Logo
Logo

बर्खायाममा कसरी गर्ने श्रृँगार ?



बर्खायाममा तातो हावा र लगातारको वर्षाका कारण छाला तथा कपालमा विभिन्न समस्या आउने गर्छ । अनुहारमा तेल र पसिनाको मात्रा बढेर चिल्लो हुने, चिपचिप हुने, डण्डीफोर आउने जस्ता समस्याहरु हुन्छन् । साथै, कपालसम्बन्धी धेरै समस्याहरु सामना गर्नुपर्ने हुन्छ । कपालको टुप्पोतिर सुख्खा हुने र स्काल्पमा चिल्लो भई खटिरा आउने, चायाँ पर्ने, कपालको फोलिकल कमजोर भइ झर्ने तथा कपाल टुक्रने, फ्रिजी हुने समस्याले पनि उत्तिकै सताउँछ । त्यसैले मौसम परिवर्तन भएसँगै हामीले सौन्दर्य सामग्री तथा दैनिक रुटिन परिवर्तन गर्नुपर्दछ ।

बर्खायाममा छालाको स्याहार

– बर्खायाममा छाला चिल्लो र ग्रिजी हुने भएकाले हल्का खालको क्लिन्जरले दिनमा २ देखि ३ पटक अनुहार पखाल्नुपर्छ ।

– यो सिजनमा प्रायः मोइस्चराइजर नलगाउने बानी हुन्छ । तर, वातावरणीय प्रभावबाट छालालाई जोगाउन बर्खायाममा कम चिल्लो हुने ‘वाटर वेस्ड मोइस्चराइजर’ प्रयोग गर्नुपर्छ । यसले छालालाई नरम र मुलायम राख्न मद्दत गर्छ ।

– बर्खायाममा पानी धेरै पिउनुपर्छ । अत्याधिक मात्रामा पसिना बग्ने भएकाले शरीरमा पानीको मात्रा कम भइ डिहाइड्रेटेड हुन पुग्छ । यसले छाला फुस्रो र सुख्खा हुन्छ । त्यसैले शरीरलाई हाइड्रेट राख्नुपर्छ ।

– बर्खामा छालालाई स्वस्थ राख्न मुलतानी माटो प्रयोग गर्न सकिन्छ । वर्षौ पहिलेबाट छालामा मुलतानी माटो प्रयोग हुँदै आएको छ । यसले छालाबाट विकार निकाल्नुका साथै यसमा ब्याक्टेरिया तथा जीवाणुलाई मार्ने गुण हुने भएकाले यसको प्रयोग उपयुक्त हुन्छ । मुलतानी माटोलाई पानीमा हालेर लेप बनाइ अनुहारमा लगाएर सुक्न दिने । १५ मिनेटपछि चिसो पानीले पखाल्ने । यस्तो लेपले छालाबाट अनावश्यक तेल र चिपचिप कम गर्छ । अनुहारमा आउने मसिनो रातो फोकाहरु कम हुन्छ । मुलतानी माटोको लेप हप्तामा एकपटक प्रयोग गर्न सकिन्छ ।

– चामलको मसिनो पिठोमा दुध मिसाई स्क्रबको रुपमा प्रयोग गर्न सकिन्छ । यसले छालामा भएको मृत कोषिकालाई हटाई नयाँ सेल निर्माणमा मद्दत गर्छ ।

– बर्खायाममा धेरैको अनुहारमा मसिनो रातो र ठूला–ठूला डण्डिफोर आउने समस्या हुन्छ । यस्तो समस्या हुँदा नीमको धुलो प्याकमा गुलाबजल मिसाइ लेप बनाएर अनुहारमा लगाउनुपर्छ । निममा जीवाणु तथा ब्याक्टेरिया मार्ने गुण हुने भएकाले डण्डीफोर निको भइ संक्रमण हुनबाट बचाउँछ । बर्खायाममा छालामा रोमछिद्र बढेर विभिन्न समस्याहरु आउँछ । यस्ता समस्याहरुबाट छालालाई बचाउँन ग्रीन–टी प्रयोग गर्न सकिन्छ ।

ग्रीन-टीमा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट, एन्टिसेप्टिक र एन्टी इन्फलामेटेरी प्रोपटीज हुने भएकाले यसको प्रयोगले छालालाई ताजा र स्वस्थ बनाउँछ । ग्रीन–टीलाई सफा पानीमा भिजाइ उक्त पानीमा कपास चोबेर अनुहारमा लगाउनुपर्छ । उक्त पानीले छालालाई प्राकृतिक टोनर प्रदान गर्छ र रोम छिद्रहरु बन्द हुन्छन् ।

– बर्खायामको घामले छाला डढेको हुन्छ । डढेको छालाको उपचारका लागि पाकेको गोलभेडा उपयुक्त हुन्छ । गोलभेडामा भिटामिन–ए, भिटामिन–सी र पोटासियम हुन्छ । यसले डढेको छाला निको हुनका साथै रोमछिद्र बन्द गर्न मद्दत गर्छ । साथै, छालामा हुने ब्ल्याक हेड र ह्वाइट हेड हटाउँछ ।

