Logo
Logo

देउवालाई ओलीको सन्देश, ‘एमाले फुटाउन अध्यादेश ल्याएको पुष्टि भयो’



काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी फुटाउनका लागि सरकारले गत भदौ २ मा राजनीतिक दल सम्बन्धीको अध्यादेश ल्याएको पुष्टि भएको जनाएका छन् ।

मंगलबार कानुन, संसदीय तथा न्याय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँगको भेटमा अध्यक्ष ओलीले उक्त अध्यादेश सरकारले असंवैधानिक, षड्यन्त्रपूर्ण र बद्नियतपूर्ण तरिकारले जारी गरेको पुष्टि भएको बताएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट प्रमुख प्रतिपक्षी दलका नेता ओलीलाई भेटन पुगेका मन्त्री कार्कीमार्फत उनले यही सन्देश सुनाइदिनु भनेका छन् ।

‘चलिरहेको संसद् मध्यरातमा हठात् बन्द गरेर बिहानै अध्यादेश ल्याउने काम प्रमुख प्रतिपक्षी दलका विरुद्धको षडयन्त्र थियो, जुन संविधान विपरीत थियो’ ओलीले भनेका छन् ।

संसद्को अधिवेशन चालु नरहेको अवस्थामा तत्काल देशलाई आवश्यक परेको अवस्थामा मात्र राष्ट्रपतिबाट अध्यादेश मार्फत कानुन सम्बन्धी काम हुन सक्ने ठहर ओलीको छ ।

तर हाल संसद् अधिवेशन चालु रहेकै बेला संसद्मा प्रस्तुत विधेयकको वास्ता नगरी, संसद्को मानमर्दन गर्दै जारी गरिएको अध्यादेश खारेजीको सूचना असंवैधानिक, गैरकानूनी र दुःषित मनसायबाट अभिप्रेरित, दलीय व्यवस्था र प्रमुख प्रतिपक्षी दल विरुद्ध लक्षित छ भन्ने कुरा प्रष्ट भएको ओलीको निष्कर्ष रहेको छ ।

‘अहिले संसद् अधिवेशन चालु छ । त्यो अध्यादेश प्रतिस्थापन गर्न संसदलाई सरकारले सूचित गरिसकेको अवस्था छ । कानून बनाउने, संशोधन गर्ने र खारेज गर्ने अधिकार र काम संसद्को हो । संसद् चालु रहेका बेला कानून निर्माण, परिवर्तन वा खारेजीजस्ता कुरा संसद् बाहेक अन्यत्रबाट हुन सक्दैन’ उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्