Logo
Logo

काठमाडौंलाई ललितपुरले दियो १५८ रनको लक्ष्य



काठमाडौं । आजदेखि सुरु एभरेष्ट प्रिमियर लिग (ईपीएल)को उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रिओट्सले काठमाडौं किंग्स–११ लाई १५८ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनायो । ललितपुरका लागि पवन सर्राफले ६१ रन बनाए । काठमाडौंका जितेन्द्र मुखियाले ४ विकेट लिए ।

ललितपुरका कप्तान कुशल भुर्तेल आउट भएका थिए । त्यसै ओभरमा सन्दुन विराकोडी २ रन बनाएर आउट भए । दोस्रो ओभरमा गुल्सन झाले ओसादा फर्नान्डोलाई आउट गरेपछि ललितपुरले ७ रनमै ३ विकेट गुमायो ।

शंकर राना र पवन सर्राफले ललितपुरको इनिङ्स सम्हालेका छन् । यी दुईले तेस्रो विकेटका लागि ५६ रनको साझेदारी गरे । शंकर राना १४ रन बनाएर १० औं ओभरमा आउट भए ।

यस्तै, पवन र योगेन्द्र सिंह कार्कीले पाँचौं विकेटका लागि ६२ रनको साझेदारी गरे । दुवैलाई काठमाडौंका रायन बर्लले १७ औं ओभरमा आउट गरे । पवनले ४४ बल खेल्दै ५ चौका र ४ छक्का मद्दतमा ६१ रन बनाए । योगेन्द्रले २० बल खेल्दै ३ छक्का मद्दतमा ३३ रन जोडे ।

काठमाडौंका जितेन्द्र मुखियाले ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिए । रायन बर्लले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । गुल्शन झाले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए ।

कप्तान सन्दीप लामिछानेले ४ ओभरमा ४४ रन खर्चिए पनि विकेट लिन सकेनन् । यस्तै पाकिस्तानका शाहिद अफ्रिदीले ४ ओभरमा ३२ रन खर्चिए पनि विकेट लिन असफल भए ।

प्रतिक्रिया दिनुहोस्