Logo
Logo

उद्योगीद्धारा व्यवसायिक वातावरण बनाइदिन सरकारसँग आग्रह



बुटवल । राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान दिँदै आएको निजी क्षेत्रका उद्योगी व्यवसायीले कोरोना महामारीका कारण उद्योग ब्यवसाय धराशायी भएको भन्दै औद्योगिक तथा व्यवसायिक वातावरण बनाइदिन सरकारसँग आग्रह गरेका छन् ।

बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको २८औँ सल्लाहकार सभामा बोल्ने उद्योगी व्यवसायीले कोरोना महामारी, पूर्वाधार निर्माणमा भएको सुस्तता, व्यवसायमैत्री वातावरणको अभाव लगायतका कारण निजी क्षेत्रका उद्योग व्यवसाय बन्द गर्नुपर्ने स्थितिमा पुगेको भन्दै सरकारलाई निजीक्षेत्र मैत्री नीति तथा कार्यक्रम ल्याउन आग्रह गरेका हुन् ।

उनीहरुले मुलुकमा व्यबसायिक वातावरण बिकास हुन नसकिरहेको अवस्थामा कोरोना महामारीले आफूहरुको लागि थप जोखिममा परेको बताए । कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले मुलुकको अर्थतन्त्रको विकासमा निजी क्षत्रको भूमिका महत्वपूर्ण रहेको बताउँदै आयात प्रतिस्थापनको लागि प्रतिस्पर्धी वस्तुको उत्पादनमा जोड दिए । उनले सरकारले लिएको सिमा खुला गर्ने नीतिले अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने र विस्तारै अर्थतन्त्र पूर्ण स्वचालित हुने विश्वाससमेत व्यक्त गरे ।

प्रजिअ तिवारीले मोतिपूर औद्योगिक करिडर क्षेत्रको जग्गा अतिक्रमण हुन नदिने प्रतिवद्धता व्यक्त गरे । उनले कारोना महामारी नियन्त्रण तथा व्यवस्थापनमा बुटवल उद्योग वाणिज्य संघले महत्वपूर्ण भूमिका खेलेको बताए ।

कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले विषयगत उद्योगी व्यवसायीका समस्या पहिचान गर्न सहज होस् भनेर बस्तुगत समिति गठन गरिएको बताए । गठित समितिले दिएका सुझाव सल्लाहअनुसार समस्या समाधानको लागि संघले पहल पैरवी तथा व्यवसायिक विकासका कार्यक्रम सञ्चालन गर्ने उनको भनाइ छ ।

उनले कोरोना महामारी, पूर्वाधार निर्माणमा भएको सुस्तता, व्यवसायिक वातावरणको अभाव लगायतका कारणले उद्योगी व्यवसायी मारमा परेको बताए । अध्यक्ष कसजुले सरकारले ४० माईक्रोन भन्दा कमको प्लाष्टिक उत्पादन, आयात निर्यात तथा विक्रिवितरणमा रोक लगाएका कारण सम्वन्धित उद्योगी समस्यामा परेको बताउँदै समस्या समाधानको लागि सरकारसँग आग्रह गरे ।

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष खिमबहादुर हमाल, सल्लाहकार तथा पूर्वअध्यक्ष नवराज श्रेष्ठ, छिमेकी उद्योग वाणिज्य संघ परासीका अध्यक्ष केशव भण्डारी, संघका उद्योग उपाध्यक्ष टंकप्रसाद गैरे, वाणिज्य उपाध्यक्ष नरिश्वर शर्मा पौडेल, सचिव मुक्ति अधिकारी, वित्तिय परामर्शदाता प्रदिपकुमार श्रेष्ठलगायतले उद्योग तथा व्यवसायिक क्षेत्रमा भएका समस्याहरु उठान गर्दै मुलुकको अर्थतन्त्र सुदृढ गर्न संघीय, प्रदेश र स्थानीय तीनै तहका सरकार गम्भीर हुनुपर्ने बताएका थिए ।

विना मागका आधारमा ट्रक लाइन जडान गर्ने र जडान गरेको ४ वर्षपछि मात्रै बिल दिने जस्ता कार्यले उद्योगी व्यबसायी मारमा परेको उनीहरुको भनाइ थियो । मुलुकको अर्थतन्त्र सुदृढ गर्नका लागि जग्गा अभाव भएको औद्योगिक क्षेत्र निर्माणलाई प्राथमिकता दिएर मोतिपुर औद्योगिक क्षेत्र निर्माणको काम यथाशक्य चाडो गर्न आग्रह गरेका छन् ।

संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठले खुला सिमानाकामा कडाई गर्नुपर्ने, कोरोना महामारीको जोखिम कायमै रहेकाले उद्योगी व्यवसायी तथा कामदार कर्मचारीलाई कोरोना विरुद्धको खोपको प्रवन्ध मिलाउनुपर्ने, बुटवल ज्योतीनगरको पहिरो सिंगो बुटवलकै जोखिमको रुपमा खडा भएकोले दीर्घकालिन समाधान खोजिनुपर्ने, सडक पूर्वाधार चाँडो सम्पन्न गर्नुपर्ने लगायतमा सरकार प्रतिवद्ध हुनुपर्ने बताए । महासचिव बिमलराज भट्टराईको सञ्चालनमा भएको सम्पन्न कार्यक्रममा संघका पूर्वअध्यक्ष, सल्लाहकार, बस्तुगत समितिका संयोजक लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्