Logo
Logo

विभिन्न कार्यक्रम गरी मनाइयो रेबिज दिवस



काठमडौं । ‘रेबिजः तथ्य बुझौं, त्रसित नहोऔं’ भन्ने नारासाथ विश्व रेबिज दिवस मनाइएको छ ।

पशु सेवा विभाग, स्वास्थ्य सेवा विभाग र काठमाडौं महानगरपालिकाले पदयात्रा र विचारगोष्ठीसहित संयुक्त रुपमा दिवस मनाएका हुन् ।

सन् २०३० सम्ममा रेबिजका कारण नेपालमा हुने मानिसको मृत्युलाई शून्यमा झार्ने लक्ष्य पूरा गर्न विश्व स्वास्थ्य संगठन (डब्लूएचओ), विश्व पशु स्वास्थ्य संगठन (ओआईई) र खाद्य तथा कृषि संगठन (एफएओ)ले सघाइरहेका छन् । सो लक्ष्य प्राप्तिका लागि त्रिपक्षीय सम्झौता भएको थियो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आयोजनामा सदर चिडियाखानामा मङ्गलबार विहान पदयात्रा गरिएको थियो ।

महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेलले मानिसमा वन्यजन्तुबाट नै रेबिज सङ्क्रमण हुने भएकाले सचेतनाका लागि साङ्केतिक रुपमा चिडियाखानामा पदयात्रा गरिएको बताए ।

त्यस्तै, सरुवा रोग अस्पतालका निर्देशक डा बास्तोलाले कुकुरलगायत जनावरले टोकेर दैनिक १५० जनासम्म खोप लगाउन अस्पतालमा आउने गरेको बताए ।

उनले रेबिज सङ्क्रमण कुकुरबाट मानिसमा सर्ने भएकाले कुकुरको स्वास्थ्य ठीक राख्न नागरिक तहमै पहल थाल्नुपर्नेमा जोड दिए ।

यसैबीच, विश्व रेबिज दिवसकै सन्दर्भमा राष्ट्रिय सभागृहमा अन्र्तक्रिया कार्यक्रम आयोजना गरिएको छ । सो कार्यक्रममा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा।कृष्णप्रसाद पौडेलले रेबिज रोगको अवस्था, नियन्त्रणमा भइरहेका प्रयास र भावी लक्ष्य एवं योजनाबारे कार्यपत्र प्रस्तुत गरे ।

नेपालमा रेबिज रोग सार्ने मुख्य तथा जिम्मेवार जनावर कुकुर नै भएकाले कुकुरलाई रोगमुक्त बनाउनुपर्नेमा निर्देशक डा।पौडेलले जोड दिए ।

यस्तै, डा रोशिका श्रेष्ठले जङ्गली जनावरको सम्पर्कमा पुगेर कुकुर सङ्क्रमित हुने र कुकुरको टोकाईबाट मानिसमा रेबिज सर्ने भएकाले समुदायस्तरमै रेबिज बिरुद्ध अभियान चलाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्