Logo
Logo

सुडानमा तीन उच्च सैनिक अधिकृतद्वारा राजीनामा, व्यापक प्रदर्शनको तयारी


- दृष्टि न्युज/संवाददाता


खार्तुम, १२ बैशाख (एएफपी) । सुडानको सत्तारुढ संक्रमणकालीन सैनिक परिषदका तीन उच्च सैनिक अधिकारीहरुले आफ्नो पदबाट राजीनामा दिएका छन् । तर उनीहरुको राजीनामा स्वीकृत हुन बाँकी रहेको परिषदले जनाएको छ ।
राजीनामा गर्नेहरुमा परिषदको राजनीतिक समितिको नेतृत्व गरिरहेका लेफ्टिनेन्ट जनरल ओमार जाइन अल–अबिदीन सहित लेफ्टिनेन्ट जनरलद्वय जलाल अल–दीन अल–शेख र अल–तायिब बबाकर अलि फादील रहेका छन् ।
सुडानमा जनविद्रोहको मुख्य नेतृत्वकर्ता सुडानी पेशागत संघ (एसपिए) ले सैनिक परिषद विरुद्ध राजधानी खार्तुम सहित देशका प्रमुख शहर र ग्रामीण इलाकामा दशौं लाख जनतालाई सडकमा उत्रन आह्वान गरेसँगै सैनिक अधिकारीहरुले राजीनामा दिएका हुन् ।
संघले प्रदर्शनमा उत्रिएका जनतालाई दमन गरेको र धेरै प्रदर्शनकारीको हत्या आरोप लागेका यी तीनै अधिकारीलाई परिषदबाट तत्काल बर्खास्त गर्न माग गरिरहेको छ । बुधबार साँझ विपक्षी र सैनिक परिषदबीच आपसी मतान्तर सुल्झाउन एउटा समिति गठन गर्न सहमति भएको थियो ।
सुडानका तत्कालीन शासक ओमार अल–बसिरलाई सेनाले नै सत्ताच्यूत गरेपनि नागरिक सरकार गठन हुन सकेको छैन । बरु सेनाको नयाँ नेतृत्वले सैनिक परिषदको नाममा पुनः सैनिक शासन चलाउने प्रयत्न थालेको सुडानी विपक्षीहरुको आरोप छ ।
‘सुडानको वर्तमान संकटको सुरक्षित अवतरणका लागि सेना र विपक्षीबीच छलफल जारी छ र हामी दुबै संकट समाधानमा सहयात्री हुन चाहन्छौंँ’ सैनिक परिषदका प्रवक्ता शाम्स अल दिन कब्बासीले सरकारी टेलिभिजनलाई दिएको अन्तर्वार्तामा बताएका छन् । उनले भने, ‘सैनिक परिषदले वार्ताका लागि विपक्षीहरुलाई आमन्त्रण गरिसकेको छ, र संवाद एवं सम्झौताका लागि परिषद खुला छ ।’ विपक्षीहरुले पनि समस्याको समाधान वार्ताबाटै गर्न चाहेको बताएका छन् ।
एसपिएले जारी गरेको पछिल्लो वक्तव्यमा ‘हाम्रो एक मात्र चाहना संक्रमणकालीन नागरिक शक्तिलाई सत्ताको शान्तिपूर्ण हस्तान्तरण हो र यसले मात्र क्रान्तिका सहभागीको भावनालाई प्रतिबिम्बित गर्नेछ’ भनिएको छ । सत्ता हस्तान्तरण बाहेक अन्य विषयमा सैनिक परिषदसँग वार्ता गर्न आफूहरु तयार नभएको पनि एसपिएले स्पष्ट गरेको छ ।
मंगलबार सेनाले सैनिक मुख्यालय र रक्षा मन्त्रालय बाहिर प्रदर्शनकारीले सडकमा राखेका अबरोधहरु हटाउने प्रयत्न गरेको थियो । तर प्रदर्शनकारीहरुले मुख्य सडकमा अझ बढी अबरोधहरु खडा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्