Logo
Logo

एकीकृत समाजवादीले टुङ्ग्यायो मन्त्रीको नाम, को-को हुँदैछन् मन्त्री ?



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले मन्त्री हुने नामावली टुंगो लगाएको छ । सरकारले दल विभाजन सजिलो हुने गरी ल्याएको राजनीतिक दलसम्बन्धीको अध्यादेश फिर्ता लिएपछि एकीकृत समाजवादी पार्टीले मन्त्री हुनेको नामावली टुंगो लगाएको हो ।

एकीकृत समाजवादी पार्टीबाट विरोध खतिवडा, रामकुमारी झाँक्री, मेटमणी चौधरी, प्रेम आलेमागर, जीवनराम श्रेष्ठ मन्त्री हुने टुंगो लागेको छ । यस्तै किसान श्रेष्ठ र भवानी खापुङ मध्ये एक जना मन्त्री हुनेछन् ।

एकीकृत समाजवादी पार्टीका नेता मेटमणी चौधरीले पार्टीबाट मन्त्री हुनेको नाम टुंगो लागेको पुष्टि गरेका छन् । एकीकृत समाजवादी पार्टीबाट सरकारको नेतृत्व खतिवडाले गर्नेछन् । मन्त्रीको टुंगो लगाउँदै एकीकृत समाजवादी पार्टीले नामावली प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइसकेको स्रोतको दावी छ ।

सत्तारुढ पाँच दलीय गठबन्धन भित्र काँग्रेसले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयसहित सात मन्त्रालय, एकीकृत समाजवादी चार मन्त्री र एक राज्य मन्त्री पाउँने सहमति यस अघि नै भइसकेको छ । यद्यपि, एकीकृत समाजवादी पार्टी एक मन्त्री अझै थप्नुपर्ने लबिङमा छ । पार्टीहरुबीच कुन मन्त्रालय कुन पार्टीले लिने भन्ने अझै टुंगो लाग्न सकेको छैन् ।

राजनीतिक दलसम्बन्धी अध्यक्ष सरकारले फिर्ता लिइसकेपछि अन्य राजनीतिक दल मन्त्रीको टुंगो लगाउन आन्तरिक गृहकार्यमा जुटेका छन् । मंगलबार मन्त्रिपरिषद् विस्तार नहुने स्रोतको दावी छ । सम्भवत बुधबार मन्त्रिपरिषद विस्तार हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्