Logo
Logo

नेपाल प्रहरीको पहिलो एफपियु शान्ति मिसन आजदेखि बन्द


- दृष्टि न्युज/संवाददाता

252
Shares

काठमाडौं, १८ बैशाख ।
नेपाल प्रहरीको पहिलो फम्र्ड पुलिस युनिट (एफपियू) मिसन आजदेखि बन्द भएको छ । संयुक्त राष्ट्रसंघको आग्रहमा हाइटीमा स्थापना भएको मिसन बन्द भएको हो । हाइटीमा खटिएको टोली बुधबार स्वदेश फर्कने र त्यहाँस्थित बन्दोबस्तीका सामान फिर्ता ल्याउने प्रक्रिया अघि बढाइएको प्रहरीको युएन शाखाका प्रमुख एसएसपी विभूतिराज पाण्डेले बताए । हाइटीमा द्वन्द्व समाधानोन्मुख भएकाले राष्ट्रसंघले शान्तिसेनालाई कटौती गर्दै लगेको हो । सोहीअनुसार यसअघि नै ‘अनपोल मिसन’अन्तर्गत कोटा कटौती भइसकेको छ ।

क्यारेबियन देश हाइटीमा सन् २००४ देखि शान्ति स्थापनार्थ नेपाल प्रहरीको टोली खटिँदै आएको छ । एफपियू हाइटीमा हालसम्म तीन हजार ७० जना प्रहरीले सेवा गरेका छन् । हाइटी बन्द भएपछि सुडान मिसन मात्र हुने भएकाले राष्ट्रसंघीय शान्ति मिसनमा जाने अवसर प्रहरीका लागि कम हुने भएको छ । अब नेपाल प्रहरीको एफपियू टोली सुडानमा मात्र रहनेछ । शान्ति मिसन प्रहरीका लागि आकर्षक मानिए पनि पछिल्ला वर्ष प्रहरीको सहभागिता घट्दै गएको छ ।
नयाँ मिसन अन्योलमा
प्रहरीलाई नयाँ मिसनका लागि राष्ट्रसंघसँग पहल भइरहेको प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले बताए । राष्ट्रसंघले तीन वर्षअघि नै नेपाल प्रहरीलाई नयाँ एफपियू मिसन दिने प्रस्ताव गरेको थियो । त्यसका लागि बन्दोबस्तीका सामान खरिद गर्न भनिएकोमा प्रहरीले खरिद गर्न सकेन । बरू पुरानै गाडीलगायत सामानलाई नयाँजस्तो बनाएर देखाएपछि निरीक्षणका लागि आएका राष्ट्रसंघका अधिकारीले नेपाल प्रहरीका सट्टा अन्य देशको प्रहरीलाई लिएका थिए । सुडान भ्रष्टाचार प्रकरणपछि नेपाल प्रहरीले समयमा सामान किन्न सकेको छैन । सोही कारण शान्ति मिसनको अवसर पनि गुमाउँदै गएको छ ।

देशले नै राष्ट्रसंघमा लबिङ गर्न नसक्दा आफूहरूले मिसन नपाएको प्रहरी अधिकारीहरूको गुनासो छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सुडान र दक्षिण सुडानका बीचमा रहेको विवादास्पद क्षेत्र अबेईमा खटाउने संकेत राष्ट्रसंघका अधिकारीले दिएका छन् । तर, यसबारे अझै कुनै निर्णय भएको छैन । सशस्त्र प्रहरीको भने दक्षिण सुडानमा दुईवटा एफपियू मिसन छन् । सशस्त्रको लाइबेरियास्थित पहिलो एफपियू मिसन दुई वर्षअघि नै बन्द भएको थियो ।

प्रतिक्रिया दिनुहोस्