Logo
Logo

कम्युनिष्ट सरकार आयो, मदनले भनेको माघ आएन


उमेश बन्जाडे


जननेता मदन भण्डारी भन्नुहुन्थ्यो, ‘एउटा माघले जाडो जाँदैन ।’
कुरो माघ महिनाको हो । बिहानैदेखि लुगलुग काप्ने बाहिर परेको शीतलहर । अझै त्यसैमाथि डमक्क लागेको कुहिरो । अँगेनो छाड्न फिटिक्कै मन लागेको छैन । साढे छ बजे झुल्किएको घामको किरणले ११ बज्दासम्म पनि धर्तिमा मधुरा धर्सा बिछ्याउनबाहेक शीतको थोपाले भिजेर निथ्रुक्क कर्कलाको पातसमेत ओभानो बनाएको छैन ।

हिजो चिसोले गर्दा सबेरै खोरमा थुनेका बाख्राहरु एक स्वरमा कान फुट्ने गरी कराए । बिहानको पहिलो काम भनेकै बाख्रालाई घाँसपात गर्नु हो । हाम्रो गाउँघर छेऊँमै खनाल्नी बज्यैको घर छ । आज पनि सदाझैँ हँसिया–नाम्लो बोकेर छिमेकी खनाल्नी बज्यैको बलेनीबाट जंगलतर्फ पाइला सोझाउँदै थिएँ ।

‘ए, साइला पर्ख बाबु ! यी जेमदान पनि कराएर मर्न थाले !’ बाख्रा देखाउँदै खनाल्नी बज्यैले भनिन् । आफ्नो नातितर्फ इंगित गर्दै– ‘त्यो प्युँसोले सक्नेकुरो भएन, मै बूढी भए पनि जान्छु । खाना पकाउँदै गरेकी खनाल्नी बज्यैले यो तिउन उतार्छु अनि घाँस काट्न जाउँला भनेर आग्रह गरिन् । म पनि सहमत भएँ ।

‘बाहिर चिसोमा किन उभिन्छस् ! आइज साइँला, भित्रै ! कि हाम्रो चुलोमा बस्नु हुन्न र ?’ खनाल्नी बज्यैको हप्किलो आग्रहपछि भर्खरै घरको अगेनो छाडेर आएको म, फेरि आगो छेउँमै गएर बसेँ ।

सार्है दयालाग्दो छ खनाल्नी बज्यैको घर । अझ बर्खा लाग्यो भनेत धुरिबाट पानीसमेत तर्दैन । छैंसठ्ठी वर्षीय खनाल्नी बज्यैको साथी वा छोरो जे भने पनि घरमा एउटा बाह्र वर्षिय नाति छ । त्यो हो, टीकारामउर्फ ‘टिके’ । उसलाई सबैले टिके भनेरै बोलाउँछन् ।

सानैमा बाबु गुमाएको टिके घर वरिपरि कोही पुरुषहरू आवतजावत गरेको देख्यो भने आँखाले नभ्याइन्जेलसम्म हेर्छ । हातमा कलम छोपेर भित्तामा कोर्दै गरेको टिके आज पनि म उसको घर पुगेको देखेर ज्यादै खुसी भयो । नहोस् पनि कसरी ! उसको घरमा महिलाको नाममा खनाल्नी बज्यै र पुरुष भन्नु नै उही अवोध टिके मात्र हो ।

गाडी चलाउन सिपालु खनाल बाजेले नेपालगन्ज हुँदै काठमाडौँसम्मको रात्रिबस चलाएरै गृहस्थी धानेका थिए । २०५७ सालको माघ महिनासम्म खनाल्नी बज्यैको घरमा खासै अभाव र अपुग थिएन । उसै वर्षको फागुनमा खनाल बाजे अर्थात बज्यैका श्रीमान अचानक बस दुर्घटनामा परे । यस धर्तिमा दुइभाई छोरासँग खनाल्नी बज्यैलाई छाडेर आफू सदाका लागि बिदा भए । हो, उसै दिनदेखि उनी माथि एकपछि अर्को गर्दै बज्रपातहरु बर्षिन थाले । छोरापनि ठुला भइसके ।

त्यसैले पनि होला, सानैदेखै नै ऊ धेरै नै मायालु र मसँग नजिक थियो, झ्याम्मिएको थियो । उसलाई स्कुल जाने ठूलो रहर छ । तर के गरोस बिचरा ! बाल्य अवस्थामै न आमाको काख, नत बाबुको साथ पाएको टिकेलाई कस्ले पठाओस स्कुल ? घर आगनमै खेले– उफ्रिएको छ ।

कहिले भित्तालाई त कहिले पातलाई कपी बनाएर पढेलेखेको स्वाङ गर्छ । बल्लतल्ल चुलोमा जुटेको जे छ छपक्क खान्छ । अनि, बेलुकी बज्यैको काखमा लुपुक्क निदाउँछ ।

