Logo
Logo

एक हप्तामा १० लाखको क्षति बेहोर्दै चुरेका किसान



धनगढी । असारे विकासले चुरे गाउँपालिकाका अधिकांश सडक अवरुद्ध भएका छन् । बजेट निकासा गर्ने उद्देश्यले वर्षातको समयमा निर्माणका कार्यहरु गर्दा चुरे क्षेत्र बाढी र पहिरोको जोखिममा पर्ने गरेको छ । त्यसको ज्वलन्त उदाहरण बनेका छन्, चुरेका अबरुद्ध सडकहरु । जसका कारण चुरेवासीले हरेका वर्ष वर्षातको समयमा सास्ती खेप्नु परिरहेको छ ।

त्यस्तै, चुरे गाउँपालिका कार्यालय जाने सडक असारे विकासले गर्दा हिलाम्य भएको छ । हिलाम्य सडकका कारण चुरेवासी र सेवाग्राहीहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन ।

सहजपुरदेखि चुरे गाउँपालिकाको कार्यालय अलाडसम्म जाने सडक आसारे विकासले गर्दा भदौरे झरीले पहिरो जाँदा अवरुद्ध भएसँगै हिलाम्य भएको छ । पहिरोसँगै हिलाम्य सडकले जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको चुरे गाउँपालिका वडा नम्बर १ का तीर्थराज जोशीले बताए । उनले भने– ‘चुरे क्षेत्रमा वर्षातको बेला निर्माणका काम गर्न पाइदैन ।

तर, ठेकेदारसँगको मिलोमतोमा जनप्रतिनिधि र कर्मचारीले बजेट निकासा गर्नका लागि काम गरे जस्तो देखाउनलाई निर्माण गरिएको सडकमा अहिले हामीहरु ज्यानको बाजी राखेर जोखिमपूर्ण यात्रा गर्न बाध्य छौं ।’ उनले सडक निर्माणका लागि ठेक्का सम्झौता भएको तीन वर्ष भइसक्दा पनि काम भने ३० प्रतिशत पनि नभएको बताए । ‘सहजपुरदेखि चुरे गाउँपालिको कार्यालय घरखेडा जाने सडकको दुरी ६ किलोमिटरमात्रै छ । तर, ठेक्का सम्झौता भएको तीन वर्ष भइसक्दा पनि निर्माण प्रगति ३० प्रतिशत पनि भएको छैन, उनले भने ।

उनकाअनुसार बजेट निकासा गर्न असारमा देखिने ठेकेदारलाई गाउँपालिकाले कुनै कारवाही नगर्नु र बजेट पनि निकास गरिदिनुले पनि कतै जनप्रतिनिधि र कर्मचारीहरुको मिलोमतो आसारे विकास देखाएर चुरे दोहन भइरहेको त छैन ? भन्ने प्रश्न खडा भएको छ । उनले भने, ‘ठेक्का सम्झौता भएको तीन वर्षमा ठेकेदार असारको महिना बजेट निकासा गर्न स्काभेटर लिएर सडक खन्न आउँछ । र सडक हिलाम्य बनाएर जान्छ । फेरी पनि सडकको अवस्था उस्तै हुन्छ ।’

ठेकेदारको योजनामा जनप्रतिनिधिले बजेट निकासा गर्नका लागि वर्षातको समय स्काभेटर लगाएर सडक निर्माण गर्ने गरेका कारण चुरेका सडकहरुमा जोखिमूर्ण यात्रा गर्न बाध्य भएको स्थानीय बताउँछन् । उनीहरुका अनुसार भदौरे झरीले सोमबारदेखि सडक अवरुद्ध हुँदा बजारमा तरकारी पठाउन कठि भएको छ ।

आइतबार रातिको वर्षासँगै आएको पहिरो सडक अवरुद्ध हुँदा र सडकमा गाडी फसेको हुँदा आवतजावतमा समस्या भएको चुरे गाउँपालिका वडा नम्बर १ भैरव मावि अलाडका शिक्षक एकेन्द्र कडेलले बताए । सडक अवरुद्ध हुँदा यात्रा त जोखिमपूर्ण गरिरहेका छौं । तर, किसानले फलाएका तरकारी कुहिन थालेका छन । उनले भने– ‘किसानहरु कहिले गाडी आउला र तरकारी बजारसम्म पुर्याउँला भन्ने पर्खाइमै छन ।’
उनले एक हप्ता भित्रै सडक सञ्चालनमा आएन भने त्यस क्षेत्रका किसानले १० लाखको क्षेति बेहोर्नुपर्ने बताए । भने, ‘किसानले फलाएका टामाटर, खुर्सानी, सिमला सुर्सानी, भाण्टा, काउलीलगायतका तरकारी बारीमै कुहिने अवस्था छ ।’

सरकारले चुरे गाउँपालिका वडा नम्बर १ को अडाल, निगाली, घोडेथरलगायतका क्षेत्रलाई फलफूलको पकेट क्षेत्र घोषण गरेको बताउँदै राजु आर्चायले भने– ‘सरकारले हाम्रो क्षेत्रलाई फलफूलको पकेट क्षेत्र घोषण गर्यो तर कोल्ड स्टोर बनाउन सकेन । जसले गर्दा सडक अवरुद्ध हुँदा तरकारी र फलफूल बारीमै कुहिन्छ ।’

चुरे गाउँपालिकाका सडकहरु वर्षातको समयमा अवरुद्ध हुने गरेका कारण चुरेका किसानहरु मारमा परेका छन् । उनीहरु दुखेसो सुनाउँदै भन्छन— ‘व्यवसायिक रुपमा खेती भरौं भने बजारको समस्या । नगरौं भने के खाने, के लाउने त्यो पनि समस्या ।’

चुरेमा असारे विकासले गर्दा सेवाग्राही मात्र नभई त्यस क्षेत्रका व्यवसायिक किसानहरु पनि जोखिम मोल्न बाध्य छन । अथाह सम्भावना रहेको चुरे गाउँपालिकामा १२ महिना सडक सञ्चालनमा ल्याउन सकिने होभने चुरे गाउँपालिका आफैमा समृद्ध बन्नेछ ।

किसानहरुले नै चुरे गाउँपालिकालाई समृद्ध बनाउने छन । तर बिडम्बना चुरेका भ्रष्ट जनप्रतिनिधिका कारण जनताहरुले सास्ती खेप्नुपरिरहेको छ । जाप्रतिनिधिको तराईमा बसाइ भएको र पाहुँनका हिसावले चुरे गाउँपालिका पुग्ने गरेका कारण चुरेको विकासमा त्यति धेरै ध्यान नदिएको स्थानीय बताउँछन ।

प्रतिक्रिया दिनुहोस्