Logo
Logo
कला

‘सिंगल हो ? भनेर सोध्नेहरुलाई हो भन्छु’



भनिन्छ, ‘जहाँ इच्छा, त्यहाँ उपाय’ । मोडल प्रियंका चौधरीका लागि यी भनाइ चरितार्थ भएको छ । मोडलिङ र पढाइ फरक पाटा हुन् । रुचीकै कारण प्रियंकाले यी दुवैलाई सँगसँगै डोर्याउँदै आएकी छन् । करिब चार वर्षदेखि मोडलिङ क्षेत्रमा सक्रिय बाराकी प्रियंका हाल बिबिएममा अध्ययनरत छिन् । भविष्यमा सीईओ बन्ने उनको लक्ष्य छ । ‘मिस्टर एण्ड मिस थारु-२०१८’मा पार्टिसिपेन्ट भएपछि मोडलिङप्रति मोह बढेको बताउँने २० वर्षीया प्रियंका भन्छिन्, ‘इच्छा भएएपछि समय निकाल्न सकिने रहेछ ।’ भिडियो, बृत्तचित्र तथा शर्ट फिल्ममा अभिनय गर्दै आएकी प्रियंकालाई फिचर फिल्ममा मोह छैन । पाँच फिट पाँच इन्च उचाइकी प्रियंका भन्छिन्, ‘फिल्मको हिरोइन हुन आफू क्यापेबल हुनुपर्छ । त्यसका लागि तयारी गरेकी छैन ।’ मोडल प्रियंका चौधरीसँग एमपी सुब्बाको जम्काभेट :

मोडलिङ क्षेत्रमा कसरी लाग्नुभयो ?

ब्युटि पेजेन्टमार्फत मोडलिङमा आएकी हुँ । कक्षा १० मा पढ्दै गर्दा ‘मिस्टर एण्ड मिस थारु’ भएको थियो । त्यो बेला आफ्नो कल्चरको ब्युटि पेजेन्टमा सहभागी हुने सोच थियो । तर, उमेर पुगेन । ११ कक्षा पुगेपछि ‘मिस्टर एण्ड मिस थारु’मा पार्टिसिपेन्ट भएँ । प्रतियोगितामा फाइनलसम्म पनि पुगेर फोटोजेनिक टाइटल उपाधि पाएकी थिएँ । त्यसपछि मोडलिङ करिअर सुरु गरेकी हुँ ।

मोडलिङप्रति मोह कसरी जाग्यो ?

सानो छँदा मोडल बन्छु भन्ने सोच थिएन । टिभीमा आउने गीत र फिल्महरुचाहिँ खुबै हेर्थे । फिल्ममा नाच्ने हिरो हिरोइनहरु नाचेको खुब मन पर्दथ्यो । त्यो बेला यस्तो लाग्थ्यो कि उनीहरुले नै गाउँदै नाचेको होला । फिल्मका लागि गाउने अरु हुन्छन् भन्ने सोचेकी थिइन । जब ब्युटि पेजेन्टमा सहभागी भएँ, त्यसपछि प्रदीपकुमार चौधरी ‘पिके डन’ दाईले आफ्नो प्रोजेक्टमा अफर गर्नुभयो । उहाँसँग राम्रो चिनजान थियो । केही गर्ने रहर भइरहेका बेला अफर आएपछि कलाकारिता क्षेत्रमा काम गर्नु थालेकी हुँ । त्यसपछि विस्तारै मोह बढ्दै गयो ।

म्युजिक भिडियोमार्फत मोडलिङ सुरु गर्नुभएको हो ?

होइन, प्रदीपकुमार दाईले अफर गर्नु भएको प्रोजेक्ट स्वास्थ्य मन्त्रालयको थियो । त्यो प्रोजेक्ट हात्तीपाइले रोग निवारणसम्बन्धी चेतनामूलक बृत्तचित्र (शर्ट फिल्म) थियो । उक्त बृत्तचित्रमा मेरो अभिनय रुचाउनु पनि भयो । त्यसपछिमात्र म्युजिक भिडियो मोडलिङमा आएकी हुँ ।

म्युजिक भिडियोमा काम गर्ने अवसर कसरी मिल्यो ?

