Logo
Logo

वार्षिकोत्सवको अवसरमा साल्ट ट्रेडिङद्वारा विभिन्न संघ संस्था पुरस्कृत



काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले लिमिटेडले ५९ औँ वार्षिकोत्सव मनाएको छ ।

बालबालिकाको संरक्षणमा सक्रिय संस्थाहरूलाई बालहितकारी पुरस्कार, उत्कृष्ट सेवा दिने कर्मचारीलाई प्रशंसापत्र र एसइई परीक्षामा उत्कृष्ट अंक ल्याई उत्तीर्ण भएका कर्मचारीका छोराछोरीलाई छात्रवृत्ति प्रदानलगायत कार्यक्रम गरी कर्पोरेसनले वार्षिकोत्सव मनाइएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कर्पोरेसनका अध्यक्ष लक्ष्मीदास मानन्धरले नेपाल सरकारको नीति–निर्देशनलाई पूर्ण रूपमा पालना गरी बजारमा दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन आपूर्ति व्यवस्थालाई सहज बनाउँदै आएको बताए ।

कर्पोरेसनले सेवा र कार्यक्षेत्र विस्तार गर्दै उपभोक्ताको घरदैलोमा सेवा पुर्याउन सफल भएको उनको दाबी थियो । सरकारले दिएका सबै प्रकारका जिम्मेवारी पूरा गरेको उनले बताए ।

‘सेवा र कार्य क्षेत्र विस्तार गर्दै आम उपभोक्ताको घर दैलोमा सेवा पुग्याउन सफलता पाओस भन्ने नेपाल सरकारको भावनालाई मूर्तरुप दिन निरन्तर लागिरहने विश्वास दिलाउन चाहन्छु’ उनले भने, ‘कर्पोरेसनले आफ्नो दायित्व र सकारले दिएको जिम्मेवारीलाई सफलतापूर्वक निर्वाह गरेको छ ।’

कर्पोरेसनले सामाजिक उत्तरदायित्वअन्तर्गत बालबालिकाको उत्थानमा काम गर्ने सामाजिक संघ–संस्था तथा व्यक्तिहरूलाई बालहितकारी पुरस्कार, उत्कृष्ट काम गर्ने कमचारीलाई हेमबहादुर मल्ल तथा ईश्वरलाल श्रेष्ठको नाममा उत्कृष्ट सेवा पुरस्कारबाट पुरस्कृत गर्ने गरिएको जानकारी दिए ।

संस्थाकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले कोभिड-१९ को त्रास कम भए पनि खुला वातावरण समारोह गर्नु उपयुक्त नभएकाले सामान्य हिसाबले वार्षिकोत्सव मनाएको बताइन् ।

कर्पोरेसनले आफ्नो उद्देश्य एवं प्रतिबद्धताअनुसार कोभिड–१९ महामारीकै बीचमा पनि उपभोक्तालाई सुपथ एवं सहज रूपमा गुणस्तरीय उपभोग्य वस्नु उपलब्ध गराइरहेको उनको भनाइ थियो । उनले भविष्यमा अझ सक्रिय रहने प्रतिवद्धता पनि गरिन् ।

उनले कर्पोरेसनले कृषि विकासमा योगदान पुग्याउने उद्देश्य अनुसार अनुदानित मलमा मात्र सीमित नरही गैर अनुदानित मल आयात गरी बिक्री वितरण गरिरहेको पनि बताइन् ।

कोभिड–१९ कै कारण अघिल्लो वर्ष वितरण गर्नुपर्ने पुरस्कार तथा सम्मान पनि यो वर्ष प्रदान गरिएको उनले जानकारी दिइन् ।

सञ्चालक समितिका सदस्य एवं उद्मोग बाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव प्रेम कुमार श्रेष्ठले कर्पोरेसनको प्रगतिको कामना गरेका थिए ।

पुरस्कार र सम्मान

कर्पोरेसनले ‘बालहितकारी पुरस्कार–२०७७’ ग्रामीण जीवनस्तर सुधार मञ्चले सञ्चालन गरेको हाम्रो घर हेरौँ र ‘बालहितकारी पुरस्कार–२०७८’ ललितपुर धापाखेलको नवकिरण अनाथ–असहाय बालउत्थान समाजलाई प्रदान गरेको छ । पुरस्कार राशि ताम्रपत्रसहित ७५ हजार रुपैयाँ रहेको जनाइएको छ ।

त्यस्तै, ‘हेमबहादुर मल्ल उत्कृष्ट सेवा पुरस्कार–२०७७’ अधिकृतस्तरमा जुग्नु भद्रचन, ननअधिकृतस्तरमा सुजन महर्जन र स्तरविहीनमा बमबहादुर बस्नेत तथा ‘हेमबहादुर मल्ल उत्कृष्ट सेवा पुरस्कार–२०७८’ अधिकृतस्तरमा सम्झना श्रेष्ठ, ननअधिकृतस्तरमा निर्मल तामाङ र स्तरविहीनमा कलप्रसाद रिजलालाई प्रतिव्यक्ति ३० हजार रुपैयाँ तथा सम्मानपत्र प्रदान गरिएको कम्पनीले जनाएको छ ।

‘ईश्वरलाल श्रेष्ठ उत्कृष्ट सेवा पुरस्कार–२०७८’ अधिकृतस्तरमा प्रज्वलमान प्रधान, सहायकस्तरमा चन्द्रदत्त ढकाल र स्तरविहीनमा हरिरमा रोक्कालाई प्रतिव्यक्ति नगद ३५ हजार रुपैयाँ र सम्मानपत्र प्रदान गरिएको कर्पोरेसनले जनाएको छ ।

त्यस्तै, कर्मचारीका छोराछोरीमध्ये एसइईमा उत्कृष्ट अंक ल्याउने रन्जन झा, सुजल मिश्र, दिपक पंजियार, निकिता ओझा र अनाङ्गमान शेरचनलाई छात्रबृत्ति प्रदान गरिएको कर्पाेरेसनले जनाएको छ । उनीहरुले दुई वर्षसम्म मासिक ३० हजार पाउने कर्पोरेसनले जनाएको छ ।

यसैगरी ०७७ र ७८ सम्म २० वर्ष भन्दा बढी सेवा गरेका १२ जना कर्मचारीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्