Logo
Logo
साहित्य

कविता- बिक्री नभएको आत्महत्या



सत्ताबाट निकालेको विभूतिले
भरिई सक्यो भारी
तर मन भरिएको छैन
त्यसैले उ थप्दै छ
तन अब बोक्न नसक्ने भो
यसरी थाकेको मान्छे
लडबडाउन पुगेको छ
कहीँ नपुग्ने दोबाटोमा –
आत्महत्या र क्रान्तिको

त्यहाँ त्यो बुढो मान्छे
अझै बेच्न खोजिरहेको छ
ठुलो छदा को टुँडिखेलमा
दन्त मन्जन बेच्नेले जस्तै गरी

त्यो टुँडिखेलमा अहिले
खरीको बोट छैन
जसको चौतारीमा उभिएर
शासकले शक्तिको छिनोफाना गर्थे
हुस्सु लागेको वेला
कहिले नटुङ्गिने जस्तो त्यहाँ
घोडाको पदचाप सुन्न
लालायित कतारले
शक्ति सबारलाई होइन
घोडाको नालतिर हेरेर
आफ्नो फिराद सुनाउँथे

धेरै पछि त्यो खुला टुँडिखेलको एउटा छेउ
खुला पाठशाला बन्यो
माक्र्सको भौतिक द्वन्द्व पढ्ने
सुन्न आउनेको घेरा लाग्थ्यो
न त्यो पार्टी स्कुल थियो
न ती धेरै वामपन्थी थिए
फगत थियो चेतनाको बदलिँदो स्वरूप
घोडाको नाल हेरेर फिराद गर्नेहरूले
बन्दुकको नालबाट शक्ति आउने कुरा सुन्थे
त्यो पाठशाला छैन अब

त्यति वेला
अर्को छेउको घेरामा
दन्त मन्जन बेच्न
कराई रहेको एउटा विक्रेता
केही थपडी बजाउने मान्छे सँगै ल्याएर
मन्जनको चमत्कारिता देखाइरहेको हुन्थ्यो
उसको हरेक चमत्कारी कुरामा
ल्याएका मान्छेहरूले थपडी बजाउँथे
थपडी सुनेपछि धेरैले थपडी मार्थे
गडगडाहट आवाज गुन्जिन्थ्यो
अनि भटाभट मन्जन बिक्री हुन्थ्यो
त्यहाँ दन्त मन्जन बिक्री पनि बन्द भो

परिवर्तनका आवाज सुन्ने टुँडिखेलमा
झङ्कृत आवाजको तरङ्ग
सात समुद्र पार पुग्यो
त्यहाँकाले भन्ने थाले –
कार्ल माक्र्स हेर्न नेपाल जाऔँ

सायद त्यसैले होला
अवसान उत्प्रेरित परिवर्तनहरू
सगरमाथा भन्दा अग्ला पारिए
दिग्भ्रमित क्रान्तिका परिणतिहरू
सुरुङबाट बाहिर निस्किए
संवेदनशील हरियाली फाँटहरूमा
चरेर मोटाएका साढेहरू
हलचल नगरी उग्राइरहेका छन्
प्रत्येक उग्राइमा चपाइरहेका छन्
मेरा भोलिका सपनाहरू

अहिले त्यो सिङ्गो टुँडिखेल नै छैन
सात टुक्रा भई सक्यो
बजारै बजार, हजार बजार
बस अड्डाको सटर पिच्छेको बजार
पेय देखि देह सम्म
गेह देखि मेह सम्म
हारेको मुखियाले खोजेको चमत्कारको आशा
साढेको फल खस्ने जस्तै हो
तर आगो उ ओकलिरहेको छ उ
आफ्ना चट्टा बट्टालाई उत्प्रेरित गर्न

परबाट हेरिरहेका मध्येबाट
एउटाले भने – क्या स्थूल नौटङ्की !
अर्कोले थपे – होइन, ओजस्वी कलाकारिता
हिजो हुस्सु लाग्ने टुँडिखेलमा दन्त मन्जन किन्नेहरू
आज निश्चित रूपमा हुस्सु छैनन्
अब बुझ्ने भइसके
केही चाहिँदैन भन्ने बोली
चनाखा आँखाहरूले खोजेको वैभव
कलाकारिताले ढाकेको असमञ्जस अनुहार
कति देवत्वकरण बिटुलो चेहराहरूको ?

बोल्न जान्दैमा बिक्री हुँदैन अहिले
आत्महत्या गर्न पनि आजाद हुनु पर्दछ
पराधीन तागतले पुग्दैन
क्रान्तिको हावा उडाउनु
झुसिलो डकार निकाल्नु हो
गए ती दिनहरू
हात हातै सपना बेचेका दिनहरू
दन्त मन्जन बेच्नेका दिनहरू सरह
जब जे बोले पनि बिक्थ्यो

प्रतिक्रिया दिनुहोस्