शर्ट फिल्म गरेकै बेला कलाकार देबेन्द्र बब्लूसँग भेट भएको थियो । उहाँले सुटिङमा जाँदा बाटोमै ‘कसरी’ बोलको गीत सुनाउनु भएको थियो । त्यो गीत पहिलोपटक सुनेर पनि मन परेको थियो । तराइमा सुटिङ सकेर आउने बेलामा उहाँले त्यही गीतका मोडलिङका लागि प्रस्ताव गर्नुभयो । त्यसपछि अरु भिडियोमा पनि काम गर्न थालेँ । ‘कसरी’ मेरो पहिलो म्युजिक भिडियो हो ।

हालसम्म कति म्युजिक भिडियोमा काम गर्नुभयो ?

खासै धेरै गरेकी छैन । आधा दर्जन पुग्यो होला । मोडलिङसँगै मेरो पढाइ पनि छ । पढाइले गर्दा कतिपय अफर छाड्नु परेको थियो । लकडाउन हुँदाचाहिँ काम गर्न भ्याएँ । लकडाउनमा अनलाइन पढाइ भएकाले कलाकारिता गर्नु समय मिल्यो । मैले सिरियलहरुमा पनि अभिनय गरेकी छु ।

अहिले मोडलिङ र पढाइलाई समय दिन भ्याउनुभएको छ ?
अहिले त भ्याइरहेकी छु । सुरुमा पढाइलाई बढी ध्यान दिनुपर्ने भएकाले कतिपय मोडलिङको अफर छाडेकी छु । तर, अहिले समयलाई मेनेज गर्दै आएकी छु ।

मोडलिङबाहेक अरु के गर्नुहुन्छ ?
मेरो पढाइ र मोडलिङमात्र हो । अरु केहीमा संलग्न छैन । अहिले मेरो ब्याचुलर अफ बिजनेश मेनेजमेन्ट (बिबिएम) पहिलो वर्ष हो ।

तपाइँको लक्ष्य के हो ?

सानो हुँदाचाहिँ एमडी बन्छु भनेर सोचेकी थिएँ । अहिले आएर थाहा भयो कि एमडीभन्दा सीईओ ठूलो रहेछ । त्यसैले सीईओ बन्ने लक्ष्य लिएकी छु ।

कलाकारिता क्षेत्रचाहिँ कस्तो लागिरहेको छ ?

म यात्रा गर्नु रुचाउँछु । म्युजिक भिडियोमा काम गर्दा विभिन्न स्थानको यात्रा गर्न पाएकी छु । नयाँ नयाँ व्यक्तिहरुसँग सात्क्षाकार गर्न पाएकी छु । त्यसैले मोडलिङ क्षेत्र पनि रमाइलो लागिरहेको छ ।

कलेजका साथीहरुले त मोडल हो भनेर झिस्काउँदैनन् ?

अहिले त झिस्काएको छैन । ११ कक्षामा पढ्दाचाहिँ साथीहरु उ मोडल आइ भन्थे । सबै सरहरुलाई पनि म मोडलिङ गर्छु भनेर थाहा थियो । उहाँहरुले अटोग्राफ लिनुपर्ला भनेर जिस्काउनु हुन्थ्यो ।

प्रेम प्रस्तावचाहिँ कतिको आउँछ ?

सिधैं त्यति आउँदैन । फेसबुक र इन्स्टाको म्यासेन्जरमा आइरहेको हुन्छ । तर, म रिप्लाई दिन्न । नचिनेको मान्छेको रिप्लाइ गर्दिन म । सिंगल हो भनेर सोध्नेहरुलाई ‘सिंगल नै हो’ भन्छु । अरु धेरै कुरा गर्दिनँ ।

फिल्म खेल्ने सोच बनाउनुभएको छैन ?
छैन । फिल्मका लागि आफू क्यापेबल हुनुपर्छ । तर, मैले फिल्मका लागि तयारी गरेकी छैन । यदि अफर आइहाल्यो भने सोच्नुपर्ला ।

प्रतिक्रिया दिनुहोस्