Logo
Logo

पुनःनिर्माण प्राधिकरणको ध्यानाकर्षण


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । २०७२ सालको भूकम्पले क्षतिग्रस्त संरचनाहरुको पुनःनिर्माणमा कार्यरत प्राविधिकहरुले सामूहिक राजीनामा दिएको भन्ने विभिन्न आमसञ्चार माध्यममा आएको जानकारीप्रति राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले आज एक विज्ञप्ति जारी गर्दै ‘प्राविधिकहरुले उठाएका अतिरिक्त सेवा सुविधा लगायतका मागहरु २०७५ भदौबाट लागू हुने गरी नेपाल सरकार मन्त्रिपरिषद्को बैठकबाट निर्णय भइसकेको र त्यसबारे नेपाल इन्जिनियर्स एसोसियनका पदाधिकारीहरुसहितको २०७६ बैशाख १२ गते बिहानको बैठकमा प्राविधिकहरुलाई जानकारी गराएका थियौं । तर, दिउसो कार्यक्रम गरी सामूहिक राजीनामा दिएको घोषणा गर्नुले पुनर्निर्माण र भूकम्प पीडित जनताको संवेदनशीलताप्रति प्राविधिकहरुको नियतमाथि प्रश्न उठाएको छ’ भनिएको छ ।

मागहरु सम्बोधन भइसकेको अवस्थामा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण तत्काल पुनःनिर्माणको कार्यमा जुट्न सबै प्राविधिकहरुलाई निर्देशन गरेको छ । पुनःनिर्माणको महाअभियानमा अवरोध सिर्जना गर्ने मनसाय राखी अघि बढेको पाइएमा कडा कदम चाल्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरण बाध्य हुने समेत विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्