Logo
Logo

असमावेशी देउवा सरकार : ४८ प्रतिशत खस-आर्य तर मुस्लिम र अल्पसंख्यक शून्य



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ८८ दिनमा बल्ल मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । देउवाको नेतृत्वमा २९ असारमा सरकार गठन भएको थियो । ८८ दिनमा प्रधानमन्त्रीले मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन् । तर, देउवाले विस्तार गरेको मन्त्रिपरिषद समावेशी छैन् ।

खस-आर्यकै बहुल्यता

देउवा सरकारमा खस आर्य समुदायकै बाहुल्यता रहेको देखिन्छ । २५ सदस्यीय मन्त्रिपरिषद्मा खस आर्य समुदायबाट प्रधानमन्त्रीसहित १२ जना मन्त्री सहभागी छन् । प्रतिशतको आधारमा हेर्ने हो भने खस आर्य समुदायको ४४ प्रतिशत सहभागीता देखिन्छन् ।

खस आर्य समुदायबाट प्रधानमन्त्री देउवासहित मन्त्रीहरु बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, दिलेन्द्र प्रसाद बडु पम्फा भुसाल, विरोध खतिवडा, जनार्दन शर्मा, डा. मिनेन्द्र रिजाल, डा.नारायण खडका, देवेन्द्र पौडेल, उमा रेग्मी र गजेन्द्रबहादुर हमाल रहेका छन् ।

महिला २४ प्रतिशत मात्र

सत्तासाझेदार नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीमध्ये ५० प्रतिशत महिला छन् । तर, सबै मन्त्रीको संख्या गन्ने हो भने देउवा सरकारमा महिलाको सहभागीता २४ प्रतिशमा सीमित भयो ।

संवैधानिक व्यवस्थाअनुसार ३३ प्रतिशत महिला सहभागी अनिवार्य हुन्छ । २५ सदस्यीय मन्त्रिपरिषद्मा ६ जना मात्रै महिला छन् । महिलाबाट पम्पा भुसाल, रेणुकुमारी यादव, उमा रेग्मी, शशी श्रेष्ठ, रामकुमारी झाँक्री मन्त्री छन् । राज्यमन्त्रीमा महिलाबाट बोधमायाकुमारी यादव सहभागी छन् ।

चार मधेसी त्यासमा पनि यादव मात्रै

मधेसी समुदायबाट ४ जना मन्त्री बनेका छन् । प्रतिशतका आधारमा मधेसी समुदायको सहभागिता १६ प्रतिशत हुन्छ । २५ सदस्यीय मन्त्रिपरिषदमा मधेसी समुदायबाट रेनुकुमारी यादव, महेन्द्रराय यादव, रामसहाय यादव मन्त्री छन् भने राज्यमन्त्रीमा बोधमाया यादव रहेकी छन् । मधेसी समुदायबाट चारै जना यादव समुदायका छन् ।

आदिवासी समुदायका ८ मन्त्री

देउवा सरकारमा आदिवासी समुदायका ८ जना मन्त्री छन् । प्रतिशतका आधारमा आदिवासी समुदायको सहभागिता ३२ प्रतिशत रहेको छ ।

आदिवासी जनजाति समुदायबाट राजेन्द्रप्रसाद श्रेष्ठ, उमाकान्त चौधरी, प्रेमबहादुर आले, शशी श्रेष्ठ, रामकुमारी झाँक्री, कृष्णकुमार श्रेष्ठ मन्त्री भएका छन् । यस्तै आदिवासी समुदायबाटै उमेश श्रेष्ठ र भवानीप्रसाद खापुङ राज्यमन्त्री भएका छन् ।

एक जना मात्र दलित मन्त्री

देउवा सरकारमा दलित समुदायबाट १ जना मात्रै मन्त्री छन् । प्रतिशतका आधारमा दलित समुदायको सहभागिता ४ प्रतिशत हुन्छ । जनसंख्याको आधारमा यो अत्यन्तै न्यून हो । दलित समुदायबाट महेश्वरजंग गहतराज मन्त्री भएका छन् ।

मुस्लिम र अल्पसंख्यक विहीन मन्त्रिपरिषद्

देउवा सरकारमा ‘क्लस्टरवाइज’ हेर्दा केही समुदाय अटाएका छन् । तर, मुस्लिम र अल्पसंख्य समुदायबाट एक जना पनि मन्त्री भएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्