Logo
Logo

उज्यालो अँध्यारो दिनले सोधिरहेको छ- यो संविधान कसको लागि ?



जगजाहेर छ बत्तीको मुनि अँध्यारो हुन्छ । उज्यालो पोखिएका अनुहारहरूले मुनिको अँध्यारो देख्दैनन् । अर्थात्, ठूला–ठूला आदर्शका कुरा गर्नेहरुको अनुहार शक्तिको उज्यालोमा जब पर्दछ, त्यतिबेला उसले केको लागि संघर्ष गरेको थियो त्यो धूमिल हुन्छ । ऊ त्यही नै काम पहिलेकाले भन्दा झन् आँखा चिम्लेर गर्दछ, जसको विरुद्ध उसले संघर्षको राजनीति गरेको थियो ।

बन्दुक उठाएको थियो । जेल परेको थियो । यस क्रममा उसको स्वरूप पाखण्डी बन्छ । हाँसो लिच्चडको हुन्छ । महसुल उठाउने व्यक्तिसरह बन्छ । यो स्वरूपले नै छाएको छ नेपालमा । यसको उत्कृष्ट प्रदर्शन विगत ६ वर्षदेखि देखिँदै आएको छ । देखिने दिन हो असोज ३ गते । उज्यालो दिनको रूपमा राज्यले यसलाई मनाउँदै आएको छ भने, अँध्यारो दिनको रूपमा मनाउनेको संख्या पनि बढ्दै गएको छ ।

असोज ३ गते उज्यालो/अँध्यारो दिन बनेको छ यसरी । एकै दिन, एकै समयमा कोही संविधान दिवस मनाउँछन्, कोही कालो दिवस । पाखण्डी स्वरूप अझ टक्रक्क देखिन्छ । यही संविधान संरक्षण गर्ने शपथ खाएर राज्यलाई दोहन गर्नेहरू सत्ताबाट हटेको भोलिपल्ट यो संविधान कुनै हालतमा नमान्ने र यसको विरुद्ध संघर्ष गर्ने उद्घोष गर्दछन् ।

यो अँध्यारो/उज्यालो रमितामा ती व्यक्तिहरू कहिले संविधान च्यात्छन् । मौका पाउने बित्तिकै संविधानको भोग गर्दछन् । फेरि च्यात्छन् । यो पट्यारलाग्दो कहिले नटुंगिने क्रम चलेको छ । हामीले ल्याएको संविधान जनताको त्याग र बलिदानबाट ल्याएको भन्नेहरूले जत्तिको यसको हुर्मत लिने काम अरु कसैले गरेका छैनन् । सत्तालिप्साको लागि यसलाई प्रयोग, उपयोग र दुरुपयोग गर्दा गर्दै सहस्र च्यातिसके । यी लाजसरम हराएकाहरूको केही पनि नछोपिने अवस्था बनेको छ । तर भन्न थाक्दैनन् यी– ‘संविधानको रक्षागर्नु पर्दछ ।’

सत्तामा टिक्न, मुलुकलाई प्राइभेट लिमिटेड कम्पनी बनाउन र जुनसुकै लहड पुरागर्न संविधानलाई मनचिन्ते झोली बनाए । कहिले संविधानमा कहाँ लेखिएको छ भनेर, कहिले लेखिएकोलाई अलिखित पारेर, कहिले संविधानको मर्म र कहिले आत्मा नै मारेर । कहिले मरेकोलाई ब्युँताएर । संविधानमा नभएर के ? दुई पटक संसद् विघटन भयो ।

संविधानमा भएर के ? मुलुकको हितको लागि गरिएको व्यवस्था व्यक्तिगत हित र राजनीतिक हिसाबकिताब मिलाउन भटाभट दर्जनौँ अध्यादेशहरू ल्याइन्छन्, अध्यादेशीय शासन चलाउन । या, पार्टी फुटाउन । तर सरम नै छैन भन्न– ‘मलाई कुर्सीको कुनै लोभ छैन’ । संविधानमाथि आफै प्रहार गर्ने, क्षतविक्षत पार्ने, रक्ताम्मे पार्ने अनि भन्ने– ‘संविधानको रक्षा गर्नु पर्दछ ।’

यही हो रक्षा ? ‘कानुनसम्मत लुट, झुट, गुट, फुट र मुलुकलाई यसरी अस्तव्यस्त पार्ने, अनि भट्याउने– विकास र समृद्धिको नारा । हुँदा–हुँदा अदालतले मुलुक चलाउने अवस्था आयो । सुरसाले बाउँदै गरेको मुख जस्तो ठूलो हुँदै गएको यो पाखण्डी स्वरूपले मुलुक निल्न लाग्यो ।
यो ‘उज्यालो अँध्यारो’ दिनमा तमासा त तक्माले पो गर्यो । तक्मा किन दिने ? छोरा छोरी पढाइमा पहिलो भए भने, खेलकुदमा पुरस्कार जितेर ल्याए भने, बाबुआमाले धाप दिन्छन् र भन्छन्– ‘क्याबात तिमीले नाम राख्यौ ।’

