Logo
Logo

तीन दिनसम्म चलेको एमाले बैठकमा नेकपा खारेजीबारे छलफल नै भएन



काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकमा पेस भएका विभिन्न दस्तावेज संशोधनसहित पारित गर्दै सम्पन्न भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृती प्रतिष्ठानमा तीनदेखी जारी बैठक आज सम्पन्न भएको हो ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलद्वारा प्रस्तुत सांगठनिक प्रतिवेदन, उपमहासचिव विष्णु पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावमाथि १० वटा समूह बनाएर छलफल गरिएको थियो । समूहहरुबाट आएको सुझावलाई समेट्दै प्रस्तुत दस्तावेज पारित गरिएको प्रवक्ता योगेश भट्टराईले जानकारी दिए ।

केन्द्रीय कमिटी बैठकबाट पारित दस्तावेजहरु यही असोज १५, १६ र १७ मा हुने विधान महाधिवेशनमा पेस गरि छलफल गरिने भट्टराईले बताए । विधान महाधिवेशनमा ५ हजारभन्दा बढी प्रतिनिधि सहभागि हुनेछन् ।

यसअघि स्थायी कमिटी बैठकले ३ हजार प्रतिनिधि विधान महाधिवेशनमा सहभागि हुने मापदण्ड बनाएको थियो । तर त्यसलाई संशोधन गर्दै केन्द्रीय कमिटी बैठकले ५ हजारभन्दा बढी सहभागि हुने निर्णय गरेको छ ।

बैठकले पार्टी उपाध्यक्षको संख्याबारे ठोस निर्णय गर्न सकेन । विधान प्रस्ताव मस्यौदामा तीन उपाध्यक्षको प्रस्ताव गरिए पनि समूहगत छलफलबाट प्रत्येक प्रदेशबाट एक–एक उपाध्यक्ष हुनेगरी सात उपाध्यक्ष बनाउँन सुझाव आएको थियो ।

तर बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उपाध्यक्षको संख्या बढाउने की नबढाउने भन्नेबारे स्थायी कमिटीमा थप छलफल गरी निर्णय गर्ने जवाफ दिए ।

बैठकले एमाले नेतृत्वमा सम्पूर्ण कम्युनिष्ट पार्टीबीच बृहत पार्टी एकता गर्नुपर्ने प्रस्ताव पारित गरेको छ । तर एमाले र माओवादी केन्द्रबीच एकीकरण भई बनेको नेकपा विघटनको कारण के र दोषी को ? भन्नेबारे गम्भीर छलफल हुन सकेन ।

अगामी निर्वाचनबाट एमालेलाई संघ, प्रदेश र स्थानीय तहमा सबैभन्दा ठूलो पार्टीको रुपमा स्थापित गर्ने प्रस्ताव बैठकले पारित गरेको छ । विधान संशोधन प्रस्तावमा छलफल गर्दै नेताहरुले ७० वर्षे उमेर हदम्याद राख्नुपर्ने सुझाव कायम नै राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्