संविधानको चीरहरण र कौरवहरूको पतन « Drishti News – Nepalese News Portal
Logo

संविधानको चीरहरण र कौरवहरूको पतन


मिलन लिम्बू


द्रौपदीको चीरहरण हुँदा महाभारत युद्ध भयो । कारक कौरव र पाण्डव दुवै थिए । पाण्डव पुत्रले पत्नी द्रौपदीलाई जुवाको दाउमा राखे । कौरवहरूले उक्त अवसर सदुपयोग गरे । अन्ततः भीषण युद्ध भयो । द्रौपदीलाई निर्वस्त्र बनाउने कौरवहरू नास भए ।

सन्दर्भ ठ्याक्कै नमिल्न सक्छ । तर, नेपालको संविधान र द्रौपदीको अवस्था उस्तै भयो । कौरवहरूको हातमा पुग्दा जसरी द्रौपदीको चीरहरण भएको थियो । त्यसरी नै आधुनिक कौरवहरूको हातमा पुग्दा संविधानको ‘चीरहण’ भयो । कौरव आवरणका ओलीलाई यो वा त्यो वहानामा संविधान कार्यान्वयन र रक्षा गर्ने जिम्मा दिनु र द्रौपदीलाई जुवामा हान्नु उस्तै भयो । कौरव र ओली दुवैबाट भएको ‘चीरहरण’ नै हो ।

नेपालको संविधानलाई विश्वको उत्कृष्ट भनियो । त्यसमा पूर्ण सहमत त हुन सकिन्न । तर, संविधानमा सुनिश्चित केही प्रावधान विश्वकै उत्कृष्ट हुन् । संविधान लेखन प्रकृया आफैंमा उत्कृष्ट थियो । जनताले आफ्नो लागि आफैँ संविधान लेखेका हुन् । यो अर्थमा पनि संविधानको आफ्नै पहिचान छ । संविधानमा सुनिश्चित संघीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक प्रतिनिधित्व ठूलो संघर्षको बलमा स्थापित व्यवस्था हो । जुन व्यवस्थामा अझै केही असहमतिहरू छन् । संविधान संशोधनको मुद्धा अझै बलियो छ ।

संविधान जारी हुँदै गर्दा मधेसमा ठूलो संघर्ष भयो । आदिवासी जनजातिले संघर्ष गरे । संविधान अस्वीकार गर्ने घोषणसम्म भयो । सडकमा संविधान जलाइयो । संविधान अस्वीकार गर्ने शक्तिको संघर्ष गलत थिएन । त्यो राजनीतिक संघर्ष नै हो । राजनीतिक संघर्षकै रुपमा अझै जारी छ । तर, संविधान अस्वीकार गर्नेहरूबाट संविधानलाई कहिले पनि खतरा भएन ।

राजनीतिक रुपमा हुने संघर्ष आगामी दिनमा पनि गलत हुँदैन । संविधानका लागि त्यस्ता संघर्षहरुलाई खतरा मानिन्न । किनकि, संविधानमा अपनत्व खोज्नु दुनियाँमा कहीँ पनि गलत हुँदैन । तर, आफूलाई रक्षक भन्नेहरूबाट नै संविधानमाथि प्रहार भयो । अर्थात, रक्षक नै भक्षक भए ।

पार्टी एकताको लक्ष्यसहित एमाले–माओवादी चुनावी मैदनमा उत्रँदा तीन मुद्धा थिए । एक, एकीकृत कम्युनिष्ट पार्टी निर्माण । दुई, संविधानको सफल कार्यान्वयन । तीन, संविधान कार्यान्वयन गर्दै समृद्धिको यात्रा । यी तीन मुद्धाकै आधार जनताले एमाले–माओवादीलाई दुइतिहाई नजिक मत दिए ।

एमाले–माओवादी एक भएर इतिहासकै ठूलो कम्युनिष्ट पार्टी पनि बन्यो । तर, नेकपा तासको महलझैँ ढल्यो । संविधान कार्यान्वयनको जिम्मा पाएको पार्टी नै ढलेपछि संविधान कार्यान्वयन र समृद्धिको यात्रा अलपत्र भयो । धृतराष्ट्रको भूमिकामा राष्ट्रपति र दुर्योधनको भूमिकामा प्रधानमन्त्री ओली देखिए । समृद्ध नेपालको सपना हस्तिनापुर जस्तै भयो ।

