Logo
Logo

एमालेमा उपमहासचिव खारेज, सचिवको संख्या बढ्यो

१ अध्यक्ष, ५ उपाध्यक्ष, १ महासचिव, ६ सचिव, उपमहासचिव पद खारेज, केन्द्रीय कमिटी २२५ सदस्यीय



काठमाडौं । नेकपा (एमाले) १३ पदाधिकारी सहित २२५ सदस्यीय केन्द्रीय कमिटी रहने प्रस्ताव गरिएको छ ।

आजदेखी ललितपुरको गोदवारीमा सुरु भएको एमालेको प्रथम विधान महाधिवेशनमा उपमहासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्तावमा १३ पदाधिकारी सहित २२५ सदस्यीय केन्द्रीय कमिटी हुने उल्लेख गरेका छन् ।

विधान महाधिवेशनमा सहभागिलाई वितरण गरिएको विधान संशोधन प्रस्तावमा १ अध्यक्ष, ५ उपाध्यक्ष, १ महासचिव, ६ सचिव सहित केन्द्रीय कमिटी २२५ सदस्यीय हुने उल्लेख गरिएको छ । पार्टी प्रदेश कमिटीका अध्यक्षहरु केन्द्रीय कमिटीको पदेन सदस्य हुने व्यवस्था प्रस्ताव गरिएको छ ।

यस अघि एमालेमा १ अध्यक्ष, ५ उपाध्यक्ष, १ महासचिव, २ उपमहासचिव, र ५ सचिवको व्यवस्था थियो । एमालेले उपमहासचिवको पद खारेज गर्ने प्रस्ताव गरेको छ । तर अहिले एमालेमा दुई उपमहासचिव रहने व्यवस्था रहेको छ । हालै सम्पन्न एमाले स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठकमा विधान संशोधन प्रस्ताव बारे छलफल गर्दा सातै प्रदेशबाट एक-एक जना उपाध्यक्ष सहित ७ उपाध्यक्षको व्यवस्था गर्न सुझाव आएको थियो ।

यसअघि एमालेमा ५ जना उपाध्यक्ष नै रहेका थिए । विद्यादेवी भण्डारी राष्ट्रपतिमा निर्वाचित भएपछि एमालेको एक उपाध्यक्ष पद रिक्त रहेको थियो । केन्द्रीय कमिटी र स्थायी कमिटीमा छलफल हुँदा ३ जना उपाध्यक्ष र ७ जना सचिव राख्ने प्रस्ताव आएको थियो । तर पछि समूहगत छलफलमा सचिव र उपाध्यक्षको संख्या समान अर्थात ७/७ राख्नुपर्ने प्रस्ताव गरिएको थियो ।

यसैगरी १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव रहने गरी १२ सदस्यीय केन्द्रीय अनुशासन आयोग र लेखापरीक्षण आयोगका पदाधिकारी र सदस्य निर्वाचित गर्ने पनि विधान संशोधन प्रस्तावमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्