पदचाप भुल्दाको परिणाम भोग्दै माओवादी « Drishti News – Nepalese News Portal
Logo

पदचाप भुल्दाको परिणाम भोग्दै माओवादी


मिलन लिम्बू


नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अस्तित्व रक्षाको संकटमा छ । वर्तमान व्यवस्थाका हिमायती माओवादी संकटमा पर्नु सुखद् होइन । माओवादी संकटमा पर्दा ‘जसको नीति उसैको नेतृत्व’ भन्ने मान्यता धर्मरायो । माओवादी कमजोर हुँदा व्यवस्था संकटमा छ ।

माओवादी नेतृत्वमा सम्पन्न १० वर्षे जनयुद्धबारे अनेक दृष्टिकोण छन् । यसका सकारात्मक र नकारात्मक दुवै कोणबाट बहस भएका छन् । जसले जसरी व्याख्या गरेपनि संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी समानुपातिक प्रतिनिधित्व जनयुद्धकै उपलब्धी हो । अर्थात, माओवादीकै एजेण्डा हो, माओवादीकै नीति हो । तर, माओवादीको नीतिमा अरुले नै नेतृत्व लिए । त्यसैले माओवादी अस्तित्व संकटमा छ ।

शान्तिपूर्ण राजनीतिमा अवतरण गर्दैगर्दा जनताले माओवादीसँग अनेक अपेक्षा राखे । २०६४ मा सम्पन्न संविधानसभाको निर्वाचनले पुष्टि गर्छ । जसको नीति, उसैको नेतृत्व भन्ने मान्यतामा जनताले सबैभन्दा ठूलो पार्टी बनाए । तर, जनमतको बलमा जनताकै लागि काम गर्ने ल्याकत माओवादीसँग भएन । त्यसको परिणाम ०७० को आम निर्वाचनमा देखियो । ०७४ मा झनै पुष्टि भयो । त्यहाँबाट माओवादीले शक्ति संकट झेल्न थाल्यो ।

व्यवस्था नै परिवर्तन गर्ने ल्याकत राख्ने माओवादी यति छिट्टै धर्मराउँछ भन्ने अनुमान पनि थिएन । तर, परिस्थितिले त्यो ठाउँमा पुर्यायो । जहाँ, अरुको सहाराबिना माओवादीको केही चल्दैन । जंगलबाट बाघको रुपमा शहर पसेको माओवादी स्यालजस्तै भयो । माओवादी अस्तित्व संकटमा पर्नुका अनेक कारण छन् । मुख्य कारण माओवादी आफैँ हो ।

संसदीय अभ्यासको पहिलो ‘इनिङ’मै माओवादीले अनपेक्षित जनमत पायो । त्यो जनमतलाई अवसरको रुपमा सदुपयोग गर्न सकेन । उन्मादमा परिणत भयो । देश माओवादीमय बन्दा नेता कार्यकर्तामा छाएको उन्मादको परिणाम ०७० को निर्चानमा देखियो । त्यो हार नै ‘माओवादी करेक्सन’को विन्दु थियो ।

कम्युनिष्ट शक्ति माओवादीकै नेतृत्वमा जातिय मुक्ति आन्दोलन भयो । क्षेत्रिय उत्पीडनविरुद्ध विद्रोह भयो । लिंगीय विभेदविरुद्ध संघर्ष भयो । त्यसैको बलमा माओवादी शक्तिशाली बन्यो । तर, आज ? यी सबै सवालहरु अलपत्र छन् । माओवादी संकटमा यो पाटो महत्वपूर्ण मानिन्छ ।

तर, माओवादी आफूलाई करेक्सन गर्न तयार भएन । बरु, सम्झौता र साझेदारीमा भविष्य देख्न थाल्यो । सम्झौतामा आधारित साझेदारीका क्रममा पुछ«ेताराकै गतीमा माओवादी ओरालो लाग्यो । त्यो क्रममा माओवादीले सारा मुद्धाहरु एकपछि अर्को गर्दै छोड्यो ।

आज माओवादीसँग न नीति छ, न कार्यक्रम नै । लक्ष्यहीन यात्रामा निस्केको यात्री चौबाटोमा पुगेपछि कता जाने ? भनेर अलमलमा परेझैँ माओवादी अलमलमा छ । यस्तो अवस्थामा दुई विकल्प हुन्छन् । एक, पुरानै बाटो फर्कने । अर्को, नयाँ बाटो रोज्ने । तर, माओवादी पछाडि फर्कन सक्दैन । नयाँ बाटो रोजेर नयाँ गन्तव्य तय गर्न पनि सकिरहेको छैन । यसका अनेक कारण छन् ।

