Logo
Logo

माओवादीले विभिन्न पार्टीबाट आएका ४ हजारभन्दा धेरैलाई जिम्मेवारी तोक्दै (सूचीसहित)



काठमाडौं । नेकपा माओवादी केन्द्रले विभिन्न पार्टी परित्याग गरी पार्टीमा आएका ४ हजार २ सय ४३ जना नेता कार्यकर्तालाई जिम्मेवारीसहित व्यवस्थापन गर्ने भएको छ ।

विभिन्न ४५ वटा समूह तथा पार्टीबाट विगतमा माओवादी केन्द्रसँग एकता गरेका तथा प्रवेश गर्ने नेतालाई कार्यकर्तालाई व्यवस्थापन गर्न गठन भएको कार्यदलले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई व्यवस्थापन प्रतिवेदन सिफारिस गरेको छ ।

माओवादी केन्द्रका स्थायी कमिटी सदस्यद्धय गिरिराजमणि पोखरेल, वर्षमान पुन ‘अनन्त’ र केन्द्रीय सदस्य श्रीराम ढकाल सदस्य रहेको तीन सदस्यीय कार्यदलले पार्टी प्रवेश गर्ने नेता कार्यकर्ताको अभिलेख तयार पारेर जिम्मेवारी दिन सिफारिस गरेको हो ।

गत ६ भदौमा बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले पोखरेल, पुन र ढकाल रहने तीन सदस्यीय कार्यदल गठन गरेको थियो । तीन सदस्यीय यो कार्यदलले ति नेताहरुको अभिलेख तयार गरी गत २८ भदौमा अध्यक्ष प्रचण्डलाई प्रतिवेदन बुझाएको छ । यो कार्यदललाई एक हप्ताको समय दिएको भए पनि विभिन्न कारण प्रतिवेदन बुझाउ ढिला गरेको कार्यदलका एक सदस्यले बताए ।

‘हामीलाई कार्य सम्पादन गर्न जिम्मा दिने पार्टी स्थायी समितिलाई धन्यवाद व्यक्त गर्दछौं । २०७८ भाद्र ६ गतेको स्थायी समितिको बैठकले ७ दिनको समय दिएको भए पनि अभिलेख व्यवस्थित नभएको, सम्बन्धित पक्षसँग भेटघाट गर्न समय लागेको र यो कार्य बोझिलो भएकोले पनि समयमा नसकिएको स्पष्ट पार्न चाहन्छौं’ कार्यदलले बुझाएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

१० जेठ २०७४ देखी २८ भदौ २०७५ सम्ममा विभिन्न ४५ समूह तथा पार्टीहरु माओवादी केन्द्रमा प्रवेश एवं एकता गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । ति ४५ वटा समूह तथा पार्टीबाट माओवादी केन्द्रमा आएका कतिपय नेताले जिम्मेवारी पाइसकेको र सोहीअनुसार पार्टी काममा खटिरहेका छन् ।

तर, कतिपय नेताहरु जिम्मेवारीविहीन रहेकाले उनीहरुलाई योग्यता, क्षमता र पार्टीमा प्रवेश गर्न गरिएको सहमतिअनुसार जिम्मेवारी दिनुपर्ने कार्यदलले जनाएको छ । कार्यदलले बुझाएको प्रतिवेदन स्थायी समिति बैठकले अनुमोदन गर्दै जिम्मेवारी बाँडफाँड गर्ने बताइएको छ ।

एमालेसँग पार्टी एकता पश्चात तत्कालीन नेकपामा प्रवेश गरेका कतिपय नेताहरु माओवादी केन्द्र ब्युँतिएपछि माओवादी केन्द्रमै लागेका थिए । एमालेसँग एकता हुनुभन्दा अघि माओवादी प्रवेश गरेका नेताहरुले पार्टी एकता पश्चात तत्कालीन नेकपामा कुनै जिम्मेवारी पाएका थिएनन् । ति सबै नेताहरुको अभिलेख तयारी गर्न र उनीहरुलाई के कस्तो जिम्मेवारी दिन सकिने भन्ने बिषय प्रतिवेदन तयार गर्न तीन सदस्यीय कार्यदल माओवादी केन्द्रले गठन गरेको थियो ।

कुन पार्टीबाट कसको नेतृत्वमा कति नेता माओवादीमा आए ?
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट प्रकाश विकल्पको नेतृत्वमा १६ जना, नयाँ शक्ति पार्टी नेपालबाट देवेन्द्र पौडेलको नेतृत्वमा ३ सय ३६ जना, सदभावना पार्टीबाट नरेन्द्रराज वाग्लेको नेतृत्वमा ४९ जना नेता माओवादी केन्द्रमा आएका थिए ।

नयाँ शक्ति पार्टीबाट परशुराम तामाङको नेतृत्वमा ३ सय ४३ जना, जनसमाजवादी पार्टीबाट हरिबहादुर बोहोराको नेतृत्वमा चार सय ९९ जना, नेकपा (विकल्प)बाट झकबहादुर मल्लको नेतृत्वमा २० जना नेता माओवादीमा आएका थिए । यस्तै नयाँ शक्ति पार्टीबाट रामचन्द्र झाको नेतृत्वमा ८१ जना, नेकपा (विप्लव)बाट टीआर खम्बुको नेतृत्वमा २९ जना, युनाइटेड नेपाल रिपब्लिकन पार्टीबाट धिरेन्द्र झा मैथिल र दिपककुमार लाभको नेतृत्वमा ६३ जना नेता माओवादी केन्द्रमा आएका थिए ।