गाडी चलाउन सिपालु खनाल बाजेले नेपालगन्ज हुँदै काठमाडौँसम्मको रात्रिबस चलाएरै गृहस्थी धानेका थिए । २०५७ सालको माघ महिनासम्म खनाल्नी बज्यैको घरमा खासै अभाव र अपुग थिएन । उसै वर्षको फागुनमा खनाल बाजे अर्थात बज्यैका श्रीमान अचानक बस दुर्घटनामा परे ।

यस धर्तिमा दुइभाई छोरासँग खनाल्नी बज्यैलाई छाडेर आफू सदाका लागि बिदा भए । हो, उसै दिनदेखि उनी माथि एकपछि अर्को गर्दै बज्रपातहरु बर्षिन थाले । छोरापनि ठुला भइसके ।

जीवनसाथी गुमाउनु पर्दाको घाउ अबत केही हलुका हुन्छ्की ? भन्ने अशामा बसेकी खनाल्नी बज्यै माथि २०६१ सालमा झन कल्पनै नगरेको आँधी आयो । र निमेषमै सबै सान्त्वनाका पोकाहरु उडाएर लग्यो ।

बाबुको निधनपछि घर खर्चको मूल भनेकै जेठो छोरो भुपेन्द्र थिए । यति चाँडै घरजम गर्ने सोंच नबनाएका नमराजले आमाको आग्रहपछि विवाह गरेर गर्भमा रहेको टिके र श्रीमतीलाई घरमै छाडेर अभावको खाडल सम्याउने उद्देश्य बोकी पञ्वाबतिर लागे ।

कान्छो छोरो हरिलालले गाउँमै सानो किराना पसल खोलेका थिए । जसोतसो घर व्यवहार धानेकै थिए ।

उतिबेला देशमा चकिँदै गएको जनयुद्धको निर्णायक युद्धताका बेकसुर माओवादीको आरोपमा हरिलाललाई नजिकैको सशस्त्र बेसक्याम्पबाट आएको प्रहरीले खनाल्नी बज्यैको आँखैअघि पसलबाटै गिरफ्तार गरेर लग्यो । हरिलालको आजसम्म कुनै अत्तोपत्तो छैन ।

उता जेठो छोरो पञ्जाव लागेको दिन, महिना हुँदै वर्ष बितिसक्यो । सन्चो–बिसन्चो कुनै खबर छैन । यता घरमा नाति जन्मियो । अन्ततः जेनतेन बुहारी र नाति टिकेको अनुहार हेरेर थोरै भए पनि मन बुझाउँदै थिइन् खनाल्नी बज्यै । र उतिबेला सात वर्षको टिकेलाइ घरमै छाडी बुहारी पनि पल्लो गाउँको मुखिया कान्छोसँग पोइल हिँडिन् ।

धन कमाउने अथाह रहर संगालेर पन्जाब छिरेको जेठोबाठो छोरो र आफ्नै आँखाअघि पुलिसले कञ्चटमा बन्दुक तेस्र्याएर लगेको कान्छो छोराले घर छाडेको दिनदेखि शुभ खबर कुरेर बसेकी खनाल्नी बज्यै आज १३ वर्षसम्म पनि उनै छोराको बाटो हेरेर बसेकी छिन् ।

यता फोटोमा मात्र बाबुको अनुहार देखेको तर प्रत्यक्ष एक झलकसम्म दर्शन नपाएको टिके बुबा पञ्जावबाट फर्किएपछि स्कुल जाने सपना सजाएर बसेका छन् । मीठो कल्पना संगालेर घर वरपर अन्य मान्छे आउँदा–जाँदा पनि खुबै ध्यानसँग हेरिरहन्छ ।

उसलाई यी घटनाहरु सुन्दा अझै त खासै पत्यार लाग्दैन । बज्यैसँग कराउँछ, गाउँ डुलेर आउँछ, जे–जसरी जुटेको छ, बोइ नातिले मिलेर खान्छन् । टिके त एकैछिनमा निदाउँछ । उता बज्यैका भने न सास, न त लास दुवै छोराको मस्तिष्कमा घुमिरहने तस्वीर हेरेर आँखा ओभाउन पाउँदैनन् ।

कहिले भने कामको थकानले पनि होला, उनी मसक्क निदाउँछिन । बज्यैले भोलि बिहान हुँदा छोराहरुको खबर आउने सपना सजाएर हरेक रात आँशुमै बिताएकी छिन । उता टिके रातपछिको अर्को बिहान पञ्जाव छिरेका बाबु घर फर्किएपछि साथीहरुसँग स्कुल जाने कल्पना र सपनामै रात बिताउँछ ।

दुःखका यस्तै भुमरीमा गुजारा चलाएकाछन्– खनाल्नी बज्यै र त्यो टुहुरो बालक ‘टिकाराम’ उर्फ टिकेले । तर, मदन भण्डारीले भनेझैं दुईतिहाइको कम्युनिष्ट सरकार त आयो, गयो तर टिकेको लागि त्यो माघ आएन ।

लमही, दाङ ।

प्रतिक्रिया दिनुहोस्