर्घटनामै भएको देखिएको तर मोबाइल तस्करीमा भने अरु धेरै प्रहरीको संलग्नतामाथि छानबिन गर्नुपर्ने औल्याएको छ । पूर्वी नवपरासीबाट इन्सपेक्टर अर्याल डन्डामा सरुवा भएलगत्तै सो मोबाइल बरामद भएको थियो ।

यो प्रकरणमा मुछिएका इन्सपेक्टर अर्याल तिनै व्यक्ति हुन् जो गत महिना गृहमन्त्री बालकृष्ण खाणको पावर लगाएर रुपन्देहीको डन्डा बिओपी पुगेका छन् । यसअघि डन्डामै बसेकाले त्यहाँको तस्करीको सेटिङ थाहा भएकाले उनले त्यसरी ठूलो चलखेल गरेर एकल सरुवा गराएका हुन् । सुरुमा सम्बन्धित गणमा सरुवा गरेर बिओपीमा सरुवा गर्ने परिपाटी भएपनि उनी पूर्वी नवलपरासीस्थित गणबाट सिधैैं बिओपी पुगेका थिए । बिओपी पुगेलगत्तै तस्करीको लाइन खुलाएको स्रोत बताउँछ । डन्डा इलाकाबाट महिनौंमा करोडौंको सामान आयात हुने र त्यहाँ तस्करीमा संलग्न ठूला गिरोह सक्रिय छन् । त्यस्ता गिरोह र इन्सपेक्टर अर्यालको साँठगाँठ भइसकेको छ ।

यो प्रकरणमा मुछिएका डिएसपी शाही डन्डा गुल्ममा हुँदा आफ्नै दुई इन्सपेक्टरबाट कुटिएका प्रहरी अधिकृत हुन् । तस्करीकै पैसा बाँडफाँडमा कुरा नमिल्दा उनी कुटिएका थिए । गुल्ममा हुँदा उनले मोबाइल तस्करीमा संलग्न ढकाललाई नै सुराकी राखेका थिए । २०७६।९।१५ को निर्णयबमोजिम सुराकी खर्चको १७औँ नम्बरमा अर्जुन ढकालको नाम छ । यसबाट पनि करोडौंको तस्करीमा सशस्त्र प्रहरीको संलग्नता पुष्टि हुन्छ । अहिले यो प्रकरणमा विस्तृत छानबिन नगरी उन्मुक्ति दिने प्रयास भइरहेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्