Logo
Logo

काभ्रेमा भारतीय सहयोगमा ६ वटा विद्यालयको पुनर्निर्माण



काभ्रे । भारतीय सहयोगमा काभ्रेमा पछिल्लोपटक ६ वटा विद्यालय पुनर्निर्माण भएका छन् ।

भूकम्पले भत्किएपछि पुनर्निर्माण भएका विद्यालयहरूकाे भारतका विदेश मन्त्रालयका उत्तरी महाशाखाका संयुक्त सचिव श्री अनुराग श्रीवास्तव, संसद गोकुल प्रसाद बाँसकोटा, गङ्गा बहादुर तामाङ्ग तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य श्री ध्रुव प्रसाद शर्माले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

भारत सरकारको पुनर्निर्माण अनुदान सहयोग अन्तर्गत ६ वटा विद्यालयहरू कूल १९.७ करोड लागतमा निर्माण गरिएकाे हाे ।

उद्घाटन कार्यक्रममा भारतीय राजदूतावासका अधिकारी, केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा), जिल्ला आयोजना कार्यान्वयन इकाई (काभ्रेपलाञ्चोक), बनेपा नगरपालिका, पनौती नगरपालिकाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

नेपाल सरकारले निर्धारण गरेको भूकम्प प्रतिरोधी पुनर्निर्माण मापदण्ड अनुरुप श्री आजाद माध्यमिक विद्यालय (बनेपा), श्री भगवती माध्यमिक विद्यालय (पाँचखाल), श्री आजाद माध्यमिक विद्यालय (पाँचखाल), श्री दुग्धेश्वर माध्यमिक विद्यालय (पाँचखाल), श्री शारदा माध्यमिक विद्यालय (पनौती) र श्री खाँडादेवी माध्यमिक विद्यालय (चौरी देउराली)को भवनकाे निर्माण सम्पन्न भएकाे हाे ।

नेपालका आठ जिल्लामा भूकम्पले क्षति पर्याएका शैक्षिक संस्थाको पुनर्निर्माणका लागि भारत सरकारले ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाएको छ । यी विद्यालयहरु पनि यसै योजना अन्तर्गत निर्माण भएका हुन् ।

यसरी लाभान्वित हुने आठ जिल्लाहरु गोरखा, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, धादिङ्ग र काठमाडौं छन् । हालसम्म १४ वटा विद्यालयहरुको निर्माण भइसकेको छ भने ५६ वटा विद्यालयमा निर्माण कार्य भइरहेको छ ।

कार्यक्रममा श्रीवास्तवले यी ६ वटा विद्यालयहरुले नेपाली जनताको साहस र क्षमतालाई उत्कृष्ट तवरले दर्शाएको र नेपालको एक भरपर्दो विकास साझेदार हुन पाउँदा भारतलाई निकै गर्व लागेको बताए । पुनर्निर्माण कार्यमा नेपालले चालेका हरेक प्रयासमा भारत, एक घनिष्ठ मित्र र छिमेकीको रुपमा, नेपाली जनतासँग काँधमा काँध मिलाई उभिएको उनको भनाइ थियो ।

सोही दिन काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा खोपासी प्राथमिक उपचार केन्द्रको भूमि पूजन कार्यक्रम सम्पन्न भएको थियो । स्वास्थ्य क्षेत्रमा १३२ वटा स्वास्थ्य चौकी पुनर्निर्माणका लागि भारत सरकारले ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्घता जनाएको थियो ।

यो स्वास्थ्य चौकी पनि यसैको हिस्साको रुपमा रहेको छ । ७.५ करोडमा उक्त प्राथमिक उपचार केन्द्रको पुनर्निर्माण हुन लागेको भारतीय दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्