Logo
Logo

ज्येष्ठ नागरिकको भत्ता बढ्छ : रक्षामन्त्री पोखरेल


- दृष्टि न्युज/संवाददाता


भीमदत्तनगर । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले आगामी वर्षको नयाँ बजेटमा ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता बढाइने बताउनुभएको छ । आज कञ्चनपुरको वेदकोट नगरपालिकाको चौथो नगरसभा तथा नवनिर्मित कार्यालय भवन उद्घाटन समारोहमा उपप्रधान एवं रक्षामन्त्री पोख्ररेलले ज्येष्ठ नागरिकको भत्ता प्रतिव्यक्ति मासिक रु पाँच हजार पु¥याइने जानकारी दिनुभयो ।

“ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत स्वास्थ्य बीमा समेत गरिएको छ”, उहाँले भन्नुभयो, “सामाजिक सुरक्षाभत्ता सरकारले घटाउँदै छ भनेर गलत प्रचारबाजी गरिएको छ ।” उहाँले वर्तमान सरकार कानून र विशेष नीति निर्माणमा लागेको बताउँदै चालु वर्षमा समृद्धिको तस्बीर खडा गर्न सरकार लागि परेको धारणा राख्नुभयो ।

“हिजोका दिनमा सरकार मात्रै फेरिन्थ्यो”, मन्त्री पोखरेलले भन्नुभयो, “अहिले प्रणाली फेरिएको छ ।” उहाँले कृषि, जलस्रोत, उद्योग स्थापना र पर्यटनको विकास नै समृद्धिको मुख्य आधार भएको बताउनुभयो । “जनप्रतिनिधिले जनताको मन बुझेर काम गर्नुपर्छ”, उहाँले भन्नुभयो, “जनताको निगरानीमा रहेर काम गर्नुपर्ने बेला आएको छ ।” कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्र र दैजी–जोगबुढा सडक निर्माणका विषयमा आफूले पहल गर्ने उहाँले वचनसमेत दिनुभएको छ ।

भू–उपयोग नीति बदल्न आवश्यक रहेको बताउँदै उहाँले अधिकार स्थानीय तहसम्म आइसकेकाले हरेक विषयमा केन्द्रसित मुख ताक्नुभन्दा पनि अहिले पाएको अधिकार बमोजिम काम गर्न जोड दिनुभयो ।

नगरसभासँगै मन्त्री पोखरेलले नगरपालिकाको नवनिर्मित भवन उद्घाटन गर्नुभयो । सोही कार्यक्रममा कञ्चनपुरका स्व पत्रकार कर्ण बोहराको स्मृतिमा स्थापना गरिएको पत्रकारिता पुरस्कारबाट यहाँस्थित अपि टुडे दैनिकका सम्पादक सुरेश धामीलाई सम्मान गरिएको छ ।

त्यसैगरी केही दिनअघि सम्पन्न आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा कुस्तीतर्फ स्वर्ण पदक विजेता वेदकोटकै स्थानीय मनिषा सिंहलाई पनि नगदसहित सम्मान गरिएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्