Logo
Logo

चिनियाँ, भारतीय र नाइजेरियन मिलेर दर्जनौं नेपालीलाई ठगी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १२ बैशाख ।
चिठ्ठाका नाममा नेपालीलाई ठगी गर्ने चिनियाँ र भारतीय नागरिक पक्राउ परेका छन् । गिरोहका नाइके नाइजेरियन भने फरार भएका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले भारतीय नागरिक अमित कुमार र चिनियाँ नागरिक वाङ होन्जयालाई पक्राउ गरेको हो । वाङ ठमेलमा रेस्टुरेन्ट चलाउँछन् । फेसबुक, ह्वाटएफ भाइबर तथा इमोमार्फत चिठ्ठा परेको भनेर झुक्याएर उनीहरुले ठगी गरेका हुन् । उनीहरुले चिठ्ठा रकम पाउनका लागि कर बापतको रकम दिन लगाई ठगी गरेको सिआईबीका प्रवक्ता एसपी सुदीप गिरीले बताए ।

हाल फरार रहेका नाइजेरियन नागरिक ठगी गिरोहका नाइके हुन् । उनी नेपाल आउँदा ठमेलको अनमोल गेष्ट हाउसमा बसेका थिए । त्यहाँ काम गर्ने भारतीय नागरिक अमित कुमारसँग चिनजान गरे । कुमारको नाममा बैंक खाता खोली उनकै नाममा पैसा हाल्न लगाएका थिए । कुमारले सो पैसा चिनियाँ नागरिक वाङलाई दिने र उनले नाइजेरियनलाई पठाउने गरेका थिए ।

हालसम्म सात जनाले उनीहरुविरुद्ध उजुरी दिएका छन् । कतिपयलाई बहुमुल्य सामान पठाइदिन लागेको भन्दै करवापतको रकम बैंक खातामा हाल्न लगाएर पनि ठगी गरेको खुलेको छ । धनाढ्य व्यक्तिको मृत्यु भएको र उनको नामसँग मिल्दो भएको भन्दै फेसबुक र भाइबरमार्फत विदेशी नम्बरबाट एसएमएस पठाएर प्रलोभनमा पारेरसमेत उनीहरुले ठग्ने गरेका थिए ।

सो गिरोहबाट अन्य व्यक्तिहरु पनि ठगिएको हुनसक्ने सिआईबीका डिएसपी श्याम ओलियाले बताए । ‘यो संगठित गिरोह नै हो,’ उनी भन्छन् ‘सात जनासँग ४० लाख ठगी गरेको उजुरी परेको छ, पीडितहरु थप हुनसक्छन् ।’

प्रतिक्रिया दिनुहोस्