आफ्ना सन्तानलाई असल कर्मगर्न उत्प्रेरित गर्न र आउने दिनमा अझ असल कर्म गर्न सकुन् भनेर हौसला बुलन्द गर्नको लागि यस्तो धाप दिन्छन् । राज्यले तक्मा दिने भनेको पनि सहज रूपमा बुझ्नु पर्दा यस्तै धाप हो । नागरिकले आ–आफ्नो क्षेत्रबाट मुलुकको नाम राख्न सकेको र गौरव बढाएकोमा राज्यले दिने स्याबासी हो तक्मा । यस्तो स्याबासी मान, पदवी र तक्माको रूपमा अभिव्यक्त हुन्छ ।

कसले कुन क्षेत्रमा कुन उल्लेखनीय काम गरको हो त्यसको अभिलेख राज्यले राखेको हुन्छ । राज्यले मूल्यांकन गर्छ । त्यसका नियमहरू हुन्छन् । विधि विधान हुन्छ । यसरी सांगोपांग यकिन गरिन्छ । यो सब प्रक्रिया जनतालाई देखाइन्छ पारदर्शी रूपमा । अझ यो छर्लंग पार्न नागरिकलाई सरकारले कसैलाई काखा कसैलाई पाखा पार्दैन, गर्न सक्नेको लागि अवसर बराबर छ ।

तर, तक्मा वितरण हेर्दा यसको ठ्याक्कै विपरीत छ । यतिसम्म कि कतिलाई थाहासम्म छैन उसले किन तक्मा पायो भनेर । पार्टीगत भागबन्डा, आसन्न चुनावको रकमको जोहो, अपराधी चोख्याउने र नोटको करामतको जादुले टोपीबाट खरायो निकालेको जस्तो पो बनाए राज्यले गर्ने कदर स्वरूपको तक्मालाई ।

प्रतिनिधि पात्रको रूपमा केही व्यापारीलाई मात्र लिउ । ती व्यापारीले कोभिडको स्वास्थ्य सामग्रीको कालोबजारी गर्ने उत्कृष्ट क्षमता देखाएको कारणले मात्र तक्मा दिएको त होइन होला ? चुनावी चन्दाको हिसाबकिताब पनि होला ? राष्ट्रपतिको सन्तान वा नेताको नातेदार हुनभन्दा विशिष्ट योगदान अरू के होला सरकारले तक्मा दिनको लागि ?

यो दूषित नियत झन् दूषित हुँदै गएको छ हरेक वर्ष । त्यसैले तक्मा बाँड्दा यसलाई छोप्न धौधौ पर्दछ सरकारलाई । अनि वीपी कोइराला, गणेशमान सिंह, पुष्पलाल, मदन भण्डारी या यस्तै नेतालाई लिस्टमा राख्छन् । यसपालि कृष्णप्रसाद भट्टराइलाई राखेछन् । अपराधीसँगै यी नेताको नाम राखेर तक्मा बाँड्नेहरूले ठूलो बेइज्जती गरेका छन्, मुलुकलाई मायागर्ने यी नेताहरूको ।

यो विभत्स निरन्तरता कहिलेसम्म ? यो विभत्स स्वरूप बोकेको बादलमा चाँदीको घेरा जस्तो बनेका छन् तक्माको लिस्टमा नाम परेकाहरू । जो भटाभट तक्मा अस्वीकार गरिरहेका छन् । पत्रकार कृष्णज्वाला देवकोटा, हरिबहादुर थापा, नारायण अमृत र कार्टुनिस्ट रविन सायमीले अपारदर्शी पदक ठाडै नलिने भने । के इज्जत भयो यो सरकारको ? वैधानिकतामा आएको ह्रासको द्योतक हो यो । यसबारे सरकार हाँक्नेहरूसँग के जबाफ छ ? उज्यालो अँध्यारो दिनले सोधिरहेको छ– यो संविधान कसको लागि ?

बादलमा चाँदीको घेरा जस्तो बनेका न् तक्माको लिस्टमा नाम परेकाहरू । जो भटाभट तक्मा अस्वीकार गरिरहेका छन् । वैधानिकतामा आएको ह्रासको द्योतक हो यो । यसबारे सरकार हाँक्नेहरूसँग के जबाफ छ ? उज्यालो अँध्यारो दिनले सोधिरहेको छ– यो संविधान कसको लागि ?

प्रतिक्रिया दिनुहोस्