Logo
Logo
एमाले केन्द्रीय कमिटी बैठक

ओलीलाई तेस्रो धारको प्रश्न- ‘असंवैधानिक रुपमा संसद विघटन गर्नेले कतिपटक उठबस गर्नुपर्छ ?’



काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठकमा दुई पटक प्रतिनिधिसभा विघटन गर्नेलाई कारवाही गर्नुपर्ने आवाज उठेको छ । पार्टीमा छलफल नै नगरी दुई पटक प्रतिनिधिसभा विघटन गर्ने अध्यक्ष एवं तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाही गर्नुपर्ने आवाज उठेको हाे ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृती प्रतिष्ठानमा जारी केन्द्रीय कमिटी बैठकमा सहभागि तेस्रो धारका केही केन्द्रीय सदस्यहरुले पार्टीमा छलफल नै नगरी प्रतिनिधिसभा विघटन गर्ने अध्यक्ष ओलीलाई कारवाही गर्न मिल्ने की नमिल्ने भन्ने प्रश्न गरेका छन् ।

बैठकमा ओली समूहका नेताहरुले आफ्नै पार्टीको सरकार गिराउने, पार्टी अध्यक्ष प्रधानमन्त्री भएको बेलामा हटाउने खेलमा लागेका नेतालाई कारवाही गर्नुपर्ने माग गरेपछि तेस्रो धारका केन्द्रीय सदस्यहरुले प्रतिनिधिसभा विघटन गर्ने अध्यक्ष ओलीलाई कारवाही गर्नुपर्ने आवाज उठाएका हुन् ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन, उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेश गरेपछि १० वटा समूह गठन गरी छलफल भएको थियो । १० वटै समूहमा छलफल पश्चात टोली नेताले समूहमा आएका सुझाव एवं प्रश्नहरु राखिसकेका छन् ।

तर बैठकको बीचमै ओली समूहका नेताले आफ्नै पार्टी अध्यक्षको नेतृत्वमा रहेको सरकार गिराउँने नेतालाई कारवाही गर्नुपर्ने माग गरेपछि तेस्रो धारका नेताले प्रतिनिधिसभा विघटन गर्नेलाई कारवाहीको बिषयमा बनाउन माग गरेको बैठकमा सहभागि स्रोतले जनाएको छ ।

‘पार्टीमा छलफल नै नगरी प्रतिनिधिसभा दुई–दुई पटक विघटन गर्नेलाई कारवाही गर्न मिल्छ की मिल्दैन् ? असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेपछि सर्वोच्च अदालतले दुई पटक नै पुनस्र्थापना गर्यो । के संविधान र लोकतन्त्रको भावना विपरित प्रतिनिधिसभा विघटन गर्नेलाई कारवाही गर्नु पर्दैन् ? असंवैधानिक कार्य गर्ने हाम्रा अध्यक्ष ज्यू कति पटक उठबस गर्नुपर्छ ?’ बैठकमा तेस्रो धारका एक नेताले प्रश्न गरे ।

बैठकमा सरकार गिराउने र प्रतिनिधिसभा विघटन गर्नेलाई कारवाहीको आवाज उठेपछि केही बेर हंगामै नै मच्यो । दोहरो सवाल जवाफ चलेपछि केही बेर बैठक तनावपूर्ण बन्यो । तर पछि शिर्ष नेताले यस बारेमा पनि छलफल गर्ने भन्दै कुरा मिलाएपछि बैठक निर्धारित कार्यक्रम अनुसार अगाडी बढेको एमाले स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्