कालिकामाईमा भएको अनियमितताबारे अख्तियारद्वारा थप अनुसन्धान « Drishti News – Nepalese News Portal
Logo

कालिकामाईमा भएको अनियमितताबारे अख्तियारद्वारा थप अनुसन्धान


दृष्टि संवाददाता


वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौँडाको टोलीले पर्साको कालिकामाई गाउँपालिकामा भएको अनियमितताबारे थप अनुसन्धान थालेको छ ।

गाउँपालिकामा भएका विभिन्न निमार्णका काममा अनियमितता भएको भन्दै पटक पटक उजुरी परेपछि आयोगले थप अनुसन्धान अघि बढाएको हो ।

गाउँपालिकाबाट थप कागजात माग गरी परेका उजुरीबारे थप अनुसन्धान थालिएको आयोगको हेटौँडा कार्यालयका उपसचिव एवं सूचना अधिकारी विष्णुप्रसाद सापकोटाले जानकारी दिए ।

‘विभिन्न समयमा अनियमितताबारे उजुरी परेकाले कार्यालयसँग कागजात माग गरी अनुसन्धान अघि बढाएका छौँ’, उनले भने । कालिकामाईले थालेका विभिन्न योजना, कर्मचारी भर्ना, धारा जडान कार्यक्रम, आइसोलेशन व्यवस्थान, नदी सफाइ, सडक ढलानलगायतका काममा अनियमितताबारे आयोगमा उजुरी परेको थियो ।

आयोगको टोलीले उजुरी परेका विभिन्न योजना तथा कार्यक्रमका कागजात गाउँपालिकाको कार्यालयबाट झिकाएको छ । गाउँपालिकाको विभिन्न वडामा सञ्चालन भएको योजनाको अख्तियार टोलीले स्थलगत अवलोकन समेत गरेको थियो ।

आयोगको टोलीले कर्मचारीसँग सोधपुछ गर्नुको साथै कार्यालयबाट भए गरेका कामको फाइल अध्ययन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्