संविधान कार्यान्वयन असहज थिएन । संविधान अस्वीकार गर्ने शक्तिहरू संवैधानिक व्यवस्था अन्र्तगतकै राजनीतिक गतिविधिमा संलग्न छन् । अस्वीकार गरेको संविधान अन्र्तगत बनेका सरकारमा सहभागी भएका छन् । संविधान कार्यान्वयनको जिम्मा पाएकाहरूलाई योभन्दा सहज केही हुँदैन । स्थानीय सरकारहरू संविधानअनुसार आफैँ क्रियाशील छन् ।

संविधान कार्यान्वयनको सवालमा यो महत्वपूर्ण उपलब्धि मान्नुपर्छ । तर, संविधान कार्यान्वयन गर्ने जिम्मा पाएका नेतृत्व गलत हुँदा संविधानले संकट झेल्नुपर्यो । दुई–दुई पटक प्रतिनिधिसभा विघटन गर्नु संविधानविरुद्ध भएको सबैभन्दा ठूलो राजनीतिक अवराध थियो ।

सत्तामा आएपछि केपी शर्मा ओलीबाट बारम्बार संविधान विरुद्धका गतिविधि भए । सार्वभौम संसद विघटन गरेर अध्योशबाट देश चलाउने गैरसंवैधानिक काम भयो । अध्यादेशको सहारामा आफू अनुकुल संविधान संशोधन गर्ने काम गलत थियो । संविधानको मर्मविपरित थियो ।

संविधानलाई घाटमा पुर्याएर अध्यादेशबाट देश चलाउने गलत परम्परा वर्तमान सरकारसम्मले पछ्याएको छ । यस्तो गलत अभ्यासले संविधानलाई समृद्ध बनाउन सक्दैन । संविधान छल्न संसद विघटन गर्ने या संसद अधिवेशन अन्त्य गर्दै अध्यादेश ल्याएर अनुकुल गतिविधि गर्ने काम जोबाट भएपनि गलत हो । जुन गलत परम्परालाई सच्याउनुको विकल्प हुँदैन ।

केपी शर्मा ओली वर्तमान व्यवस्था नै बेठीक भन्थे । उनको व्यवहारले सोही कुरा पुष्टि भएको छ । तर, परिस्थितिले ओलीलाई नै व्यवस्था रक्षा गर्ने जिम्मेवारी दियो । त्यो नै ठूलो भूल भयो । जुन भूलको परिणाम थियो, संविधानमाथि निर्मम प्रहार । यदी, जनता सडकमा नआएको भए, आज देशको अवस्था बेग्लै हुन्थ्यो । ठूलो संघर्ष र बलिदानबाट स्थापित व्यवस्था नै समाप्त हुन्थ्यो । देश पुनः संकटको भूमरीमा फस्ने निश्चित थियो ।

हिजो व्यवस्था रक्षा गर्ने ठाउँमा हुँदा संविधान संकटमा पर्नुको कारण ओली थिए । तर, आज त्यो आधारमा मात्र व्याख्या गर्नु हुँदैन । किनकि, आगामी यात्रा कामजोरीरहीत बनाउन विगतको समीक्षा गर्नुपर्छ । यो कोणबाट भन्ने हो भने पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, माधवकुमार नेपाल, उपेन्द्र यादवहरूको पनि कमजोरी छ । ओलीलाई विना लगाम विश्वास गर्नु गल्ति थियो ।

मनपरी गर्दै गर्दा सामान्य असहमतिमा सिमित हुनु कमजोरी थियो । प्रचण्ड–माधवहरू ओली उदण्डताविरुद्ध संघर्षमा हुँदा ओलीले छुट्याएको भागशान्तिमा रम्नु देउवाको गम्भीर भूल थियो । आज संविधान रक्षा गर्ने पंक्तिबाट प्रधानमन्त्रीको कुर्सीमा आसिन देउवाहरूले त्यो समय होस् गुमाउनु हुँदैनथ्यो ।

संविधान जारी भएसँगै राजनीतिक अस्थिरता अन्त्य हुने अपेक्षा गरियो । ठीक ढंगले संविधान कार्यान्वयन हुने हो भने देश अस्थिरतातर्फ जान सक्दैन । तर, संविधानविरुद्ध भएका गतिविधिले देश पुनः अस्थिरतामै पुर्याएको छ । नेकपा खारेज गरेर राजनीतिक अस्थिरताको बाटो खनियो ।

ओली दुर्योधन भूमिकामा प्रस्तुत हुँदा छिमेकीहरूले ‘सकुनी मामा’को भूमिका खेले । सकुनीको उक्साहटमा जसरी आफ्नैविरुद्ध दुर्योधनहरू लागे त्यसरी नै विदेशी शक्तिको उक्साहटमा घर जलाएर खरानी धस्न ओली तयार भए । नेकपा खारेज भयो । सोही विन्दुबाट राजनीतिक अस्थिरता प्रारम्भ भयो ।

