Logo
Logo

विप्लवको प्रश्न- देश रोज्नुहुन्छ कि एमसीसी ?



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ एमसीसी नेपालको राष्ट्रिय हित विरुद्ध र अमेरिकाको सुरक्षाका पक्षमा भएको बताए ।

सोमबार एमसीसीविरुद्ध अयोजित विरोध सभालाई सम्बोधन गर्दै विप्लवले नेपालको राष्ट्रिय स्वतन्त्रतामा आँच आउने एमसीसी सम्झौता कुनै हालतमा स्वीकार्न नसक्ने बताए ।

विप्लवले डलर चाहियो कि आफ्नो धर्ती भन्दै प्रश्न समेत गरे । उनले भने, ‘तपाईं देश रोज्नुहुन्छ कि एमसीसी ? जनताको अधिकार रोज्नुहुन्छ कि अमेरिकीहरुको गुलामी ? पैसा रोज्नुहुन्छ कि स्वभाविमान? तपाईंलाई डलर चाहियो कि आफ्नो धर्ती चाहियो ?’

दलालहरूले कमिसनको लोभमा एमसीसी जर्बजस्त पास गर्ने खोजे देशमा राँको बाल्ने चेतवानी दिए । उनले भने, ‘अहिले एमसीसीविरुद्धको यो आन्दोलन झिल्को मात्रै हो, एमसीसी जर्बजस्त दलालहरूको कमिसनको लोभमा थोपर्न खोजियो भने राँको बन्छ राँको ।’

उनले ५० करोड डलरले के नेपालको कायापलट हुन्छ ? भन्दै सत्तापक्षलाई प्रश्न पनि गरे । उनले भने, ‘अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि नेपालमा एमसीसी लागु गर्ने भनिएको छ । कानुनी ढंगले अमेरिका नै माथि हुने, सुरक्षा पनि उसैले गर्ने त्यस्तो प्रावधान राखिएको छ, प्रधानमन्त्रीदेखि कतिपय मन्त्रीले एमसीसीको पैसाले सम्बृद्धि हासिल गर्न बताउँदै आउनुभएको छ, अमेरिकाले दिएको ५० करोड डलरले के नेपालको कायापलट हुन्छ ?

उनले देशलाई बचाउनका लागि एक ढिक्का भएर उठ्ने समय ल्याउनुपर्ने भएकाले त्यसका लागि आफ्नो पार्टी जुनसुकै मूल्य चुकाउन रहेको बताए । उनले प्रतिबन्धकै बेलामा आफूहरुले एमसीसीसँगको सम्झौता पढेको बताए ।

‘सबै हेर्‍यौँ, बुझ्यौं। हामी प्रतिबन्ध हुँदाखेरी पनि जोजो साथीहरु संसद्‌मा लड्नुभयो, चाहे सडकमा लड्नुभयो, टेलिभिजनमा लड्नुभयो, सामाजिक सञ्जालमा लड्नुभयो। अन्य मोर्चाहरुबाट लड्नुभयो। हामीले ऐक्यबद्धता जाहेर गर्‍यौ’, उनले भने।

प्रतिक्रिया दिनुहोस्