विश्व कम्युनिष्ट आन्दोलनमा माओवादी प्रयोग विभिन्न थियो । मुलतः कम्युनिष्ट वर्गीय मुक्तिमा विश्वास गर्छन् । वर्गीय मुक्ति भए सारा समस्याहरु हल हुन्छन् भन्ने मान्यता हो । तर, माओवादी आन्दोलननले जनमुक्तिको सवाललाई ‘विशिष्टीकृत’ गरिदियो । जाति, क्षेत्र र लिंगको आधारमा माओवादीले मुक्तिको बाटो समात्यो । कम्युनिष्ट शक्ति माओवादीकै नेतृत्वमा जातिय मुक्ति आन्दोलन भयो । क्षेत्रिय उत्पीडनविरुद्ध विद्रोह भयो । लिंगीय विभेदविरुद्ध संघर्ष भयो । त्यसैको बलमा माओवादी शक्तिशाली बन्यो । तर, आज ? यी सबै सवालहरु अलपत्र छन् । माओवादी संकटमा यो पाटो महत्वपूर्ण मानिन्छ ।

जातीय, क्षेत्रीय र लिङ्गीय विद्रोहको बलमा जनयुद्ध शक्तिशाली भयो । प्रयोगको दृष्टिकोणमा माओवादी सफल मानियो । तर, माओवादी सत्तामा पुगेपछि यी मुद्धाहरु अलपत्र भए । आफ्नो धरातलमाथि माओवादीमा घृणाभाव पैदा हुँदै जाँदा शक्तिहीन बन्दै गयो । आफैँले स्थापित गरेको मुद्धा छोड्नुको परिणाम थियो ०७० को सर्वनाक हार । त्यो हारपछि माओवादी अध्यक्ष प्रचण्डले भनेका थिए– ‘आदिवासी जनजातिबाट धोका भयो ।’ तर, त्यो धोका थिएन । थियो त, सजाय । धोका दिएपछि पाउने त सजाय नै हो । यसका केही आधार छन् ।

शान्तिपूर्ण राजनीतिमा आएपछि माओवादीले १४ वटा राज्यहरु घोषणा गरेको थियो । जहाँ, लिम्बुवान, किरात, तमूवान जस्ता जातिसँग सम्बन्ध राख्ने ऐतिहासिक भौगोलिक आधारहरु प्रस्तुत गरिएका थिए । तर, ती पदचापहरु माओवादी आफैँले मेट्यो । माओवादी नेताकै नेतृत्वमा जातीय मुक्ति आन्दोलनविरुद्ध प्रतिक्रान्ति भयो ।

तत्कालीन माओवादी नेता लेखराज भट्टहरुले त्यसको नेतृत्व गरे । प्रचण्डले मौन समर्थन गरे । ०७० मा व्यहोरेको हारको बदलाका रुपमा प्रचण्डले जातीय मुक्ति आन्दोलनविरुद्ध भएका गतिविधि स्वीकारे । माओवादीबाट भएको त्यो ठूलो गल्ती थियो । २०६४ कै अवस्थामा फर्कन नसके माओवादी पार्टी रहेसम्म सोही गल्तीले पिरोल्छ ।

शसस्त्र विद्रोहबाट स्थापित शक्ति यति छिट्टै संसदीय दलदलमा फस्छ भन्ने अलिकति पनि अपेक्षा थिएन । तर, माओवादी यस्तो पार्टी बन्यो, जुन पार्टीले पुराना संसदवादी शक्तिलाई पनि पछि पार्यो । निष्पक्षताको विन्दुमा उभिएर भन्दा माओवादीले आफ्नो वर्ग भूलेर दलाल पुँजीवादका प्रतिनिधिसँग नाता गाँस्यो ।

माओवादीकै काँधमा बन्दुक राखेर दलाल पुँजीपतिहरुले आधारभूत श्रमजीवि वर्गविरुद्ध फायर चलाइरहेका छन् । माओवादीकै काँधबाट माओवादीले नै ल्याएको व्यवस्थाविरुद्ध प्रहार गरिरहेका छन् । त्यसैको चपेटामा माओवादी शक्ति कमजोर भएको हो । माओवादी अस्तित्व संकटमा छ भन्नुको अर्थ यो नै हो ।

माओवादी नेतृत्वमा माओवादी आन्दोलनबारे ठूलो लघुताभाष छ । गर्व गर्न लायक इतिहास बोकेको जनयुद्ध र त्यो जनयुद्धको नेतृत्व विचार माओवादबारे नै ठूलो वितृष्णा छ । ‘माओवादी भन्ने शब्द नै जनताले रुचाएनन्’ भन्ने मनोभाव पैदा हुनुजस्तो विचलन अरु हुँदैन । यो विचलनको पुष्टि पछिल्लो केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रस्तावले पनि गर्छ । जहाँ, समाजवादी प्रकृतिको पार्टी बनाउने मुद्धाले ठाउँ पाएको छ ।

