Logo
Logo

नेपालमा अपराध, विदेशमा मस्ती


- दृष्टि न्युज/संवाददाता


काठाडमौं । ३८ सय केजी सुन तस्करी र त्यससँग जोडिएको सनम शाक्य हत्या घटनामा संलग्न केही भरियाहरु अहिले जेलमा छन् । तस्करीमा लगानी गर्ने केही व्यवसायीहरु भने उच्च अदालतबाट छुटिसकेका छन् । विमानस्थल नै कब्जामा लिएर बर्षौसम्म सुन तस्करी गर्ने गिरोहका मुख्य नाइकेहरु भने अझै पक्राउ परेका छैनन् । उनीहरु विदेशमा मस्ती गरिरहेका छन् । नेपालमा अनुसन्धान सुरु भएलगत्तै भागेका उनीहरु विदेशमै बसेर व्यापार गरिरहेका छन् ।

 

नेपालमा अपराध गरेर विदेश पुगेर मस्ती गर्नेहरुको संख्या बढ्दो छ । केहीलाई वर्षाैपछि भएपनि नेपाल प्रहरीले स्वदेश ल्याएर कारबाही गरेको छ । पछिल्लो समय इन्टरपोलसँग नेपाल प्रहरीको सहकार्य बढेको पनि छ । तर, कानूनी अड्चनका कारण समयमै नेपाल ल्याउन समस्या हुने गरेको छ ।

तस्करीका नाइकेहरु झापा गौरादह नगरपालिका–१८ का भोजराज भण्डारी, काठमाडौं महानगरपालिका–९ का चेतनाथ भण्डारी, सिरहा धनगढीमाई नगरपालिका–१२ का रोहित आचार्य, सोलुखुम्बु दूधकुण्ड गाउँपालिका–८ का टुकबहादुर मगरविरुद्ध अन्तराष्ट्रिय प्रहरी अपराध संगठन(इन्टरपोल)ले रेड नोटिस जारी गरेको छ । उनीहरु विभिन्न देशमा लुकेर बसेका छन् । त्यस्तै, धरान उपमहानगर–२ का कृष्ण बस्नेत, झापा शिवसतासी नगरपालिका–६ का कृष्णगोपाल अग्रवाल, झापा मेचीनगर नगरपालिका–१३ का मोहम्मद उस्ताम मियाँविरुद्ध ‘रेड नोटिस’ भएको हो ।

सो गिरोहका नाइके धरान उपमहानगरपालिका–३ का मोहनकुमार अग्रवाल पनि फरार नै छन् । उनको घरमा खानतालासी गरेर प्रहरीले गाडी समेत बरामद गरेको थियो । तर, पहिले नै प्रहरीबाट सूचना चुहिँदा उनी भाग्न सफल भएका थिए । उनी हाल भारतमा बस्दै आएको स्रोत बताउँछ । भारतमा उनीले व्यवसाय गर्न थालेको स्रोत बताउँछ । दुबईमा बसेर सुन नेपालमा पठाउने रमेश उप्रेती र हरिशरण खड्का दुबईमा पक्राउ परेका छन् । तर, उनीहरुलाई महिनौं हुँदा समेत नेपाल ल्याउन सकिएको छैन । सो प्रकरणमा संलग्न अन्य कतिपय व्यक्तिहरुसमेत दुबईमा व्यवसाय गरेर बसिरहेको स्रोत बताउँछ । फरार रहेका विरुद्ध इन्टरपोलले रेड कर्नर नोटिस जारी त गरेको छ, तर खोजी गर्न नेपाल प्रहरीले नै चासो दिएको छैन ।

पवन कार्कीको अमेरिकामा मस्ती

तत्कालिन क्यापिटल मर्चेन्ट फाइनान्सका सिईओ पवनकुमार कार्कीले सोही संस्थाबाट करिब तीन अर्ब अनियमितता गरे । उनले कमजोर धितोमा नक्कली कागजपत्रका आधारमा कर्जा प्रवाह गरेका थिए । फाइनान्समाथि छानबिन सुरु भएपछि उनी अमेरिका भागेका थिए । ठगी गरेको पैसा लिएर उनी अमेरिका गएको उनका आफन्तहरु बताउँछन् । उनका कतिपय आफन्तहरु जेल पुगे भने कार्की ठगीको पैसाले अमेरिकामा व्यवसाय गरेर बसेका छन् । प्रहरीले उनलाई नेपाल ल्याउन रेड नोटिस जारी गरेपनि उनी अमेरिकी नागरिक भइसकेकाले अमेरिकाले नेपाल पठाएको छैन । उनी अमेरिकाको टेक्सासमा ‘नमस्ते इन्डिया ग्रसरी स्टोर’ चलाएर बसिरहेका छन् । नेपाल प्रहरीले उनलाई पक्राउ गर्न धेरै पहल गरेपनि सफल हुन सकेको छैन ।

सुदर्शन गौतम मानवतस्करी

कलाकारको आवरणमा वर्षाैदेखि मानवतस्करी गर्दै आएका सुदर्शन गौतमविरुद्ध गत सातामात्र इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेको छ । प्रहरीमा उजुरी परेको दुई वर्ष भइसक्दा पनि उनी पक्राउ परेका छैनन् । क्यानाडा र अमेरिकामा उनी व्यापार गरिरहेका छन् ।

