Logo
Logo

केपी ओली र प्रभु साहबीच दूरी बढ्दै



काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेता प्रभु साहबीच दूरी बढ्दै गएको छ । ८ बुँदे माग सहितको पत्र अध्यक्ष ओलीलाई बुझाएका साहले माग सम्बोधन नहुने भएपछि दुई नेता बीचको दूरी बढ्दै गएको हो । हालै सम्पन्न एमालेको प्रथम विधान महाधिवेशन साह समूहले बहिष्कार गरेको थियो ।

पछिल्लो समय केन्द्रीय कमिटीको बैठकमा समेत सहभागी हुन छाडेका साहले अध्यक्ष ओलीसँग गोप्य भेटघाट गरेका छन् । शुक्रबार बिहान भएको भेटमा महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल लगायतका नेताहरु सहभागी सो बैठकमा समेत कुनै सहमति जुट्न सकेको छैन् ।

‘पछिल्लो समय असन्तुष्ट रहनुभएका साहजीसँग भेटघाट तथा छलफल भएको छ । उहाँले अध्यक्ष कमरेड केपी शर्मा ओलीलाई बुझाउँनुभएको ८ बुँदे माग कार्यान्वयनको बारेमा लिखित प्रतिबद्धता खोज्नुभएको छ’ ओली निकट एक नेताले भने, ‘अध्यक्षजी त कार्यान्वयन गर्ने जवाफ दिनुभएको छ, तर उहाँले भनेजस्तै लिखित रुपमा सार्वजनिक गर्न सकिएको छैन् ।’

साहको माग पूरा गर्ने बिषयमा अध्यक्ष ओलीले पटकपटक छलफल गर्दै आएका छन् । तर ओली र साहबीच अझै सहमति जुट्न नसकेको एमाले स्रोतको दावी छ । माग सम्बोधन गर्ने बताउँदै आएका ओलीले लिखित रुपमै सहमति गर्न नचाहेपछि ओली र साहबीचको दुरी झनझन बढदै गइरहेको छ ।

आफ्ना माग सम्बोधन नहुने देखेपछि साहले आफू निकटका २५ भन्दा बढी एमाले प्रदेश २ कमिटीका सदस्यबाट सामुहिक राजीनामा गराइसकेका छन् । युवा, विधार्थीलगायतका संगठनबाट साह निकट नेताहरुले यसअघि नै राजीनामा गरिसकेका छन् ।

साहको माग के हो ?

एमालेभित्र २ जेठ २०७५ मा फर्किनुपर्ने माग उठ्दै गर्दा साहले ३ जेठ पछिको अवस्थाबाट अगाडी बढनुपर्ने माग गरेका छन् ।

‘सर्वोच्च अदालतले पार्टी एकता भंग गरी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) व्यूँताएपनि हामीले एमालेलाई नेकपाकै निरन्तरतामा बुझ्ने र एकताकै स्पिरीटमा कार्य सञ्चालन गर्ने’ साहले बुझाएको पत्रमा उल्लेख गरिएको छ ।

तत्कालीन नेकपाले अभ्यास गरेको जनताको जनवादलाई अगामी महाधिवेशनमा व्यापक छलफलमार्फत विकास गर्नुपर्ने माग उनको छ । यस्तै, उनले संविधान संशोधन मागसमेत अगाडि सारेका छन् ।

‘वर्तमान संविधानलाई हाम्रो ७ बर्षको अनुभवको आधारमा देखिएका त्रुटीहरु हटाउन, जनतालाई असली लोकतन्त्रको प्रत्याभूति दिलाउन, राष्ट्रियता, स्थायित्व र समृद्धिको चाहना पूरा गर्न समय सापेक्ष परिमार्जन गर्दै समाजवादको दिशामा अगाडी बढ्ने’ साहले बुझाएको पत्रको बँदा नं. ३ मा उल्लेख गरेका छन् ।

एमालेको वैधानिक कमिटी र पदाधिकारीलाई कायम गर्दा माओवादी केन्द्रको वैधानिक कमिटी र पदीय हैसियतअनुसार मिलान गर्नुपर्ने उनले माग गरेका छन् । माओवादी केन्द्रको पूर्वपदाधिकारीलाई एमाले पदाधिकारीमा, केन्द्रीय कार्यालय सदस्यलाई स्थायी कमिटीमा, सचिवालय सदस्यलाई पोलिटव्यूरो कमिटीमा, पोलिटव्यूरो कमिटीमा रहेकालाई केन्द्रीय कमिटीमा केन्द्रीय सदस्यलाई प्रदेश कमिटीमा र प्रदेश कमिटीमा रहेकालाई जिल्ला कमिटीमा समायोजन तथा पार्टीको पदीय वरियताक्रम कायम गर्दा नेकपमा अभ्यास गरेको मर्यादाक्रम र दुबै पार्टीको वैधानिक हैसियत अनुसारको मर्यादाक्रम समेतलाई ख्याल गरी नयाँ वरियताक्रम निर्धारण गर्न उनले माग गरेका छन् ।

यसैगरी पार्टी संगठन, जबस तथा अन्य निकायहरु निर्माण गर्दा वा खाली भएका पदमा पदपूर्ति गर्दा एकताको मर्मअनुरुप माओवादी पक्षका नेतालाई सम्मानजनक सहभागी गराउन साहले माग गरेका छन् ।

पार्टीको आगामी महाधिवेशन एकताकै अधिवेशनको रुपमा लिई पार्टी कमिटीहरुको निर्वाचन सहमतिको आधारमा गर्नुपर्ने र प्रदेश २ मा कमिटी निर्माण, पदाधिकारी चयन तथा कार्य विभाजनमा भएको विगतको सहमतिलाई कार्यान्वयन गर्नुका साथै आइटी आमीर्लाई पार्टीकै जनसंगठनको रुपमा स्थापित गर्नुपर्ने माग साहले गरेका छन् ।

अध्यक्ष ओलीसमक्ष उनले आठ बुँदे माग पेश गरेको दुई हप्ता बित्दासमेत उनले कुनै जवाफ पाएका छैनन् । केन्द्रीय सदस्यसमेत रहेका उनी पछिल्लो समय पार्टीको बैठकमा समेत सहभागी हुन छोडेका छन् । आइटी आर्मीको व्यानरमा आयोजना हुने बिभिन्न कार्यक्रममा उनी सहभागी हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्