Logo
Logo

एमालेमा संगठित गुट विघटन !



काठमाडौं । आन्तरिक विवाद समाधान गर्न १०बुँदे सहमति गरी विधान महाधिवेशनमा होमिन लागेको नेकपा एमालेभित्रको संगठित गुट विघटन भएको छ । नवौं महाधिवेशनमा नेतृत्व चयनका क्रममा फरकफरक प्यानलबाट निर्वाचनमा भाग लिएका नेताहरू अहिले छिन्नभिन्न भएपछि एमालेभित्रको संगठित गुट विघटन भएको हो ।

विधान मस्यौदामा महाधिवेशनमा नेतृत्वका लागि प्यानल बनाएर निर्वाचनमा भाग लिन नपाउने, व्यक्तिमात्रै उम्मेदवार बन्न पाउने व्यवस्था प्रस्ताव गरिएको छ । ‘अध्यक्षसहित सबै पदाधिकारी र सदस्य महाविधेशन वा अधिवेशनबाट निर्वाचित हुने र निर्वाचनमा प्यानल बनाउन बन्देज गर्ने’, विधान मस्यौदामा उल्लेख छ ।

विधानमै प्यानल बनाउन बन्देज लगाउन गरिएको प्रस्ताव विधान महाधिवेशनबाट अनुमोदन भएपछि एमालेमा अब संगठित रुपमा गुटबन्दी नहुने दाबी नेताहरूको छ ।

नवौं महाधिवेशनमा नेतृत्वका लागि केपी शर्मा ओली र माधव नेपालले छुट्टाछुट्टै प्यानल बनाएर निर्वाचन लडेका थिए। नवौैं महाधिवेशनमा नेतृत्वमा पुग्न प्यानल बनाएर निर्वाचनमा गएका कारण पार्टीभित्र समस्या उत्पन्न भएको र त्यसैका कारण विभाजनसम्म पुगेको भन्दै अहिले विधानमै प्यानल बनाउन बन्देज लगाउने प्रस्ताव गरिएको हो ।

नवौं महाधिवेशनपछि एमालेमा दुई लाइन संघर्ष सुरु भएको थियो । त्यसैकारण देशव्यापीरुपमा पार्टी दुई धारमा विभाजित भएको थियो । नवौं महाधिवेशनबाट ओली अध्यक्षमा निर्वाचित भएका थिए। त्यसपछि उनले महाधिवेशनमा आफूसँग प्रतिस्पर्धा गरेका नेपाल र उनको समूहलाई पेलेर पार्टीभित्र काम गर्ने वातावरण नदिएको आरोप लागेको थियो ।

त्यतिमात्र होइन, एमालेभित्र ओली समूह र नेपाल समूह स्पष्ट रुपमा देखियो । अन्ततः पार्टी विभाजन भयो । नवौं महाधिवेशनबाट निर्वाचित ५० भन्दा बढी केन्द्रीय सदस्यसहित नेपालले नेकपा एकीकृत समाजवादी गठन गरिसकेका छन् ।

यसबाट पाठ सिक्दै एमालेले महाधिवेशनमा नेतृत्वका लागि प्यानल बनाएर निर्वाचन लड्न बन्देज लगाउने व्यवस्थासहितको विधान मस्यौदा तयार पारेको छ । यो मस्यौदालाई विधान महाधिवेशनबाट पारित गर्ने तयारी छ ।, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्