Logo
Logo

जग्गा विवादमा मुछियो ग्राण्डी र मेडिसिटी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । सरकारले २०२१ मा मुआब्जा दिएर अधिग्रहण गरेको ललिता निवासको १ सय १३ रोपनी सरकारी जग्गा अतिक्रमणमा परेको प्रतिवेदन पूर्वसचिव शारदाप्रसाद त्रिताल नेतृत्वको छानबिन समितिले दिएपछि सार्वजनिक जग्गाको विषयमा धेरै चर्चा परिचर्चा भइरहेका छन् । त्रिताल समितिले दिएको दिएको प्रतिवेदनमा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख निवास र राष्ट्रबैंकसँगै जोडिएको जग्गा अतिक्रमण गर्ने र गैरकानुनी रुपमा दर्ता गर्ने मालपोत कार्यालय डिल्लीबजारका प्रमुखमाथि कारबाही गर्नुपर्ने उल्लेख छ ।

सरकारी जग्गा अतिक्रमण गर्नेहरुको सूचीमा ठूला अस्पताल पनि छन् । काठमाडांैको टोखामा रहेको ग्रान्डी इन्टरनेशलन हस्पिटल र ललितपुरको नख्खुमा रहेको नेपाल मेडिसिटी अस्पतालले नदीको जग्गा नै मिचेका छन् ।

ग्रान्डी अस्पतालले बिष्णुमती खोलाको करिब १७ रोपनी जग्गा अतिक्रमण गरेको छ । खोला र बाटोसमेत ग्रान्डी अस्पतालले अतिक्रमण गरेको छ, । ग्रान्डीका संचालक दीपक कुँवरले बिष्णुमती नदीकै जग्गा मिचेर अस्पताल भवन बनाउन थालेपछि स्थानीयले बिरोध पनि गरेका थिए । मिडियामा समाचार पनि आयो । तर नेपाली कांग्रेसका नेता दीपक गिरी, त्यस क्षेत्रका तत्कालीन सांसद नरहरि आचार्य, हालका सांसद तथा नेकपाका नेतालाई प्रभावमा पारी उक्त अतिक्रमण गरेको जग्गाको हालसाविक (अद्यावधिक गरेको थियो । नदी नै मिचेर अस्पताल बनाएकोबारेमा बिरोध गर्ने स्थानीयलाई दीपक कुँवरले गुण्डा लगाएर कुटपिट गर्नेदेखि प्रहरी प्रशासन लगाएर दुःख दिएका थिए । दीपक कँुवरले १७ रोपनी सरकारी जग्गा मिचेर अस्पताल बनाएको कुरा गुपचुप राख्नका लागि राजनीतिक दलका नेताहरुलाई ग्रान्डी भिल्लामा घर नै उपहार दिएको समाचार स्रोत बताउँछ ।

मेडिसिटीले नख्खु खोला मिच्यो

मेडिसिटी अस्पतालले पनि सार्वजनिक जग्गा मिचेको छ । नख्खुखोलाको करिब ५ रोपनी जग्गा अस्पतालले अतिक्रमण गरेको छ । खोला र बाटोको जग्गा अतिक्रमण गरिसकेपछि उक्त जग्गा हालसाविक गर्नका लागि ललितपुर नापी कार्यालय र मालपोत कार्यालयका प्रमुखलाई ३ करोड रुपैयाँसम्म घुस प्रस्ताव गर्दैैआएको छ । नापी विभागका महानिर्देशक नागेन्द्र झा हुँदा नै उक्त जग्गा हालसाविक गर्ने गरी घुसको डिल भएको थियो । झाले ललितपुर नापी कार्यालयका तत्कालीन नापी अधिकृत तोत्रबहादुर कार्कीलाई उक्त जग्गाको हालसाविक गर्न परिचालन गरेका थिए । कार्कीले हालसाविक गर्न अन्तिम कसरत गरे पनि बीचमै उनी अवकाश भएका थिए । त्यसपछि जागिर नै जाने डरले हालसाविक हुन नसकिरहेको बेला वर्तमान नापी कार्यालयका प्रमुख सुरेश जोशीलाई घुसदेखि सरुवा रोकी थमौती गरिदिने प्रस्ताव मेडिसिटीका मालिक उपेन्द्र महतोले दिएको स्रोतले बताएको छ । भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले काठमाडौं उपत्यकाका नापी कार्यालयका प्रमुखहरुको सरुवा गर्ने घोषणा गरिसकेको छ । ललितपुर नापी कार्यालयका प्रमुख जोशी सरुवा रोक्ने सर्तमा मेडिसिटी अस्पतालले मिचेको नख्खुखोलाको जग्गा नै हालसाविक गर्न पनि तयार भएका छन् । घुस पनि आर्कषक आउने र सरुवा पनि नहुने भएपछि उनी हालसाविक गर्न तयार भएको स्रोतले बताएको छ ।

सरकारी जग्गा अतिक्रमणको चपेटामा परेपछि सरकार गम्भीर भएको छ । सरकारी जग्गा जोगाउनका लागि २०२१ सालको नापनक्सालाई आधार बनाएमा काठमाडौं उपत्यकामा हजारौं रोपनी सरकारी जग्गा अतिक्रमण भएको भेटिनेछ । बालुवाटारको ललिता निवासको जग्गा ढिलै भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारकै नाममा ल्याउने प्रक्रिया सुरु गरिसकेको छ । सरकारले २०२१ कै नापीलाई आधार बनाएर सरकारी जमिन खोजी गरेमा ४० प्रतिशत भन्दा बढी जग्गा अतिक्रमित भएको फेलापर्ने भूमिब्यवस्था मन्त्रालयका एक अधिकारीले दृष्टिलाई बताए ।

प्रतिक्रिया दिनुहोस्