नेपालीहरुलाई अवैध बाटोबाट अमेरिका लैजाने भन्दै उनले करोडौं रकम उठाएर ठगी गरेका थिए । अमेरिका जाने क्रममा कतिपय बीच बाटोबाटै फर्किए भने भक्तपुरकी सुमित्रा कुँवरको पानीजहाजमै मृत्यु भयो । सुमित्रासँगै गएका अन्य दुई युवतीको उजुरीको आधारमा प्रहरीले अनुसन्धान गर्दा गौतमको संलग्नता खुलेको हो ।

उनले अमेरिका जान चाहनेहरुलाई कलाकार बनाएर फिल्म सुटिङका लागि भनेर हाइटीसम्म लैजाने गर्दथे । त्यसका लागि हाइटीमा एक कम्पनी नै दर्ता गरेका थिए । उनले हाइटी पुगेपछि समुन्द्रीमार्ग हुँदै अवैध रुपमा अमेरिका लैजाने धन्दा गर्दै आएका थिए । कतिपय त्यसरी अमेरिका पुग्न सफल हुन्थे भने कपिय महिनौंपछि स्वदेश फर्कन्थे । यसक्रममा उनीहरुको करिब ५० लाख रुपैयाँ खर्च गरेको खुलेको थियो ।

करेन्ट लागेर दुवै हात गुमाएका सुदर्शन सगरमाथा चढेपछि चर्चामा आएका थिए । नायिका रेखा थापासँग मिलेर उनले हिम्मतवाली नामक फिल्म समेत बनाए । त्यही बेला उनीविरुद्ध ठगीको उजुरी पर्न थालेपछि क्यानाडा भागेका थिए । नेपालीहरुलाई अमेरिका तस्करी गर्ने अन्तराष्ट्रिय गिरोह नै सञ्चालन गर्दै आएको महानगरीय अपराध महाशाखाका प्रहरी अधिकारीहरु बताउँछन् । नेपाल प्रहरीले करिब एक वर्ष लगाएर उनीविरुद्ध रेड नोटिस जारी गर्न सफल भएको छ । तर, उनलाई नेपाल ल्याउन भने कठिन नै हुने देखिन्छ । किनकी उनले पनि क्यानाडाको पिआर लिइसकेका छन् ।

२ करोड ठग्ने तिवारी जापानमा

जापानमा बस्दै आएका गोविन्द तिवारीले जापान लाने भनेर करिब २ करोड रुपैयाँ ठगी गरेका छन् । उनका कारण कतिपय सर्वसाधारणको बिच्चली भएको छ । उनीविरुद्ध प्रहरीमा उजुरी परेपछि मुद्दा दायर भएको छ । तर, उनलाई विदेशबाट पक्राउ गरेर ल्याउन सकिएको छैन ।

उनीविरुद्ध समेत रेड नोटिस जारी भएपनि उनी पक्राउ परेका छैनन् । जापान वा आसपासको देशमा उनी लुकेर बसेको आशंका गरिएको छ । रेड कर्नर नोटिस जारी हुनुअघि उनी जापानमा पक्राउ पनि परेका थिए । तर नेपाल ल्याउन भने सकिएन ।

त्यस्तै बैंककमा बसेर ठगी गर्दै आएका परशुराम गुरुङ केही दिनअघि त्यहाँ पक्राउ परेका छन् । क्यानाडालगायत विभिन्न देश लैजाने भन्दै पैसा उठाएर उनी बैंककमा मस्ती गर्दै आएका थिए । उनलाई नेपाल ल्याउन पहल भइरहेको प्रहरीले जनाएको छ ।

सुपुदर्गी ऐनको अभाव

यसरी नेपालमा अपराध गरेर विदेशमा लुक्नेहरुको संख्या ठूलो छ । केहीलाई वर्षाैपछि भएपनि नेपाल प्रहरीले स्वदेश ल्याएर कारबाही गरेको छ । पछिल्लो समय इन्टरपोलसँग नेपाल प्रहरीको सहकार्य बढेको पनि छ । तर, कानूनी अड्चनका कारण समयमै नेपाल ल्याउन समस्या हुने गरेको छ ।

नेपालको कुनै पनि देशसँग सुपुदर्गी सन्धि छैन । यस्तो सन्धी नभईकन एक अर्का देशका अपराधी अर्काे देशमा पठाउन पाइँदैन । नेपाल र भारतबीच त एक अर्काको देशमै गएर पक्राउ गरेर ल्याउने गरिन्छ । अन्य केही देशले डिपोर्ट गरेर पठाइदिन्छन् । नेपालले पनि कतिपय विदेशीलाई डिपोर्ट गरेर सम्बन्धित देशमा पठाउने गरेको छ ।

तर, सन्धि नहुँदा कतिपय व्यक्तिलाई ल्याउन निकै कठिन हुने गरेको प्रहरी अधिकारीहरु बताउँछन् । उदारणका लागि दुबईमै पक्राउ परेका सुन तस्करहर महिनौंसम्म पनि नेपाल ल्याउन सकिएको छैन । नेपालीहरु धेरै पुग्ने देशमा प्रहरी सहचारी राख्न नेपाल प्रहरीले प्रस्ताथ गरेपनि निजामती कर्मचारीको असहयोगका कारण सम्भव हुन सकेको छैन । जसकारण पनि नेपालमा अपराध गरेर विदेशमा लुक्न सहज भएको छ ।

प्रतिक्रिया दिनुहोस्