Logo
Logo

प्रचण्डले आफ्नो निवासलाई गुटको ‘हेटक्वार्टर’ बनाए : ओली



काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले तत्कालिन नेकपाको कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि पुष्पकमल दाहाल प्रचण्डले आफ्नो निवासलाई गुटको ‘हेडक्वाटर’ बनाएको आरोप लगाएका छन् ।

ललितपुरको गोदावरीमा आजदेखि सुरु भएको एमालेको प्रथम विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् ।

‘….२०७६ मंसिरमा कार्यकारी अधिकार सहितको जिम्मेवारी पाएपछि पुष्पकमल दाहाल प्रचण्डले आफ्नो निवासलाई गुटको हेडक्वार्टर बनाए । केन्द्रीय सचिवालय, विचार, पार्टी सञ्चालन र राजनीतिको केन्द्र होइन, कुण्ठा, किचलो र अन्त्यहीन गुटबन्दीको थलो बन्यो । अन्यत्रै बसेर गुटगत निर्णय गर्ने र त्यसैलाई सदर गर्न दबाब दिन थालियो । पार्टीमा बहुकेन्द्र खडा भए’ अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदनमा उल्लेख गरेका छन् ।

पार्टी भित्रैबाट सरकारलाई कमजोर बनाउने, सरकारका कामको प्रशंसा नगर्ने, उद्योगीलाई हतोत्साहित गर्ने र विदेशसँगको सम्बन्ध कमजोर बनाउने खेल भएको ओलीको निष्कर्ष रहेको छ । त्यसपहिले पनि दाहालले कांग्रेससँग मिलेर सरकार बनाएको र एमालेलाई सत्ता बाहिर राखेको भन्दै राजनीतिक प्रतिवेदनमा ओलीले असन्तुष्टि व्यक्त गरेका छन् ।३ जेठ २०७५ मा एमाले र माओवादी केन्द्रबीच भएको एकीकरण नेपाली कम्युनिस्ट पार्टीका लागि ऐतिहासिक भएको उनले उल्लेख गरेका छन् ।

‘एमाले–माओवादी एकीकरण नेपाली कम्युनिस्ट आन्दोलनका लागि ऐतिहासिक परिघटना थियो’ ओलीले संसद्को प्रतिकूलताका कारण आफू नेतृत्वको सरकार कमजोर भएको पनि बताए ।

आफ्नो नेतृत्वमा २०७४ सालमा सरकार गठन भएसँगै पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले कमजोर बनाउने काम गरेको आरोप उनले लगाएका छन् । एकतालाई असन्तुलित बनाउन नेपाल लगायतका नेताहरू दाहालसँग लागेको पनि ओलीले राजनीतिक प्रतिवेदनमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्