Logo
Logo

नेपाल प्रहरीमा व्यापक हेरफेरको तयारी


- दृष्टि न्युज/संवाददाता

63
Shares

काठमाडौं । नेपाल प्रहरीमा व्यापक हेरफेरको तयारी सुरु भएको छ । जिल्लादेखि प्रदेशसम्मका इन्चार्जहरुको सरुवा हुन लागेको छ ।

प्रदेश नम्बर १, ३, गण्डकी प्रदेशका प्रहरी प्रमुखहरुको एक वर्ष अवधि पुगिसकेको छ । अन्य प्रदेशमा पनि हेरफेर हुने सम्भावना छ ।

भावी आइजिपीको दाबेदार मानिएका डिआइजीहरु कसैले इन्चार्ज पाएका छैनन् । त्यसकारण ठाकुर ज्ञवाली, तारिणी लम्साल तथा सूर्यप्रसाद उपाध्याय प्रदेश प्रमुखको प्रमुख दाबेदार छन् । तर, पछिल्लो ब्याचका डिआइजीहरु पनि प्रदेश इन्चार्ज हुनका लागि दौडधुपमा लागेका छन् । प्रद्युम्न कार्की, विनोद शर्मा घिमिरेदेखि, पूर्णचन्द्र जोशी, हरिभक्त प्रजापति, विकास श्रेष्ठलगायत प्रदेश प्रमुख हुने दौडमा छन् । जसकारण अहिले प्रदेशमा रहेका कतिपय डिआइजीहरुको अवधि नपुगी फिर्ता हुने सम्भावना छ । अन्तर्राष्ट्रिय विमानस्थलमा पनि डिआइजीको दरबन्दी रिक्त भएपछि एसएसपी सन्दीप भण्डारीले निमित्त प्रमुख भएर चलाइरहेका छन् ।

त्यस्तै प्रहरी प्रवक्ता पनि हेरफेरको तयारी भइरहेको छ । सचिवालयमा बसेर प्रहरी साझेदारी कार्यक्रमको सफल कार्यान्वायन गरेका एसएसपी उत्तम सुवेदीलाई कुनै महत्वपूर्ण कार्यालयको इन्चार्ज दिएर उमेशराज जोशीलाई प्रवक्ताको जिम्मेवारी दिन लागिएको छ । जोशी महानिरीक्षकको सचिवालयमै कार्यरत छन् ।

सुवेदीले ट्राफिक महाशाखा वा महानगरीय अपराध महाशाखाको जिम्मेवारी पाउने सम्भावना छ । ट्राफिक महाशाखाका एसएसपी वसन्त पन्त तथा अपराध महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहको करिब एक वर्षको कार्यकाल पूरा गरेका छन् । त्यस्तै ललितपुर परिसरा एसएसी रवीन्द्र धानुक पनि सरुवा हुने सम्भावना छ । काठमाडौं परिसरका एसएसपी वसन्त लामाको ८ महिना अवधि पुगेको छ । तर, उनले अपेक्षाअनुसार काम गर्न नसकेको गृह मन्त्रालयको विश्लेषण भएकाले उनको पद पनि जोखिममा छ । गृहमन्त्रीले नै उनलाई काठमाडौं परिसर पठाएका हुन् ।

त्यस्तै जिल्लाहरुमा सरुवाका लागि पनि एसपीहरु शक्तिकेन्द्र धाइरहेका छन् । पर्सा, मोरङ, रुपन्देही, बाँके, बर्दिया, कास्कीजस्ता महत्वपूर्ण जिल्लाहरुमा नेतृत्व हेरफेरको समय भएको छ । कर्मचारी प्रशासन शाखामा बसेका एसपी चन्द्रकुबेर खापुङ पर्सा तथा महानिरीक्षकको सचिवालयमा कार्यरत दानबहादुर कार्की रुपन्देही जाने सम्भावना छ ।

त्यस्तै काभ्रे, भक्तपुर, सिन्धुपाल्चोक, इलाम, सिरहा, महोत्तरी, पाल्पालगायत जिल्लाका एसपीहरु पनि फेरिदै छन् । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको पहिलो एसपी सरुवा विवादमा परेको थियो । ओमबहादुर राना, लोकेन्द्र श्रेष्ठ, रामेश्वर यादवजस्ता विवादास्पद एसपीले महत्वपूर्ण जिम्मेवारी पाएपछि सरुवा विवादमा परेको थियो । अहिलेको सरुवामा कत्तिको निष्पक्षता अपनाउनेछन् धेरैको चासोको विषय छ । गृहमन्त्री निकट केही व्यक्तिहरु भने आकर्षक जिल्लामा पठाइदिने भन्दै एसपीहरुसँग पैसा उठाउन थालेको स्रोत बताउँछ । एसपी बढुवामा समेत निकै चलखेल भएकाले अहिले सरुवामा पनि चलखेल हुने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्