माओवादी नेतृत्वलाई हेक्का नभएको के हो भने माओवादी भएकै कारण जनमत गुमाउँदै गएको नभइ, माओवादी भएर उठाएका मुद्धा छोडेर आउँदा जनविश्वास गुम्दै गएको हो । नेतृत्वमा आएको यो विचलनले माओवादी आन्दोलनका लाखौैँ नेता कार्यकर्ता र समर्थक शुभेच्छुकमा ठूलो निराशा र आक्रोस पैदा हुनेछ । यसको परिणाम अर्को निर्वाचनमा माओवादीले भोग्नुपर्ने हुन्छ ।

कम्युनिष्ट पार्टी क्याडर अर्थात संगठित कार्यकर्तामा आधारित हुन्छ । संगठित कार्यकर्ता कम्युनिष्ट विचार र सिद्धान्तमा प्रतिवद्ध हुन्छन् । फलामे अनुशासनमा रहन्छन् । उनै क्याडरबाट बनेको संगठनमा पार्टी निर्भर हुन्छ । तर, माओवादी यो सवालमा सबैभन्दा कमजोर छ । पहिलो कुरा संगठित कार्यकर्ताको संख्या घट्दै गएको छ । भएका कार्यकर्ताले पनि विचलनको हद नाघिसकेका छन् । यस्तो अवस्थामा कम्युनिष्ट पार्टी बलियो हुँदैन । माओवादी संकटको अर्को महत्वपूर्ण कारण यो पनि हो ।

समग्रमा भन्दा माओवादीसँग अहिले विचार र संगठन दुवै छैन । माओवादीको अवस्था बुर्जुवा वा पुँजीवादी भनिएका शक्तिभन्दा पनि कमजोर छ । त्यसैले अरुको दाउमा च्याँखे थाप्नुपर्ने अवस्थामा माओवादी पुग्यो । २०६४ जनमतलाई सम्मान गर्दै काम गरेको भए आज देश माओवादीकै नेतृत्वमा हुन्थ्यो । आफ्नो नीतिको नेतृत्व माओवादी आफँैले गर्ने थियो ।

संकटको अन्तिम विन्दुबाट फर्कन माओवादीसँग एकमात्र विकल्प छ । त्यो ‘करेक्सन’ हो । आफूलाई करेक्सन गर्दै पछाडि फर्के गलत हुँदैन । करेक्सनको विन्दुबाट नयाँ यात्रा तय गरे पनि फरक पर्दैन । तर, आफ्ना आधार मुद्धाबारे सचेत हुनुपर्छ । पछाडि फर्केर छोडिएका मुद्धाहरु सम्हाले ठूलो तप्का माओवादीको साथमा रहनेछन् । त्यो आवश्यक पनि हो ।

राजनीतिक मुद्धा उठान गरेपछि त्यसको समुचित बैठान अपरिहार्य हुन्छ । नत्र यसले विग्रह निम्त्याउँछ । त्यसैले माओवादी पछाडि फर्कन आवश्यक छ भनिएको हो । माओवादी आचरणमा व्यापक ‘करेक्सन’ आवश्यक छ । जातीय, क्षेत्रीय र लैंगिक मुद्धाहरु समुचित रुपमा व्यवस्थापन गर्दै करेक्सन हुने माओवादीका लागि अबको बाटो हो ।

कोर्ष करेक्सनको विन्दुबाट माओवादीले नयाँ यात्रा तय गर्न सक्छ । प्रचण्डले प्रस्ताव गरेझैँ समाजवादी प्रकृतिको राजनीतिक शक्ति नयाँ यात्राको माध्यम होला ! त्यो यात्रामा अन्य कम्युनिष्ट शक्ति पनि सहयात्राका लागि तयार हुनसक्छन् । तर, नयाँ यात्रा तय गर्दा ‘हिँड्दै जाने, पाइला मेट्दै जाने’ प्रवृत्ति यथावत रहे माओवादी नयाँ यात्रामा सफल हुँदैन ।

छोडेका मुद्धाहरुलाई क्रान्तिका बाँकी कार्यभारको रुपमा अंगाल्दै नयाँ यात्रा तय गर्नुपर्ने हुन्छ । जसका लागि पुराना मुद्धाहरुलाई नयाँ विचारबाट सम्बोधन गर्दै जाने नीति तय हुनुपर्छ । माओवादी त्यसका लागि तयार छ त ? भन्ने प्रश्न मुख्य हो । तर, माओवादीसँग त्योभन्दा अरु विकल्प हुन सक्दैन ।

प्रतिक्रिया दिनुहोस्