नयाँ शक्ति पार्टीबाट ठाकुर प्रसाद चाँपागाईको नेतृत्वमा ४५ जना, नेकपा (क्रान्तिकारी माओवादी)बाट शिवराम यादव, भक्तराज थापा अपिलको नेतृत्वमा ५७ जना नेता माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

यस्तै नेकपा (विप्लव)बाट संजीव तामाङको नेतृत्वमा ३५ जना, विप्लवबाटै कोपिला कुवरको नेतृत्वमा ५४ जना, माओवादी कम्युनिष्ट केन्द्रबाट शंकर लाखेको नेतृत्वमा १ सय ४२ जना नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका थिए । यस्तै विप्लवबाट तिलक मल्लको नेतृत्वमा १ सय ३५ जना, अग्रगामी संघीय मोर्चा नेपालबाट नवीन रोकामगरको नेतृत्वमा ८५ जना, नेकपा (माओवादी)बाट बिमल अधिकारीको नेतृत्वमा २ सय ४१ जना, नयाँ शक्ति पार्टीबाट प्रकाश अधिकारी (पूर्वी नवलपरासी)को नेतृत्वमा ५ जना नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

त्यस्तै, नेकपा (क्रान्तिकारी माओवादी) बैद्यबाट ठमानसिंह तामाङको नेतृत्वबाट ३ सय जना, नेकपा (विप्लव)बाट पुष्पराज न्यौपानेको नेतृत्वबाट ३४ जना, फोरम लोकतान्त्रिबाट कुमार राईको नेतृत्वमा ५० जना नेता माओवादी प्रवेश गरेका थिए । त्यसैगरी जनमुक्ति पार्टी नेपालबाट बुद्धश्री लामाको नेतृत्वमा ९ जना, तराई मधेस पहाड हिमाल एकता पार्टीबाट पासाङ छिरि शेर्पाको नेतृत्वमा १२० जना नेता माओवादी केन्द्रमा आएका थिए ।

त्यस्तै, नेपाली काँग्रेसबाट छिरिङ दोर्जी शेर्पाको नेतृत्वमा ६० जना नेता, राप्रपा (पशुपति)बाट बङछु शेर्पाको नेतृत्वमा ४५ जना नेता, नयाँ शक्ति पार्टीबाट बलराम पुनको नेतृत्वमा २०६ जना, नयाँ शक्तिबाटै भूमिलाल लामाको नेतृत्वमा १५० जना जनमुक्ति पार्टीबाट माधव गिरी, एसके महर्जनको नेतृत्वमा ९ जना, नेकपाबाट टंक राईको नेतृत्वमा ३५ जना नेताहरु माओवादी केन्द्रमा आएका छन् ।

यसैगरी, नेकपा (संयुक्त)बाट गणेश शाहको नेतृत्वमा ६६ जना नेता माओवादी केन्द्रसँग पार्टी एकता गरी आएका थिए । नेपाल श्रमिक एकता पार्टीबाट भुवन सुनारको नेतृत्वमा ७१ जना, नेकपा (क्रान्तिकारी माओवादी वैद्य)बाट रमेश रोक्का क्षेत्री, मुलाल गुरुङको नेतृत्वमा तीन सय जना नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

नेकपा (क्रान्तिकारी माओवादी वैद्य) बाटै महेश्वरप्रसाद चौधरीको नेतृत्वमा तीन सय जना, जन समाजवादी पार्टीबाट कमल चौलागाईको नेतृत्वमा ९७ जना नेता, पूर्व संघीय समाजवादी नेपालबाट प्रदीप लामा बम्जनको नेतृत्वमा (संख्या उल्लेख नभएको), संघीय नवराष्ट्र कम्युनिष्ट पार्टी नेपालबाट गोपाल पोखरेलको नेतृत्वमा ७७ जना नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेको कार्यदलको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार संयुक्त जातिय मुक्ति मोर्चा नेपालबाट गोपाल महराको नेतृत्वमा (संख्या र नामावली उल्लेख नभएको), राष्ट्रिय जनमुक्ति पार्टीबाट होमलाल पुनको नेतृत्वमा (संख्या र नामावली उल्लेख नभएको), स्वतन्त्र समूहबाट गोविन्द बुढाथोकीको नेतृत्वमा (संख्या र नामावली उल्लेख नभएको), स्वतन्त्र समूहबाट सुवास राईको नेतृत्वमा (संख्या र नामावली उल्लेख नभएको), पूर्व राष्ट्र सेवक पार्टीबाट डा. मोजराज वगालेको नेतृत्वमा, बाब बस्नेतको नेतृत्वमा नेपाल देशभक्त गणतान्त्रिक मञ्चबाट २६ जना, हिराबहादुर रोकाक्षेत्रीको नेतृत्वमा नेकपा (विप्लव)बाट १७ जना, योगेश साउदको नेतृत्वमा राष्ट्रिय युवा संघ नेपालबाट ३६ जना नेता माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

यस्तै, भरत लामिछाने, रामलोटन तिवारी, आङछिरिङ शेर्पा, कौशर शाह, मोहन कार्की जिवन्त (धादिङ), अनिल राई (सोलु), फुर्वा शेर्पा, प्रल्हाद लामिछाने, विवि खराल, लक्मान रोकाया, सुरेश चन्द्र दास, विनोदकुमार यादव, अनिल राई, भुवन फूयाँल, खगेन्द्रप्रसाद तमल्सिना दिपक डाँगी, धिरज श्रीपाली (दाङ) लगायतका नेताहरु स्वतन्त्र रुपमा माओवादी केन्द्रमा प्रवेश गरेको कार्यदलको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्