Logo
Logo

दुई मन्त्रीसहित एकीकृत समाजवादी सरकारमा सहभागी


हिक्मत बम


धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रिपरिषद् विस्तार गरेका छन् । शुक्रबार साँझ उनले नेकपा (एकीकृत समाजवादी)बाट एक जना मन्त्री र एक जना राज्यमन्त्री थपेका हुन् ।

आर्थिक मामिला तथा योजना मन्त्रीमा तारा लामा र आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा माया तामाङ बोहरा नियुक्त भएका छन् । नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले शुक्रबार साँझ नै शपथ लिएका छन् । नवनियुक्त मन्त्री लामालाई प्रदेश प्रमुख गंगाप्रसाद यादव र राज्यमन्त्री बोहरालाई मुख्यमन्त्री भट्टले सपथ ग्रहण खुवाएका हुन् ।

लामा एकीकृत समाजवादी कञ्चनपुर अध्यक्ष हन् । लामा यसअघि नेकपा एमालेमा हुँदा संसदीय दलका प्रमुख सचेतक थिए । उनी कञ्चनपुर क्षेत्र नम्बर १ (क)बाट प्रदेश सभामा निर्वाचित सांसद हुन् ।

बोहरा बझाङबाट प्रतितिनिधित्व गर्ने समानुपातिक प्रदेश सभा सदस्य हुन् । यसअघि बोहोरा भने एमालेमा आन्तरिक विवाद हुँदा ओली समूहमा थिइन् ।

यसअघि नेकपा एमाले विभाजन भएर एकीकृत समाजवादी बनेपछि एमाले संसदीय दलका नेता समेत रहेका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले पदबाट राजीनामा दिएका थिए ।

एमाले विभाजनपछि दुवै सांसदले एकीकृत समाजवादी रोजेका थिए । अहिले सुदूरपश्चिममा एमाले विभाजन भएपछि एकीकृत समाजवादी सबैभन्दा ठूलो दल बनेको छ । हाल नेकपा एसमा १४ सांसद रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्