Logo
Logo

किसानलाई  समेत छाड्दैनन् प्रहरी


- दृष्टि न्युज/संवाददाता


काभ्रे, १२ बैशाख ।
नेपाल प्रहरीमा केही यस्ता कर्मचारी छन् जो पैसाका लागि जे पनि गर्दछन् । तिनीहरुकै कारण सिंगो संगठन बदनाम हुने गरेको छ ।
काभ्रेमा पनि केही खराब आचरणका प्रहरीका कारण सर्वसाधरण प्रहरी प्रति नकारात्मक छन् । विपी हाइवे अन्र्तगत काभ्रे भञ्जाङ चेकपोष्टमा कार्यरत प्रहरीले सधैं सर्वसाधरणलाई सताउने गर्दछन् । किसानहरुलाई समेत त्यहाँका प्रहरीले तर्साएर पैसा असुल्ने गरेको स्थानीयको गुनासो छ ।

 


बिहीबार पनि त्यहाँ एक किसानसँग प्रहरीले पाँच सय रुपैयाँ घुस असुलेका छ । नमोबुद्ध– ५ कानपुरका किसान कुखुरा बेच्न बा ८ च १८८१ नम्बरको गाडिमा काठमाडौंतर्फ आउँदै थिए । चेकपोष्टमा रहेका बम थरका प्रहरी जवानले आगाडिको सिटमा दुई जना बसेको भन्दै गाडी रोके । जफको चालक बाहेक गाडिको अगाडि दुई वटा सिट थिए । उनले चालकसँग ब्लुबुक र लाइसेन्स लिए । करिब १० मिनेट गाडी रोकेपछि उनले एक हजार रुपैयाँको चिट काट्नुपर्ने बताए । चालकले आफूले कुनै गल्ती नगरेको बताए । पछि पाँच सय रुपैयाँ दिन भने । गाडी नै नछाडेपछि कुुखुरा बेच्न हिडेका किसान पैसा दिन बाध्य भए । तर, त्यसवापत कुनै चिट दिएनन् । खासमा जवानले त्यसरी घुस मागेका थिए । सामान्य खेती गर्ने किसानले पाँच सय कमाउन दिनभर खेतबारीमा काम गर्नूपर्छ । तर, बिना गल्ती उनको पसिनामा प्रहरीले आँखा लगाएपछि प्रहरीप्रति किसानहरु समेत अक्रोशित भएका छन्।
यो एउटा उदारण मात्र होइन । कुखुरा बोकेका गाडीसँग यहाँका प्रहरीले सधैं दुःख दिने गरेका छन् । धेरै पटक त्यहाँ एउटा कुखुरा नै लिने गरेका थिए । गत वर्ष घुस खाएकै आरोपमा काभ्रे भञ्जायङका सबै प्रहरीको सरुवा भएको थियो । अहिले पनि त्यहाँ गरिब किसानहरुलाई प्रहरीले लुट्न छाडेका छैनन् ।
एकातर्फ प्रहरीले नागरिकसँग सम्बन्ध सुधार गर्न ‘सुमदाय– प्रहरी साझेदारी’ कार्यक्रम गरिरहेको छ । अर्काेतर्फ प्रहरीले नै गरिब सर्वसाधरणलाई यसरी लुटिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्