Logo
Logo

डेब्यु खेलाडी सबिता र प्रीतिकाे गाेलमा नेपालकाे जीत



काठमाडाैं । बंगलादेशसँगको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाली महिला फुटबल टिमले जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा नेपालले बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

नेपाललाई जित दिलाउनका लागि डेब्यु खेलाडी प्रीति राई र सविता रानाले एक-एक गोल गरिन् ।

खेलको १४ मिनेटमा सविताले नेपाललाई अग्रता दिलाइन् । सविताले  राइट विंगर बिमला चौधरीको पासमा हेडिङ गोल गरेकी हुन् । बंगलादेश गोलरक्षक रुप्ना चक्मा अगाडि बढेको फाइदा उठाउँदै सविताले राष्ट्रिय महिला फुटबल टोलीबाट पहिलो खेलमा पहिलो गोल गरेकी हुन् । 

खेलको २४ मिनेटमा १६ वर्षकी खेलाडी प्रीतिले डेब्यु गोल गरेकी हुन् । प्रीतिले  मिडफिल्डर सरु लिम्बूको पास सदुपयोग गर्दै डिबक्स एसिया नजिकैबाट सुन्दर गोल गरिन् । उनको गोलसँगै नेपाल पहिलो हाफमा २-० को अग्रता बनायो । 

बंगलादेशकी तोहुरा खातुनले सान्त्वना गोल गरिन । खातुनले ८१ मिनेटमा  गरेको प्रहार नेपाली डिफेण्डर अमृता जैसीलाई छुदै गोल भएको थियो । 

नेपाली राष्ट्रिय महिला फुटबल टिमले दशरथ रंगशालामा खेलेको यो पहिलो अन्तर्राष्ट्रिय खेल हो र घरेलु मैदानमा खेलिएको पहिलो खेलमा नै जित निकाल्न महिला टोली सफल भएको छ ।

नेपाल र बंगलादेश दुवैले एएफसी महिला एसिया कप छनोटको तयारी स्वरूप दुई मैत्रीपूर्ण खेल खेलेका हुन् । दोस्रो खेल शुक्रबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्