बर्खायाममा कपालको स्याहार

– बर्खायाममा कपाल झर्ने, चायाँ पर्ने, स्काल्पमा धेरै चिल्लो हुने र खटिरा आउने समस्या बढी हुन्छ । उक्त समस्याबाट छुटकारा पाउन कम केमिकल भएको स्याम्पूले दैनिक रुपमा कपाल पखाल्नुपर्छ ।

– अण्डा कपालको लागि धेरै फाइदाजनक हुन्छ । यसमा पाइने भिटामिन ‘ए’ र ‘ई’ तथा बायोटिनले कपाललाई स्वस्थ र मजबुत बनाउँछ । एलोभेराको जुसमा अण्डा मिसाइ कपालमा लगाएर एक घण्टापछि हल्का खाल्को स्याम्पूले पखाल्नुपर्छ । यदि, कपाल धेरै नै चिल्लो भए अण्डाको सेतो भाग मात्र प्रयोग गर्नुपर्छ ।

– बर्खायाममा कपालमा आउने समस्याको समाधानका लागि प्याज फाइदाजनक हुन्छ । प्याजमा पाइने सल्फरले कपाललाई फोलिकलबाटै मजबुत बनाउँछ । यसले छालामा रक्तसञ्चार वृद्धि गराउनका साथै कोषिका निर्माणमा पनि मद्दत गर्छ । यसको प्रयोगले कपालमा भएको चायाँ हट्नुका साथै झर्न बन्द हुन्छ र नयाँ कपाल उमार्न मद्दत गर्छ । साथै, कपाललाई बाक्लो लामो र मुलायम बनाउँछ । जसका लागि प्याजलाई मिक्स्चरमा पिसेर जुस बनाई कपालमा लगाउनुपर्छ । लगाएको एक घण्टापछि माइल्ड स्याम्पूले पखाल्नुपर्छ । प्याजको प्रयोगमा कपालको उपचारका लागि बजारमा विभिन्न कम्पनीको उत्पादन पाइन्छन् ।

ति उत्पादनहरुसमेत प्रयोग गर्न सकिन्छ । ‘एन प्लस प्रोफेशनल’ले बजारमा ल्याएको अनियन ओयल, अनियल स्याम्पू र कण्डिसनर प्रभावकारी मानिन्छ । यी सबै ‘एन प्लस प्रोफेशनल’बाट उत्पादित सामग्रीको प्रयोगले कपालसम्बन्धी समस्या समाधान हुने सौन्दर्य विशेषज्ञको सुझाव रहेको छ ।

बर्खायाममा मेकअप

– बर्खायाममा धेरै पसिना र तेल आउने भएकाले प्रयोग गरिएको मेकअप चाँडै जाने सम्भावना हुन्छ । वर्षातमा छालालाई कुल राख्नुपर्छ । मेकअप गर्नुभन्दा अगाडि छालामा बरफले केही समय सेक्दा पसिना र तेल कम आउँछ र मेकअप धेरै बेरसम्म टिक्छ ।

– बर्खायाममा हेभी मेकअप गर्नु हुँदैन । हल्का कलरहरु प्रयोग गर्नु उपयुक्त हुन्छ । यो मौसममा ‘न्यूड मेकअप’ राम्रो मानिन्छ । यसले कुल लुक प्रदान गर्छ ।

– ग्लसी लिपिस्टिकभन्दा म्याट लिपिस्टिक राम्रो हुन्छ । यो लामो समयसम्म टिक्छ ।

– बर्खायाममा वर्षाले भिजेर मेकअप जाने समस्या हुन्छ । त्यसैले ‘वाटरप्रुफ मेकअप’ गर्दा राम्रो हुन्छ । वाटरप्रुफ मेकअप पानीले भिजे पनि नजाने भएकाले उपयुक्त मानिएको हो ।

– समय, मौसमअनुसार सौन्दर्य सामग्री र दैनिक रुटिनलाई परिवर्तन गर्नुपर्छ । यसो गर्न सके सदैव सुन्दर र आकर्षक बन्न सकिन्छ ।

श्रृँगारले मानिसलाई सुन्दरमात्र बनाउँदैन । श्रृँगारसँग मानिसको स्वास्थ्य जोडिएको हुन्छ । मानिसका हरेक अंगलाई उचित स्याहार आवश्यक हुन्छ । उचित प्रकृतिको श्रृँगारले मानिसलाई स्वस्थ बनाउँछ । जसलाई श्रृँगारको माध्यमबाट पूर्ति गर्न सकिन्छ । दैनिक उपभोग्य वस्तुको प्रयोगमा यो सम्भव छ । समयको अभाव र आवश्यक ज्ञानको कमी भए सौन्दर्यविज्ञसँग सल्लाह गरेर बजारमा पाइने सामग्री प्रयोग गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्