Logo
Logo

पत्रकार महासंघ मोरङको १३औँ साधारणसभा, दुई सञ्चारकर्मी पुरस्कृत


- दृष्टि न्युज/संवाददाता


विराटनगर । नेपाल पत्रकार महासंघ, मोरङ शाखाको १३औँ साधारणसभामा दुई सञ्चारकर्मी पुरस्कृत भएका छन् । नगर विकास प्रतिभा पत्रकारिता पुरस्कार ११ हजार राशिका धु्रव भट्टराई र महासंघद्वारा स्थापित १५ हजार राशिको पत्रकारिता प्रतिभा पुरस्कार तारा आचार्यले प्राप्त गरेका छन् ।


यस्तै, महासंघमा लामो समयदेखि कार्यालय सचिवमा कार्यरत कर्मचारी दीपक फुँयाललाई ५१ हजार राशिको पुरस्कार प्रदान गरिएको छ । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्र र समाजलाई सजग गराउने सञ्चार क्षेत्र जहिले पनि सचेत एवं गम्भीर हुनुपर्ने बताउँदै सञ्चार क्षेत्रमा कार्यरत सञ्चारकर्मीलाई राजनीतिक पार्टीको प्रतिनिधि भएर काम नगर्न सुझाव दिए ।
प्रदेशसभा सदस्य केदार कार्की, प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली र नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्य विनोद ढकालले जनतालाई सुसूचित गर्ने सञ्चार माध्यमले निष्पक्ष भएर काम गर्नुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेल, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ का अध्यक्ष राजेन्द्र राउत, मोरङ व्यापार संघका उपाध्यक्ष प्रकाश मुन्दरा, नेपाली कांग्रेस मोरङका सचिव नागेश कोइराला, नेपाल पत्रकार महासंघ प्रदेश नं १ का अध्यक्ष विक्रम लुइँटेललगायतले सञ्चारकर्मीले देश र जनताकै हितमा अझ सशक्तरूपमा अघि बढ्नुपर्ने बताए ।
कार्यक्रममा महासंघका पूर्वसभापति सुवास ढकाल, मोहन भण्डारी, यज्ञ शर्मा, दीपक दाहाल, शिवबहादुर कार्की, विक्रम निरौला र महेन्द्र बिष्टलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्