अफगानिस्तानमा तालिबानको आगमन आन्तरिक विषय : परराष्ट्रमन्त्री खड्का « Drishti News – Nepalese News Portal
Logo
संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन

अफगानिस्तानमा तालिबानको आगमन आन्तरिक विषय : परराष्ट्रमन्त्री खड्का


दृष्टि संवाददाता


काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेका छन् । आज बिहान अमेरिकाको न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्र संघको ७६ औं महासभालाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री खड्काले अफगानिस्तानमा तालिबानको आगमन आन्तरिक विषय भएको बताए ।

मन्त्री खड्काले अफगानिस्तान, लिविया लगायत द्वन्द्वग्रस्त मुलुकको स्थायित्व आफ्नै अन्तरिक विषय सम्बोधनका क्रममा बताए । ती देशका समस्या समाधान आपसी समझदारीमा हुने विश्वास नेपालको रहेको पनि उनको भनाई थियो ।

आणविक हातहतियारको होडबाजी र आतंकवाद मानव अस्तित्वको शत्रु भएको उल्लेख गर्दै मन्त्री खड्काले नेपालले त्यसको विरोध गरिरहेको पनि बताए ।

कोरोनाविरुद्धको खोपको असमान वितरणले न्यून आय भएका मुलुकमा आर्थिक(सामाजिक असर पारेको बताउँदै मन्त्री खड्काले सबैले न्यायपूर्ण र समान तरिकाले खोप पाउनुपर्ने उल्लेख गरे ।

नेपाली जनतालाई कोरोना संक्रमणबाट सुरक्षित बनाउन वर्तमान सरकारले खोपको व्यवस्थापन र खोप लगाउने कार्यलाई उच्च प्राथमिकतामा राखेको पनि मन्त्री खड्काले बताए । सबै नेपालीलाई आगामी ६ महिनाभित्र खोप लगाइसक्ने लक्ष्य रहेको उनले बताए ।

परराष्ट्रमन्त्री खड्का नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रसंघको महासभामा सहभागी हुने क्रममा हाल अमेरिकाको न्यूयोर्कमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्