Logo
Logo

बिग्रिएको मल १ वर्षदेखि सुक्खा बन्दरगाहमा अलपत्र



वीरगञ्ज । पानीले भिजेर बिग्रिएको मल १ वर्षभन्दा लामो समयदेखि वीरगञ्ज सुक्खा बन्दरगाहमा थन्किएको छ । साल्ट ट्रेडिङ कर्पोरेशन र कृषि सामग्री कम्पनीले मगाएको १ लाख २६ हजार बोरा ६ हजार ३ सय मेट्रिकटन डीएपी मल बन्दरगाहमा अलपत्र परेको हो ।

बिग्रिएको मल नष्ट गर्नुपर्ने भए पनि आपूर्तिकर्ता सम्पर्कमा नआएकाले नष्ट गर्न नसकिएको वीरगञ्ज सुक्खा बन्दरगाह भन्सारका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले बताए । ‘बिग्रिएको मल हामीले जफत गरेर राखेका छौं । जाँचपास गर्न नमिलेपछि त्यस्तो मल नष्ट गर्नुपर्छ,’ प्रमुख खत्रीले आर्थिक अभियानसित भने ।

यस्तो मल अहिले बन्दरगाहमा रेलवे ट्र्याकको खाली जमीनमा मिल्काइएको छ । गोदाममा राख्दा ठाउँ ओगट्ने भएकाले रेलवेको दुईओटा ट्र्याकको बीचमा पर्ने खाली ठाउँ र छेउको जमीनमा राखिएको हो ।

मल कसरी नष्ट गर्ने भन्ने अन्योल देखिएको छ । बन्दरगाह सञ्चालक प्रिस्टाइन भ्याली ड्राइपोर्ट प्रालिले बिग्रिएको मल बन्दरगाहबाट हटाउन दबाब दिइरहेको छ । आपूर्तिकर्ता सम्पर्कमा नआएपछि भन्सार प्रशासन अन्योलमा छ ।

बिग्रिएको मल नष्ट गर्ने जिम्मेवारी आपूर्तिकर्ता कम्पनीको भए पनि सम्पर्कमा नआएको भन्सार प्रमुख खत्रीले बताए । ‘आपूर्तिकर्ता सम्पर्कमा छैन । मललाई बन्दरगाह हातामै थुपारेर राखिएको छ,’ उनले भने ।

संयुक्त अरब इमिरेट्स दुबईको स्वीस सिंगापुर ओभरसिज इन्टरप्राइजेजले मल आपूर्तिको जिम्मा लिएको थियो । बिग्रिएकोमध्ये अधिकांश परिमाण साल्ट ट्रेडिङको हो । ५००० मेट्रिक टन साल्ट ट्रेडिडको र बाँकी कृषि सामग्री कम्पनीको थियो ।, यो समाचार आर्थिक अभियान दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्