Logo
Logo

नेता सिंहको प्रश्न, ‘म सभापति बन्नबाट अयोग्य हो ?’



काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४औँ महाधिवेशनमा आफूलाई सभपाति जिताउन आग्रह गरेका छन् । १४औँ महाधिवेशनअन्तर्गत काठमाडौं महानगरको अधिवेशन उद्घाटन गर्दै उपत्यकाबासीले बाहिरबाट आएका नेताहरूलाई मात्र अघि बढाएको भन्दै यसपटक आफूलाई जिताउन आग्रह गरेका हुन् ।

नेता सिंहले उपत्यकाले आफ्नो नेतालाई सधैँ सानो देख्ने बताउँदै भने, ‘उपत्यकाको समस्या भनेको आफ्नो ठाउँमा जन्मेको हुर्केको नेतालाई नेता सानो देख्ने, बाहिरबाट आएको एउटा नेतालाई ठूलो देख्ने प्रवृत्ति भयो, अरुको झोला उपत्काकाबासीले कहिलेसम्म बोक्ने ?’

नेता सिंहले १४औँ महाधिवेशनबाट पार्टीलाई जीवन्त राख्न र कांग्रेसलाई सक्षम बनाउन आफू अगाडि बढेको बताए । उनले भने, ‘काठमाडौंमा जन्मिएको भन्दैमा, गणेशमान र मंगलादेवीको छोरा भन्दैमा म सभापति बन्नबाट अयोग्य हुने हो ? अरुको छोराहरूले त अवसर पाएका छन् त ।’

वर्तमान पार्टी सभापति शेरवहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरूले विश्राम लिनुपर्ने उनको भनाइ छ । उनले १३औँ महाधिवेशनपश्चात् उनीहरूले अवसर भएको बताउँदै भने, ‘तर क्रियाशील सदस्यता मिलाउन नसकेर समय सकिँदा पनि अधिवेशन गर्न सकेको छैन । अनि किन गुणगान गाउने ?’

आफूले २०७४ सालमा कांग्रेस तीन तहको निर्वाचनमा पराजित भएसँगै आफूले सभापति देउवालाई असफल नेता भएकाले राजीनामा दिन माग गरेको बताए । सभापति देउवाले आफ्नै गृह जिल्ला डडेलधुरामा जिल्ला सभापतिलाई वाइपास गरेर शक्ति प्रदर्शन गरेको सिंहको आरोप छ ।

उनले भने, ‘पार्टी सभापतिकै जिल्लाको अनसन पार्ट अफिसमा, जिल्ला सभापतिलाई शक्ति देखाएर वाइपास गरेको छ । देश लोकतान्त्रिक बनाउने, पार्टीलाई लोकतान्त्रिक भन्ने तर आफ्नै पार्टीको लोकतन्त्रलाई बेवास्ता गर्ने, यस्तो पनि हुन्छ ?’

प्रतिक्रिया दिनुहोस्