Logo
Logo

साउदीमा एकै दिन ३७ लाई मृत्युदण्ड


- दृष्टि न्युज/संवाददाता


एजेन्सी, १२ बैशाख । साउदी अरबले आतकंवादी घटनामा संलग्न भएका भन्दै ३७ जनालाई एकै दिन मृत्युदण्ड दिएको छ । साउदीको गृह मन्त्रालयको जारी गरेको एक विज्ञप्तीअनुसार ३७ मध्ये एक अभियुक्तलाई सुलीमा चढाएको छ । यो समाचार त्यहाँको मंगलबार साउदी सरकारी समाचार एजेन्सी ‘साउदी प्रेस एजेन्सी’ले जनाएको हो ।
साउदी अरबमा घाँटी काटेर मृत्यु दिने प्रचलन छ । राज्यको कानुनअनुसार अत्यन्त जघन्य अपराध गर्नेहरुलाई मृत्युदण्डपछि सुलीमा चढाइन्छ ।
‘उग्रवादी आतंकवादी विचारधारा अंगिकार गरेका र आतंकवादी समूह निर्माण गरेकोमा कयौँ अपराधीलाई मृत्युदण्ड दिइएको बताइएको छ । तिनले सुरक्षा व्यवस्था भड्काउने र सम्प्रदायीक विग्रह फैलाउने अभिप्राय देखिन्थ्यो,’ साउदी प्रेस एजेन्सीले गरेको एक ट्वीटमा उल्लेख छ ।
मन्त्रालयको विज्ञप्तीमा मृत्युदण्ड दिइएका सबैको नामावली पनि दिइएको छ । मृत्युदण्ड दिइएका अधिकांश साउदी अरबको अल्पसंख्यक सिया समुदायका छन् ।
एम्नेष्टी इन्टरनेशनले विगतदेखि नै साउदी अरबको न्यायिक प्रणाली स्वच्छ नरहेको बताउदैं आएको छ । मंगलबार मृत्युदण्ड दिइएका आरोपीहरुको मुद्धा सुनुवाईमा पनि अन्तराष्ट्रिय सुनुवाईका मापदण्ड प्रयोग नगरिएको उसको आरोप छ ।
मृत्युदण्ड दिने सवालमा साउदी अरब विश्वमै अग्रस्थानमा आउँछ । सन् २०१६ जनवरीमा उसले ४७ सम्मलाई मृत्युदण्ड दिएको इतिहास छ ।

प्रतिक्रिया दिनुहोस्