Logo
Logo

कांग्रेस बाजुरा अधिवेशन : ८ पालिकामा सर्वसम्मत, एकमा मतदान


नन्दा थापा


बाजुरा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन तथा सातौं जिल्ला अधिवेशनको पालिका अधिवेशन सकिएको छ । जिल्लाका नौ पालिकामध्ये आठ पालिकामा सर्वसम्मत पदाधिकारी चयन भएको नेपाली कांग्रेस जिल्ला निर्वाचन समिति बाजुराले जनाएको छ ।

चार नगरपालिका र पाँच गाउँपालिकामध्ये त्रिवेणी नगरपालिमा मतदान प्रक्रियाबाट पदाधिकारी चयन गरिएको निर्वाचन अधिकृत सन्तोष भण्डारीले जानकारी दिए । उनका अनुसार त्रिवेणी नगरपालिकामा भने मतदान प्रक्रियाबाट निर्वाचन गरिएको छ ।

शनिबारबाट सुरु भएको पालिका अधिवेशनमा आज सकिएको हो । केन्द्रको परिपत्र अनुसार जिल्ला निर्वाचन समिति बाजुराले तोकिएको समयमा अधिवेशन गरेको अधिकृत भण्डारीको भनाइ छ ।

जिल्लाको प्रदेश निर्वाचन क्षेत्र(क)का चार पालिका र प्रदेश निर्वाचन क्षेत्र(ख)का पाँच पालिकाको अधिवेशन सौहार्दपूर्ण वातावरणमा सकिएको समितिले जनाएको छ । प्रदेश निर्वाचन क्षेत्र(क) का हिमाली गाउँपालिकामा अम्मलाल कार्की, स्वामीकार्तिक खापर गाउँपालिकामा महेश कटेल सर्वसम्मत सभापतिमा चयन भएका छन् ।

यस्तै बुढीनन्दा नगरपालिकामा डबलबहादुर खड्का र जगन्नाथ गाउँपालिकामा सुन्दर विष्ट सहित पदाधिकारी सर्वसम्मत चयन गरिएको छ । प्रदेश निर्वाचन क्षेत्र (ख) का बुढीगंगा नगरपालिकामा जयराज उपाध्याय, खप्तड छेडेदह गाउँपालिकामा हर्कबहादुर रावत सभापतिमा निर्विरोध निर्वाचित भएको जिल्ला निर्वाचन अधिकृत भण्डारी बताए ।

यस्तै मार्तडी सदरमुकाम रहेको बडीमालिका नगरपालिकामा गोपालबहादुर कार्की, गौमुल गाउँपालिकामा राजबहादुर धामी सभापतिमा निर्विरोध निर्वाचित भएका छन् । त्रिवेणी नगरपालिकामा भने मतदान प्रक्रियाबाट सुरेन्द्रारज गिरी निर्वाचित भएका छन् ।

उनले निकटम प्रतिद्धन्दी गम्भीर बुढालाई पराजित गर्दै गिरी ८२ मत ल्याएर विजयी भएका हुन् । प्रतिद्धन्द्धी बुढाले ६९ मत ल्याएका थिए ।

प्रदेश निर्वाचन क्षेत्र अधिवेशन सुरू

नेपाली काँग्रेस प्रदेश निर्वाचन क्षेत्र (क) र (ख)को अधिवेशन आजबाट सुरु भएको छ । प्रदेश(क) का चार पालिका र प्रदेश(ख)का चार पालिकाका लागि छुट्टाछुट्टै नेतृत्व चयनका लागि अधिवेशन सुरु भएको नेपाली काँग्रेस बाजुराले जनाएको छ । संघीय संरचना अनुसार प्रदेश निर्वाचन क्षेत्र दुई भएकाले अलगअलग प्रदेशमा निर्वाचनका लागि अधिवेशन गर्न थालिएको छ ।

प्रदेश निर्वाचन क्षेत्र(क) मा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा निवर्तमान राष्ट्रिय सभाका सदस्य बद्री प्रसाद पाण्डे पूर्व भूमी सुधार सहायक मन्त्री जनकराज गिरी लगायत सहभागी भएका छन् ।

यस्तै प्रदेश निर्वाचन क्षेत्र(ख) मा पार्टी सभापति कविराज पण्डित, संविधान सभाका सदस्य देवराज जोशी, महा नेपाली, वरिष्ठ नेता रामसिंह रावल, महासमिति सदस्य पदमबहादुर शाही, जुना दानी, महाधिवेशन प्रतिनिधी चक्रबहादुर शाह, पूर्व पार्टी सभापति मनबहादुर रावल लगायत सहभागी भएका छन् ।

जिल्लाका दुई वटै प्रदेश निर्वाचन क्षेत्रमा नेतृत्व चयन सहमती, सहकार्य र एकताको अधिवेशन गर्ने गरी समन्वय भइरहेको नेपाली कांग्रेस बाजुराका सभापति कविराज पण्डितले बताए ।

उनका अनुसार जिल्लाका ६९ वडामध्ये ६८ वडामा सर्वसम्मत र एक वडामा मतदान प्रक्रियाबाट वडाको नेतृत्व चयन भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्