राजनीतिक अस्थिरताको पहिलो प्रभाव राजनीतिक दलहरूमा नै देखियो । सबैभन्दा पहिले नेकपा खारेज भयो । दुईतिहाई मतको सरकार ढल्यो । त्यसपछि नेकपा एमाले र जनता समाजवादी विभाजित भए । अब फेरी जनताले दुईतिहाइको मत दिने छैनन् । कुनैपनि राजनीतिक दलले दुईतिहाइ मत पाउने सम्भावना छैन ।

बहुदलीय प्रतिस्पर्धा हुने संसदीय व्यवस्थामा कुनै पनि दलले दुईतिहाइ मत पाउने सम्भावना कम हुन्छ । कुनै दलले पाइहाले पनि दुर्लभ संयोगजस्तै हुन्छ । नेकपाले पाएको दुईतिहाइ बहुमत त्यस्तै थियो । जुन मतलाई जोगाउन सकेको भए संविधान कार्यान्वयन गर्दै समाजवाद यात्राको आधारशीला तय हुने थियो । त्यो ऐतिहासिक अवसर गुमेको छ ।

वर्तमानसहित ७ वटा संविधान अनुभव गरिसकेका छौँ । राजनीतिक परिर्वतनहरूसँगै संविधानमा हुने फेरबदललाई सामान्य मान्नुपर्ने हुन्छ । अग्रगमन र जनताको पक्षमा बनेका संविधानप्रति जनताको धारणा कहिले गलत थिएन । र, वर्तमान संविधानमा केही असहमतिहरू रहेतापनि पूर्ण अस्वीकार्य होइन । संविधानले सुनिश्चित गरेका अधिकारहरू मात्र जनताले अनुभूत गर्न पाए काफी हुन्छ ।

संविधानलाई गतिशील दस्तावेज भनिएको छ । यसको अर्थ यो दस्तावेज जनताको चाहनामा संशोधन हुनसक्छ । सबैले अपनत्व ग्रहण गर्न सके वर्तमान संविधान विगतका संविधानभन्दा लामो आयु भएको संविधान हो । यसै संविधानलाई आधार मानेर राष्ट्र लक्ष्य हासिल गर्न सकिन्छ । तर, संविधान कार्यान्वयन गर्ने जिम्मा पाएका शासक इमानदार भएर प्रस्तुत हुनुपर्छ ।

इतिहास काफी छ । विधि विधानप्रति वफादार नहुने शासक क्षणभरमै पतन भएका छन् । त्यसैको निरन्तरता हो– ओली पतन । संविधानविरुद्ध गतिविधि गर्दा ओली बालकोटमा सुसेल्दैछन्, जसरी जनआन्दोलनपछि ज्ञानेन्द्र नागार्जुनमा सुसेली मार्दैछन् । ओलीले उदण्डताको परिणाम भोग्दै गर्दा सत्तारोहण गरेका दलहरूलाई पनि संविधान विरोधी गतिविधि गर्ने छुट हुँदैन ।

कुरुक्षेत्रको युद्धमा कौरवहरूलाई परास्त गर्दै पाण्डवहरूले सत्ता हात पारेका थिए । त्यसरी नै प्रचण्ड, नेपाल, देउवा र यादवहरूले संविधान रक्षाको लडाइँ जितेका हुन् । कौरवहरू परास्त भएपछि जसरी द्रौपदीले चैन महसुस गरे, त्यसरी नै संविधानप्रति आशा गर्ने नागरिकले चैन महसुस गर्न पाउनुपर्छ ।

जसरी द्रौपदीलाई जुवामा हानेर पाण्डवहरूले गल्ती गरेका थिए, त्यसरी नै संविधान कार्यान्वयनको जिम्मा ओलीलाई दिएर माधव, प्रचण्ड र देउवाहरूले गल्ती गरेकै हुन् । द्रौपदीमाथि भएको अपराधविरुद्ध पाण्डवहरू मैदान उत्रदा कौरवहरूको नास भएको थियो । त्यसरी नै संविधानविरुद्ध अपराध गर्ने ओली पतन भएका छन् । कुरुक्षेत्रको युद्ध जितेपछि पाण्डवहरूले जसरी हस्तिनापुरलाई पुरानै अवस्थामा फर्काए । त्यसरी नै राजनीतिक अस्थिरता अन्त्य गरेर देशलाई ठीक दिशावोध गर्न संविधान रक्षाका पक्षधरले भूमिका खेल्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्