Logo
Logo

गृहमन्त्रीकै गृहनगरमा २५ दिनसम्म पनि उठेन शव



बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका-५ की २७ वर्षीया सीता भण्डारी पौड्यालको मृत्युबारे प्रहरीले यथार्थ सार्वजनिक नगर्दा आन्दोलन चर्किएको छ ।

सिताको मृत्यु भएको तीन साता बित्दा पनि उनको मृत्यु कसरी भयो भन्नेबारे प्रहरीले यथार्थ सार्वजनिक गर्न नसक्दा आफन्त र परिवार आन्दोलित बनेका हुन् ।

प्रहरीले पोस्टमार्टम रिपोर्टका आधारमा सिताले झुण्डिएर आत्महत्या गरेको भनेपनि उनका माइती पक्ष यसलाई स्विकार्न तयार छैनन् । मृत्यु शङ्कास्पद भएकाले उनको हत्या गरिएको भन्दै माइती पक्षले प्रहरी विरुद्ध दैनिक जसो प्रदर्शन गरिरहेका छन् ।

उनीहरूले आज (बिहीबार) पनि आन्दोलन गरेका थिए । गृहमन्त्री बालकृष्ण खाडको गृहनगरमा हत्या भएको तीन साता बित्दा पनि हत्यारा पत्ता लगाउन नसकेको भन्दै उनीहरूले आज १ घण्टा धर्ना दिनुका साथै बुटवल-भैरहवा सडकखण्ड अवरुद्ध पारेका थिए ।

आज भएको आन्दोलनलाई प्रहरीले बल प्रयोग गरेपछि केहीबरे तनावपूर्ण बनेको थियो । प्रहरीले बल प्रयोग गरेपछि आन्दोलनकारीहरूले झनै चर्को नाराबाजी गरेका थिए ।

घटना भएको २५ दिनसम्म पनि मृतकको शव उठाइएको छैन । सरोकारवालाले उक्त घटनामा ध्यान नदिएको सिताको भन्दै सिताका आफन्त र परिवारले अझै शव उठाउन मानेका छैनन् । स्थानीय सरकारले पनि उक्त घटनामा चासो नदिएको उनीहरुको गुनासो छ ।

दुई वर्ष अघि तिलोत्तमा नगरपालिका–५ कफी कम्पनी का ४३ वर्षीय टीका पौड्यालसँग विवाह गरेकी २७ वर्षीया सिता गत भदौ २० गते आफ्नै घरको कोठामा मृत फेला परेकी थिइन् ।

छोरीको हत्या नै भएको भन्दै मृतकका बाबु हरिप्रसाद भण्डारीले इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिए । तर, प्रहरीले जाहेरी लिन नमानेपछि मृतकका माइती पक्ष आन्दोलनमा उत्रिएका हुन् ।

यता, जिल्ला प्रहरी कार्यालय रूपन्देहीले प्रमाणका आधारमा घटनाको अनुसन्धान भइरहेको बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्