Logo
Logo

गौतमबुद्ध विमानस्थलमा राखिने साढे २ अर्बको बुद्धमूर्ति नेपाल ल्याइँदै



काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिने करिब साढे २ अर्ब रुपैयाँ बराबरको बुद्धमूर्ति कोलकाता ल्याएको छ ।

बुद्धमूर्ति म्यान्मारबाट हङकङ हुँदै कोलकाता बन्दरगाहमा ल्याइएको हो । म्यान्मारस्थित खानीसम्बन्धी कम्पनी मालविन ग्रुपले स्पेनको लुम्बिनी गार्डेन फाउन्डेसनलाई दिएको बुद्धमूर्ति हो ।

फाउन्डेसनलाई नेपाल सरकारलाई हस्तान्तरण गर्दै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राख्ने हाम्रो योजना रहेको फाउन्डेसनले जनाएको छ ।

१ हजार ८ सय केजी तौल भएको मूर्ति १.९ मिटर उचाइ र ६० सेन्टिमिटर चौडाइको रहेको छ । बहुमूल्य धातु ‘ह्वाइट जेड’ बाट बुद्धमूर्ति बनेकाले यो महङ्गो हुन गएको फाउण्डेशनको भनाई छ । कागाजी प्रक्रिया मिलाएर दुई साताभित्र बुद्धमूर्ति नेपाल ल्याउने तयारी छ ।

फाउन्डेसनले बुद्धमूर्ति अनावरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई निमन्त्रणा दिएको छ । बिहिबार फाउन्डेसनका पदाधिकारीहरुले राष्ट्रपति भण्डारीलाई शीतलनिवासमा भेटवार्ता गर्दै निमन्त्रणा दिएका हुन् । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिने बुद्धमूर्तिको कार्तिक १४ मा अनावरण गरिने कार्यक्रम रहेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी गार्डेन फाउन्डेसनका गतिविधिबारे चासो व्यक्त गरेकी छन् । स्पेनको एक्स्त्रेमादुरा प्रदेशको क्याथेरेस शहरमा बन्ने लुम्बिनी गार्डेन बनाउने योजनाबारे राष्ट्रपति भण्डारी चासो व्यक्त गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्