Logo
Logo

अख्तियारकाे छापापछि मुख्यमन्त्रीको राजीनामा माग



जनकपुरधाम । प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेपछि विपक्षी दलले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरेका छन् ।

अख्तियारले प्रदेश सरकारको ‘बेटी बचाउ बेटी पढाउ’ अभियानअन्तर्गत खरिद गरिएको साइकलमा व्यापक अनियमितता भएको भन्दै अख्तियारले बुधबार मुख्यमन्त्रीको कार्यालयमै छापा मारेको थियो । आफ्नो कार्यालयमा छापा मारेकामा मुख्यमन्त्री राउतले आपत्ति जनाएका थिए । अख्तियारले मुख्यमन्त्रीको कार्यलयबाट विभिन्न फाइल नियन्त्रणमा लिएको थियो ।

प्रदेश २ का विपक्षी दलले मुख्यमन्त्रीकै कार्यालयमा अख्तियारले छापा मारेको भन्दै नैतिकताका आधारमा पनि मुख्यमन्त्री राउत पदमा बसिरहन नमिल्ने तर्क गरेका छन् । मुख्यमन्त्रीमाथि गम्भीर आरोपसहित अख्तियारले मुख्यमन्त्री कार्यालयमै आएर छापा मारेपछि नैतिक प्रश्न खडा भएको भन्दै प्रदेशको इज्जत जोगाउनका लागि पनि नैतिकताको आधारमा मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने विपक्षी दलहरूको भनाइ छ ।

प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी नेपालका प्रदेशसभा सदस्य परमेश्वर साहले अख्तियारको कदमलाई स्वागत गरेका छन् । उनले पटक पटक ‘बेटी बचाउ बेटी पढाउ’ अभियान अन्र्तगत साइकल खरिदमा अनियमितताबारे आवाज उठाउँदा समेत सुनुवाइ नभएको अवस्थामा अख्तियारले छापा मारेर राम्रो काम गरेका बताए । एउटा योजनामा मात्रै नभई स्वच्छता अभियानलगायत दर्जनौँ योजनामा भ्रष्टाचार भएको तथ्यलाई महालेखापरीक्षकको प्रतिवेदनले समेत प्रमाणित गरिसकेको अवस्थामा ती सबैमा अख्तियारले छानबिन गर्नुपर्ने उनको भनाइ छ ।

यस्तै, विपक्षी नेकपा एमालेका संसदीय दलका नेता सत्यनारायण मण्डलले प्रदेश सरकार भ्रष्टाचारमा लिप्त रहेकोले छानबिन हुनुपर्ने माग गरेका छन् । उनले सरकारले भ्रष्टाचार गरेको भनेर पटकपटक भन्दै आएको बताउँदै भने, ‘अख्तियारले साइकल खरिद प्रक्रियामा अनियमितताको ठहर गर्दै छापा मारेको छ, भ्रष्टाचारविरुद्धको यो स्वागतयोग्य कदम हो ।’ यद्यपि उनको दल जसपा नेपालले भने यसबारे केही प्रतिक्रिया दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्