Logo
Logo

७० वर्षका सपना पूरा गर्ने अवसर


- दृष्टि न्युज/संवाददाता


पार्टी एकताको ११ महिनापछि गत साता नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सांगठनिक एकीकरणको महत्वपूर्ण गाँठो फुकाएको छ । नेपाल कम्युनिष्ट पार्टीको ७०औँ स्थापना दिवसको अवसर पारेर राजधानीमा आयोजित एक भव्य कार्यक्रममा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एकीकृत जिल्ला कमिटीको उद्घोष गरे । यो महत्वपूर्ण गाँठो फुकेसँगै सांगठनिक एकताका बाँकी काम सम्पन्न गर्न अध्यक्षद्वय तथा सचिवालयका सदस्यहरू सक्रिय भएर लागेका छन् । पार्टीको पोलिट्ब्युरो गठनको प्रयासले अन्तिम रूप लिँदैछ भने तीन महिनाभित्र जिल्ला कमिटीहरूका अधिवेशन सम्पन्न गर्ने गरी तयारीहरू सुरु भएका छन् । एक वर्षभित्रै महाधिवेशन सम्पन्न गर्ने अध्यक्षद्वयको उद्घोषले पार्टीमा नयाँ ऊर्जा ल्याएको छ । विगतमा दुई फरक पार्टी र फरक विचार बोकेर हिँडेका भए पनि जिल्ला समितिको चयनसँगै सिंगो पार्टी एकाकार भएको छ । कतिपय जिल्लामा त जिल्ला कमिटीको घोषणाअघि नै स्थानीय तहका कयौँ कमिटी बनिसकेका छन् । स्वतस्फूर्त रूपमा बनेका त्यस्ता कमिटीले पार्टीलाई थप ऊर्जा दिएको छ ।

जिल्ला जिल्लामा नयाँ ऊर्जा र उत्साहको सञ्चार भइरहँदा पार्टी नेतृत्वसमेत त्यसलाई समयमै महाधिवेशनमा रूपान्तरण गर्ने र एउटा सुदृढ पार्टी निर्माण गर्ने अभियानमा जुटेको छ । वास्तवमै ठूलो संकल्प पूरा गर्नेतर्फ पार्टी अगाडि बढेको छ । ७० वर्षअघि जस्ता सपना देखेर पुष्पलाल श्रेष्ठको नेतृत्वमा यो पार्टीको जन्म भएको थियो, त्यो सपना अझै पूरा भइसकेको छैन । तर, त्यो सपना ७० वर्षका दौरान देशका करोडौैंको साझा सपना बनेको छ । यो महान् अभियानमा लाखौँ कार्यकर्ता लामबद्ध भएका छन् । विगतका टुटफुट र बिग्रहलाई भुलेर मानवमुक्तिको ऐतिहासिक अभिभारा पूरा गर्न लामबद्ध भएकाहरूको ऊर्जाले फेरि एकपटक मुलुकलाई कम्युनिष्टमय, क्रान्तिमय बनाएको छ । तर, यतिमै रमाउने अवस्था भने छैन । पार्टी एकता घोषणाका दौरान तीन महिनाभित्र सम्पन्न गर्ने भनिएको काम सम्पन्न गर्न ११ महिना लागेको छ । ११ महिना बितिसक्दासमेत पार्टीको आधिकारिक दस्तावेज प्रकाशित हुन सकेको छैन । सचिवालयमा रहेका नेताहरूबीच असन्तुष्टि र असन्तोष सर्वसाधारणले देखिने र बुझिने गरी सार्वजनिक हुने गरेका छन् ।

अबको तीन महिनाभित्र जिल्ला कमिटीहरू गठन गर्ने र एक वर्षभित्र महाधिवेशन सम्पन्न गर्ने काममा विगतकैजस्तो ढिलासुस्ती भयो भने त्यसले पार्टीलाई अपूरणीय क्षति पु¥याउन सक्दछ । किनभने अबको एक डेढ वर्षमा मुलुक स्थानीय तहको निर्वाचनको तयारीमा हुनेछ । एकताबद्ध र सुदृढ पार्टीले मात्र हिजोको जस्तो ऐतिहासिक जित सम्भव हुने हो । पार्टी एकताका तुष बाँकी रहे वा एकतापछिका कार्यभार पूरा गर्न सकिएन भने त्यसले स्वभाविक रूपमा निर्वाचनको परिणामलाई असर पु¥याउनेछ । भोलि सामना हुनसक्ने त्यो क्षतिको आजै मूल्यांकन गरी पार्टीका शीर्ष नेताले एकताको कामलाई तोकिएकै समयमा सम्पन्न गरिसक्नुपर्दछ । युगमा विरलै प्राप्त हुने यस्तो अवसरलाई सदुपयोग गर्न पार्टी नेतृत्व तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीका अन्य शीर्ष नेताले पनि उत्तिकै सघाउनुपर्दछ । प्रधानमन्त्री ओली दोहोरो ऐतिहासिक जिम्मेवारी पूरा गर्न लम्किरहेका छन् । एकातिर सरकारसँग जोडिएका अपेक्षा पूरा गर्नुछ, अर्कोतिर पार्टीलाई श्रमजीवीहरूको वास्तविक प्रतिनिधिमूलक पार्टी बनाउनुछ । यही कार्यमा जुटिरहँदा पछिल्लो समय सबैको सहयोगमा जसरी जिल्ला कमिटी गठनको गाँठो फुक्यो, अब बाँकी काम सम्पन्न गर्न पनि त्यसैगरी सबैले हातेमालो गर्नुपर्दछ । पार्टीलाई विधि, पद्धति र प्रक्रियाबाट चलाउन, चुस्त र छरितो बनाउन, पार्टी संगठनहरूलाई क्रान्तिकारी शक्तिमा रुपान्तरण गर्न तथा कार्यकर्ताहरूलाई स्पातजस्तो धारिलो बनाउन सके मात्रै ७० वर्षअघि पुष्पलाललगायतले देखेको त्यो सपना पूरा हुन सक्दछ ।

प्रतिक्रिया दिनुहोस्