Logo
Logo

पोल भाडा नतिर्ने इन्टरनेट, टेलिफोन र केबलका लाइन काट्दै प्राधिकरण



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको पोल, अप्टिकल फाइबरलगायत संरचना प्रयोग गरेर भाडा नतिर्ने इन्टरनेट, टेलिफोन र केबल टेलिभिजन सेवा प्रदायकहरूको लाइन काटिने भएको छ ।

बक्यौता भाडा बुझाउन र सम्झौता नवीकरणका लागि प्राधिकरणले शुक्रबारसम्म समय दिएको थियो । तर सेवा प्रदायकहरू सम्पर्कमै नआएपछि शनिबारबाट कारबाही थालिने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको ग्राहक तथा वितरण सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले शनिबारबाट इन्टेरनेट, टेलिफोन र केबल टेलिभिजनको लाइन काटिन लागिएको पुष्टि गरे । ‘प्राधिकरणले अब सांकेतिक रूपमा सबै सेवा प्रदायकको लाइन काट्छ ।

मुख्य लाइन काट्दा धेरै उपभोक्तालाई असर पर्ने हुँदा एक्सटेन्सन लाइनहरू काट्छौं,’ सिलवालले भने । मर्मत सम्भारमा जाने र नयाँ लाइन तान्नेहरूलाई पक्राउ गरी औजार, उपकरणहरू खोस्नेसम्मको कारबाही गरिने उनले बताए ।

‘देशभर जहाँ–जहाँ प्राधिकरणको संरचना प्रयोग भएको छ, सबैतिर कारबाही सुरु हुन्छ,’ उनले भने, ‘सबैका कम्पनीका सबै तार काट्दैनौं । सीमित परिमाणमा मात्रै तार काट्छौं । जसले गर्दा उपभोक्तालाई पनि ठूलो मर्का पर्दैन ।’, यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्