Logo
Logo

सडक कार्यालय नै व्यक्तिको नाममा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । बालुवाटारको ललिता निवासलगायत जग्गाको यतिबेला सर्वत्र चर्चा छ । यसरी भूमाफियाले हात पारेको सरकारी तथा सार्वजनिक जग्गाको सूची लामै छ ।

कतिसम्म भने प्रधानमन्त्रीको गृहजिल्लाको सरकारी कार्यालय रहकै जग्गासमेत भूमाफियाले आफ्नो नाममा ल्याएका छन् । झापामा सडक कार्यालयकै जग्गा व्यक्तिको हुने फैसला अदालतबाट भएको छ ।

बिर्तामोडस्थित सडक कार्यालयको साइट अफिसको कम्पाउण्ड व्यक्तिको नाममा हुने फैसला भएको छ । जबकि सडक बनाउने क्रममा सो जग्गा २०५४ सालमा सरकारले अधिग्रहण गरेको थियो । पछिल्लो वर्षमा जग्गाको मूल्य आकाशिँदै गएपछि केही स्थानीयलाई मुद्दा हाल्न लगाएर भूमाफियाले सो जग्गामा चलखेल गरेका हुन् । सोहीअनुसार सडक कार्यालयको करिब १७ कठ्ठा जग्गा व्यक्तिको नाममा हुने फैसला अदालतले गरेको छ ।

‘अब हाम्रै कार्यालयसमेत सुरक्षित हुन छाडे,’ सडक विभागका एक अधिकारी भन्छन्, ‘भूमाफियाहरु धेरै शक्तिशाली हँुदै गए ।’ सडक विभागले सो फैसलाउपर पुनरावेदन गर्ने तयारी गरेको छ ।

स्रोतका अनुसार डिभिजन सडक कार्यालय झापाका प्रमुख श्यामकुमार यादवले नै मुद्दा हाल्ने पक्षलाई अप्रत्यक्ष रुपमा सहयोग गरिरहेका छन् । सडकका कर्मचारी तथा सरकारी वकिलले अदालतमा पर्याप्त प्रमाण पेश नगरी भूमाफियालाई त्यसमा सहयोग गरेका थिए ।

पछिल्लो समय सरकारी तथा सार्वजनिक जोगाउन सरकारले सक्रियता बढाएको छ । धेरै जग्गाहरु अदालतको क्रममा राज्यले गुमाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्