Logo
Logo

सशस्त्रमा विभूषणको बिकृतीः देउवाका ज्वाईदेखि बडीगार्डसम्मलाई




काठमाडौं । यो वर्षको विभूषण वितरणले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका आइजिपी कति कमजोर भएका छन् भन्ने देखाएको छ । दुवै संगठनमा आइजिपीको जानकारी बिना नै ठूलो संख्यामा अधिकृतहरुले विभूषण हात पारेका छन् । चेन अफ कमाण्डमा चल्ने सुरक्षा संगठनमा यस्तो चलखेल गम्भीर मानिन्छ । तर, दुवै संगठनका आइजिपी निरिह बनेका छन् ।

एसपी दिपेन्द्र कुंवर

सशस्त्र प्रहरीमा विभूषणको विषयलाई लिएर ठूलो असन्तुष्टि छ । स्टाफ कलेजमा नाम निकाल्न नसकेपछि चलखेलकै आधारमा सेनामा स्टाफ कलेज गर्ने मौका पाएका एसपी दिपेन्द्र कुंवरले विभूषणमा पनि अरुलाई पछि पारेका छन् । उनी प्रधानमन्त्री शेर बहादुर देउबाका स्वकीय सचिव भानु देउवाका ज्वाई हुन् । त्यही पावर प्रयोग गरी उनले विभूषण हात पारेका हुन् । यसअघि डिएसपी हुँदा समेत उनले विभूषण पाएका थिए ।

कमजोर कमाण्ड क्षमता भएका विवादीत एसपी शंकर खनालले पनि चाकडीकै आधारमा पाएका छन् । मोबाइल तस्करीकाण्डमा एक वर्ष जेल नै बसेका हर्कराज पन्तलाई समेत सरकारले तक्मा दिएको छ । डिएसपी हुँदा उनले सिन्धुपाल्चोकबाट आफ्नै गाडीमा मोबाइल हालेर तस्करी गरेका थिए । धुलिखेलमा प्रहरीले उनलाई पक्राउ गरी राजश्व अनुसन्धान विभागमा बुझाएको थियो । एकवर्ष जेल बसेपछि सेटिङमा मुद्दा मिलाएर उनले जागिर जोगाएका थिए । उनी जस्ता पात्रले विभूषण पाएपछि संगठनभित्र अन्य अधिकृतको शिर निहुरिएको छ ।

मनाङ गुल्ममा हुंदा राशनमा बदमासी गर्ने डिएसपी हाेमनाथ पन्थी पनि बिभूषण पाउन सफल भएका छन् । तक्मा पाउने अर्का विवादित अधिकृत डिएसपी शेर बहादुर अधिकारी हुन् । उनी शमशेरगञ्ज विद्रोह घटनाका एक कारक हुन् । त्यतीबेला उनी त्यहाँ क्वार्टर मास्टर थिए । जून घटनामा उनलाई पाँच वर्ष बढुवा रोक्काको विभागीय कारबाही भएको थियो । अहिले उनी पुरस्कृत भएका छन् ।

एआइजी रामशरण पौडेलले आफ्नै पिए इन्सपेक्टर राजकुमार लामिछानेलाई दिलाएका छन् ।
प्रधानमन्त्री देउवाको सुरक्षामा खटिएका इन्सपेक्टर रामहरी श्रेष्ठले पनि विभूषण हात पार्न सफल भएका छन् ।
चलखेलमा खप्पिस र कार्यक्षमतामा कमजोर रहेका इन्सपेक्टरहरु योगेश चन्द्र बराल, सुरेन्द्र शाही, ओमराज बाँनिया, टेकराज पोखरेल, सुरज पाण्डे , रबिन्द्र प्रसाद भट्टले पनि विभूषण हात पारेका छन् । आइजिपी शैलेन्द्र खनालका बडिगार्ड भएकाले इन्सपेक्टर नारायण गुरुङले त पाउने नै भए आइजिपी पत्नीले समेत विभूषण पाएकोमा चर्चाको विषय बनेको छ । उता डिआइजी राजु अर्यालले आफ्नो अन्य ब्याचीभन्दा एक तह माथिल्लो तक्मा हात पार्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्